
काठमाडौैं महानगरपालिकाले विज्ञापनदातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौं महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौं महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापनदातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो ।
तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापनदाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ । त्यस्तै, बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापनदाता वा घरजग्गाधनीबाट असुलउपर गरिने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।