१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार २१:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीद्वारा एकै दिन २१ बिओपी स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २१:४३:oo

सशस्त्र प्रहरी बलले आइतबार २१ वटा बिओपी स्थापना गरेको छ । हालकै जनशक्तिबाट व्यवस्थापन गरी सशस्त्र प्रहरीले बिओपी विस्तार गरेको हो । 

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काअनुसार आइतबार २१ बिओपी थपिएसँगै सीमामा सशस्त्रको बिओपी दुई सय ४९ पुगेको छ । क्रमशः थप बिओपी स्थापना गर्ने प्रक्रियाअघि बढेको सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए । 

सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले पहाडी जिल्लामा कार्यरत जनशक्ति खटाएर बिओपी विस्तार थालेको हो । 

आइतबार झापाको डाँगाबारी र आल्तामारी, सुनसरीको हर्वाेनी, मोरङको तारिगामा र मधुमल्ला, सप्तरीको काचन, बाराको सनफुलवामा बिओपी स्थापना भएको छ । 

त्यस्तै, बर्दियामा सात, दाङमा पाँच र बाँकेका दुई नाकामा बिओपी स्थापना भएको छ । बर्दियाको मानपुर, शक्तिपुर, खैरीचन्दपुर, जमुनी, सानो डाँफे, टेपरी, शंकपुर, दाङको भोरेसाल, बोक्यास्यारी, सुख्खा नाका, फोहारी र छेग्रिया तथा बाँकेको गुर्जनगौरी र बडवागाउँमा बिओपी स्थापना भएका छन् । 

दार्चुलाको तिंकर तथा सुनसेरामा पनि बिओपी स्थापनाको अन्तिम तयारी भइरहेको छ । 

सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको डेडिकेटेड फोर्सका रूपमा लैजाने योजनाअनुसार जनशक्ति सीमा क्षेत्रमा बढाइएको एसएसपी खड्काले बताए । 

मुख्य म्यान्डेटमा केन्द्रीत भएका छौँ : आइजिपी अर्याल 
सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा केन्द्रित गर्दै लागिएको बताए । दरबन्दी अभावका कारण बिओपी विस्तार रोकिँदै आएकोमा देशको आवश्यकताका आधारमा अन्य क्षेत्रमा खटिएका जनशक्ति कटौती गरेर सीमामा खटाउन थालिएको उनको भनाइ छ ।  

‘सीमा सुरक्षा हाम्रो मुख्य म्यान्डेट हो, अब जनशक्ति थपिएन भनेर बिओपी नथपी बस्ने अवस्था भएन,’ सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कार्यादेशको प्राथमिकताका आधारमा जनशक्ति व्यवस्थापन गरी सीमामा राख्दै जान्छौँ, सुविधा पाउँदाखेरी मात्र होइन, सुविधा नहुँदा पनि हामीले काम गर्नुपर्ने हुन्छ । टेन्ट टाँगेर पनि सीमा सुरक्षाको दायित्वमा अघि बढ्छौँ।’ 

सशस्त्र महानिरीक्षक अर्यालले संगठनको नेतृत्व सम्हालेको एक वर्षको अवधिमा सशस्त्र प्रहरीले पत्रकार सम्मेलन गरेको हो । कार्यक्रममा एक वर्षको अवधिमा भएका नीतिगत तथा संस्थागत सुधार र भावी योजना सार्वजनिक गरिएको थियो । 

कमान्डको लागि पूर्वानुमान सूची प्रकाशन गरी सरुवालाई अनुमानयोग्य बनाइएको, शान्ति मिसनको छनोटलाई पूर्ण पारदर्शी बनाइएको, अत्यावश्यक अवस्थामा बाहेक सादा पोसाकमा खटाउन बन्द गरिएको र यसले संगठनलाई सशक्त बनाएको सशस्त्र प्रहरीको दाबी छ । 

प्रतिआतंकवाद इकाइ गठन, सशस्त्र प्रहरी अस्पतालको विस्तार र क्षमतावृद्धि तथा कर्मचारीलाई टेलि–मेडिसिन सेवाको सुरुवातलाई आइजिपीको एक वर्षको उपलब्धिका रूपमा सार्वजनिक गरिएको छ । 

सीमा सुरक्षासम्बन्धी पिजिडी कक्षा, सीमा क्षेत्र विकास कार्यक्रम, सीमास्तम्भको मर्मत सम्भारलगायतको योजना अघि बढिरहेको सशस्त्र प्रवक्ता खड्काले जानकारी दिए ।

ad
ad