
समग्रमा संसद्को यो अधिवेशन कस्तो रह्यो ?
विधेयक प्रस्तुत हुने हिसाबले राम्रै रह्यो । छलफल र कुराकानी पनि राम्रै भयो । तर, सभामुखको भूमिका भने सन्तोषजनक रहेन । उहाँले एउटा दलविशेषको प्रतिनिधिका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुभयो । निष्पक्ष भूमिका निर्वाह गर्नबाट उहाँ चुक्नुभयो । अन्यथा, संसद्को यो अधिवेशन ठिकै रह्यो ।
संसद्को यस अधिवेशनले गरेका राम्रा काम के–के हुन् ?
महत्वपूर्ण विधेयकहरूलाई संसद्मा छलफल गरेर समितिमा पठाउने काम भयो । तिनमा ०४८ र ०५१ सालदेखि दलहरूको चासोमा नपरेर संसद्मा अड्किरहेका भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक संसद्मा छलफलपछि समितिमा पुगेका छन् । यसैलाई यस संसद्का राम्रा काम मान्न सकिन्छ ।
यो संसद्ले गर्नैपर्ने तर गर्न नसकेका महत्वपूर्ण काम के–के हुन् ?
नागरिकतासम्बन्धी विधेयक सुरुमै पेस गरेर हामीले यही अधिवेशनबाट टुंगोमा पुर्याउन सक्नुपर्ने थियो । त्यसमा सिंगो सदन र त्यसका सदस्यका रूपमा हामी सबै चुक्यौँ । संसदीय समितिहरू पनि सुरुमै बनिसक्नुपथ्र्यो । समितिका सभापतिहरू पनि चुनिइसक्नुपर्ने थियो । यसमा पनि हामी चुक्यौँ । सरकार निर्माण र विघटनको खेलले संसद्को महत्वपूर्ण समय नष्ट भयो । यतिखेरसम्ममा प्रिबजेट छलफल भइसक्नुपर्ने थियो । यसतर्फ सरकारले ध्यानै दिएन । हाम्रा तर्फबाट पनि दबाब पुगेन र सभामुखमा पनि समन्वयकारी भूमिकाको अभाव देखियो ।