१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o६:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालले ओमानको सामना गर्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३४:oo

एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमानले एउटै लक्ष्य राखेका छन् । दुवै टोली लगातार दोस्रो खेलमा जित निकाली शीर्ष स्थान बलियो बनाउने प्रयासमा रहनेछन् । त्रिविको घरेलु मैदानमा नेपाल दुई महिनायता अपराजित छ । यसै मैदानमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमानलाई दुई खेलमा हराएको थियो । 
विश्वकप लिग–२ को उपविजेता ओमानले पछिल्ला हारको बदला लिने प्रयास गर्नेछ । नेपाल पुनः एकपटक घरेलु मैदान र समर्थकको साथमा ओमानमाथि हावी हुने योजनामा हुनेछ । प्रिमियर कपको मंगलबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसियाले राखेको दुई सय ३५ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै पूरा गरेको थियो । ओमानले पहिलो खेलमा बुधबार नै कतारलाई ४० रनले हराएको थियो ।

नेपाली खेलाडी लगातार खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ब्याटिङ, बलिङ र फिल्डिङमा नेपाली खेलाडीले एकनासको प्रदर्शन गरेका छन् । नेपालका कप्तान रोहितकुमार पौडेलले सहभागी टोलीलाई कमजोर रूपमा नलिने बताएका छन् । ‘सहभागी सबै टोली प्रतिस्पर्धी हुन् । हामी कसैलाई पनि कमजोर मान्दैनौँ,’ रोहितले भनेका छन्, ‘हामी स्वाभाविक खेल खेल्दै अगाडि बढ्छौँ ।’ ओमानले कतारसँगको प्रतिस्पर्धामा ब्याटिङतर्फ संघर्ष गरेको थियो । 

हेड टु हेडमा ओमान बलियो
नेपालविरुद्ध हेड टु हेडमा ओमान बलियो छ । पछिल्लो पाँच भेटमा ओमान तीन खेल र नेपाल दुई खेलमा विजयी रह्यो । आइसिसी एकदिवसीय वरीयतामा नेपाल १४औँ स्थान र ओमान १५औँ स्थानमा छ । सन् २०२२ जुनमा नेपालले ओमानलाई सात विकेटले हराएको थियो । नेपाल पछिल्लो आठ खेलसम्म अपराजित छ । ओमानको अपराजित यात्रा एक खेल मात्रै हो । ओमानका आयान खानले कतारविरुद्ध सर्वाधिक अविजित ६४ रन जोडेका थिए । उनी नेपालविरुद्ध घातक हुन सक्छन् । जिसन मक्सुद, मोहम्मद नदिम, जतिन्दर सिंहजस्ता खेलाडी नेपालका लागि सहज हुनेछैनन् । 

बहराइन एक सय ३२ रनले विजयी 
प्रतियोगिताअन्तर्गत बिहीबार बहराइनले समूह बीमा सिंगापुरलाई एक सय ३२ रनले हरायो । जितपछि समूह बीमा बहराइनले दुई अंक जोडेको छ । सिंगापुरको यो लगातार दोस्रो हार हो । सिंगापुर पहिलो खेलमा हङकङसँग आठ विकेटले पराजित भएको थियो । त्रिवि मैदानमा दुई सय ८६ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४३.१ ओभरमा एक सय ५४ रनमै समेटिएको थियो ।

सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनले अर्धशतकीय इनिङ्स खेले । सातौँ नम्बरमा क्रिजमा आएका सुरेन्द्रनले ६६ बलमा चार चौका र एक छक्कासहित ५१ रन बनाएका थिए । यसैगरी, बस्करनले २३, थिलिपन २० र कप्तान अरित्र दत्तले ११ रन बनाए । सातौँ विकेटका लागि सुरेन्द्रन र बस्करनले ५९ रनको साझेदारी गरे । बहराइनका इमरान अनवरले सर्वाधिक ४ विकेट लिए । 

टस जितेर ब्याटिङ गरेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको थियो । बहराइनका फैज अहमद र शहबाज बदरले अर्धशतक बनाए । फैजले ५९ बलमा ९ चौका र एक छक्कासहित सर्वाधिक ७९ रन जोडे । शहबाजले ९८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७६ रनको योगदान गरे । सोहेल अमदले ४६, कप्तान हैदर बटले २९ र मोहम्मद युनिसले २३ रन बनाए । 

मलेसियाको पहिलो जित
मलेसियाले दोस्रो खेलमा पहिलो जित निकालेको छ । मलेसियाले साउदी अरेबियालाई आठ विकेटले हराएको हो । साउदी अरेबियाविरुद्ध मूलपानी मैदानमा मलेसियाले ब्याटिङ तथा बलिङमा राम्रो प्रदर्शन गर्‍यो । मलेसियाको जितमा मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतक बनाए । मलेसियाले दुई खेलबाट दुई अंक जोडेको छ । 

साउदी अरेबियाले दिएको एक सय ५४ रनको सहज लक्ष्य मलेसियाले २१.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाका अमिरले ४४ बलमा १२ चौकासहित सर्वाधिक ५६ रन बनाए । वीरन्दिपले ५३ बलमा ८ चौकाको मद्दतमा ५१ रन बनाए । सैयद अजिजले अविजित ३४ रनको योगदान गरेका थिए । पहिलो विकेटका लागि अमिर र वीरन्दीपले ८२ रनको साझेदारी गरे ।  टस हारेर ब्याटिङ गरेको साउदी अरेबियाले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५३ रन बनायो । साउदीका हसिब घफोरले सर्वाधिक ४० रन बनाए । अब्दुल वाहिदले ३६ र कप्तान हिसम शेखले २७ रन जोडे । 

ad
ad