
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन्।
राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन्।
उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनुसरह रहेको जिकिर गरे। प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको उनको भनाइ थियो।
उनल अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरू नयाँ दौरा सुरवाल सिलाउन लागेको बताए। अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जाने कुरा चित्रित गरेको उनले संकेत गरे।
महासचिव चन्दले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए। उनले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको तर्क गरे।
उनले भने, ‘प्रधानमन्त्रीले १६ वटा मन्त्रालय हेर्ने समय पनि थियो। एक, दुई दिन हो तर लामो समयसम्म भनेको त के हो? आज भोलि यो सरकार पनि कति महिना? कति दिन भन्ने चर्चा छ। घोषित नै ढंगले पनि दुई वर्ष भनिरहेका छन्। संकटकै कुराभन्दा पनि कति वेला के हुन्छ भन्नेजस्तो छ।’