१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिक छनोटबाट बाहिरियो नेपाल

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:२५:oo

सुधारिएको प्रदर्शन गरेको नेपाल भियतनामसँग २–० ले पराजित हुँदै ओलम्पिक छनोटको पहिलो चरणबाट बाहिरिएको छ  

नेपाली राष्ट्रिय महिला फुटबल टोली फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटबाट बाहिरिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा भियतनामसँग २–० ले पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिएको हो । समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भयो । भियतनाम समग्रमा नेपालमाथि ७–१ को फराकिलो गोलअन्तरका साथ जित निकाली दोस्रो चरणमा प्रवेश गरेको छ । भियतनामले दुई खेलबाट सर्वाधिक ६ अंक जोड्दै शीर्ष स्थानमाथि कब्जा जमायो । आयोजक नेपाल अंकविहीन रह्यो । यस समूहमा अफगानिस्तान र प्यालेस्टाइनले अन्तिम समयमा नाम फिर्ता लिएका थिए । त्यसपछि नेपाल र भियतनामबीच दुई खेल भएको हो । 

दुई मिनेटको अन्तरमा दुई गोल 
फिफा वरीयतामा ३३औँ स्थानमा रहेको भियतनामले नेपालमाथि दोस्रो खेलमा पनि सुरुदेखि नै दबाब राखेको थियो । नेपाली महिला खेलाडी मैदानमा सम्हालिन नपाउँदै भियतनामले सुरुको सात मिनेटभित्र दुई गोल गर्‍यो । भियतनामकी फाम हाइ येनले नेपालविरुद्ध दुई गोल गरेकी थिइन् । खेलको छैटौँ मिनेटमा हाइ येनले भियतनामलाई १–० को अग्रता दिलाइन् । थि मेको कर्नरमा नेपाली रक्षक र गोलरक्षकले बल क्लियर गर्न नसकेको अवस्थामा येनले सहजै गोल गरिन् । त्यसको एक मिनेटपछि नै येनले दोस्रो गोल थपिन् । थि थुईको क्रसमा तीन नेपाली रक्षक र गोलरक्षकलाई बिट गर्दै येनले उत्कृष्ट गोल गर्न सफल भइन् । पहिलो खेलमा उनले एक गोल गरेकी थिइन् । उनले नेपालविरुद्ध समग्रमा तीन गोल गरेकी छिन् । नेपालका प्रशिक्षक अनन्तराज थापाले दोस्रो हाफमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा दोस्रो रोजाइकी अञ्जना रानामगरलाई अवसर दिएका थिए ।  

फेरि फिनिसिङमा चुक्यो
नेपाली महिला खेलाडी फेरि एकपटक फिनिसिङमा चुकेका छन् । स्ट्राइकर सावित्रा भण्डारी, मिडफिल्डर दीपा शाही तथा विमला चौधरीले सहज अवसर चुकाए । खेलको ३९औँ मिनेटमा सावित्राले गोलरक्षक थि हांगसँगको वान भर्सेज वानमा गोल गर्न सकिनन् । विमला विकले उपलब्ध गराएको बललाई बक्सभित्रबाट सावित्राले प्रहार गरेको बललाई गोलरक्षक हांगले बचाइन् । ६७औँ मिनेटमा दीपाले सुन्दर अवसर गुमाइन् । भियतनामी रक्षकले क्लियर गर्न नसकेको बललाई दीपाले पोस्टको दिशा दिन सकिनन् । उनले प्रहार गरेको बल पहिलो बारमा लागेको थियो । यसअघि २९औँ मिनेटमा सावित्राले एकल प्रयासमा डिबक्समा विमला चौधरीलाई पास उपलब्ध गराएकी थिइन् । विमलाले डिबक्सभित्रबाट गोलको सुनौलो अवसर खेल फालिन् । 

बलियो राष्ट्रसँग खेल्न आवश्यक : अनन्तराज थापा, प्रशिक्षक, नेपाल
भियतनामसँग नेपालले सुरुमै दुई गोल खायो । विश्वकपमा छनोट भएको राष्ट्रविरुद्ध दुई गोलले पछि रहँदा डटेर खेल्न सहज हुँदैन । तर, हामीले अन्तिम समयसम्म हार नमानी खेल्यौँ । हामीले यसरी नै बलियो टिमसँग खेलिरहनुपर्छ । यस्तो प्रतिद्वन्द्वीसँग खेल्दा नेपालको स्तर बढ्छ । कम्तीमा वर्षमा १० मैत्रीपूर्ण खेल्नुपर्छ । त्यसपछि साफ च्याम्पियनसिप हाम्रा लागि 
सजिलो हुनेछ । 

दोस्रो खेलमा नेपाल बलियो देखियो : माइ डुक चुङ, प्रशिक्षक, भियतनाम 
नेपाल आउने वेलामै मैले भनेको थिएँ, नेपाल त्यति सजिलो प्रतिद्वन्द्वी होइन । नेपाली खेलाडी घरेलु मैदानमा बलिया छन् । पहिलो खेलको तुलनामा दोस्रो खेलमा हामीलाई जित निकाल्न गाह्रो बनायो । सुरुवातमै निस्केको दुई गोलकै भरमा हामीले नेपाललाई हरायौँ । जित निकाल्न निकै मिहिनेत परेको छ । नेपालका प्रत्येक खेलाडीले अन्तिम समयसम्म जितकै लागि प्रयास गरेका थिए । 

डिफेन्सबीच तालमेल मिलेन : एन्जिला सुब्बा, कप्तान, नेपाल
समग्रमा पहिलो तथा दोस्रो खेलमा भियतनामसँगको खेल त्यति राम्रो भएन । दोस्रो खेलमा राम्रो गर्ने प्रयास भएको थियो । तर, डिफेन्सका खेलाडीबीच राम्रो तालमेल हुन सकिरहेको छैन । भियतनामले दुई मिनेटको अन्तरमा हामीविरुद्ध दुई गोल गर्‍यो । यद्यपि, दोस्रो हाफको खेललाई राम्रो मान्न सकिन्छ । सुरुवातको दुई गोल रोकेको भए भियतनामलाई बराबरीमा रोक्न सकिन्थ्यो । 

ad
ad