१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भेरी करिडोरमा एकैपटक तीन पक्की पुल बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२१:oo

जाजरकोट–डोल्पा सडकखण्डमा एकैपटक तीनवटा पक्की पुल बन्ने भएका छन् । सडक विभागअन्तर्गतको पुल महाशाखाको ३६ करोड २४ लाख ८६ हजार सात सय लागतमा तीनवटा पक्की पुल बन्ने भएको हो ।

सडकखण्डअन्तर्गत जाजरकोटको नलगार्ड नगरपालिकामा पर्ने तल्नुबगर भेरी नदीमा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने छलगार्ड खोला र सोही नगरपालिकामा पर्ने खदाङ हरियापानी भेरी नदीमा पुल बन्न लागेको क्षेत्रीय पुल महाशाखा सुर्खेतका प्रमुख अभिमानदास मुल्मीले जानकारी दिए ।

टेन्डर भएर पनि वाइपी एमआर जेभीले निर्माणको जिम्मा पाइसकेकाले ६ महिनाभित्र निर्माणको काम सुरु हुने उनको भनाइ छ । पुल महाशाखा र निर्माण कम्पनीबीच ०७९ साल १० महिना २६ गते सम्झौतासमेत भइसकेकाले ४२ महिनाभित्र तीनवटै पुल निर्माणको काम सक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यता कार्ड कन्सल्टेन्ट आयर सर्भे बबरमहलका सिनियर सर्भेएर चिरञ्जीवी आचार्यका अनुसार पुल बन्ने तीन स्थानको डिटेल सर्भे, माटो परीक्षणलगायतका काम सम्पन्न भइसकेकाले ६ महिनाभित्र महाशाखालाई रिपोर्ट दिने बताए । उनका अनुसार तल्नुबगरमा एक सय मिटर लामो, खदाङमा ८० मिटर लामो र छलगार्डमा ४० मिटर लामो पक्की पुल बन्नेछन् ।

तत्कालका लागि नेपालगन्ज, सुर्खेतबाट आउने सवारीसाधन सीधा वारपार गराउन तल्नुबगरमा बेलिब्रिज बन्दै छ भने खदाङ हरियापानीमा बेलिब्रिज सञ्चालनमा आइसकेको छ । त्यसैगरी, छलगार्ड खोलामा पनि बेलिब्रिज पुल नहुँदा हिउँदमा खोला घटेको समयमा सवारीसाधन वारपार सहजै भए पनि वर्षातको समयमा खोला बढेर खोलावारि नै सवारीसाधन रोकिने गर्दछन् ।

यसबाहेक भेरी करिडोरअन्तर्गत पर्ने चौखा, गोतामकोट, करोपगार्ड, चुँगार्डलगायतका दर्जनभन्दा बढी ठाउँमा पक्की पुल बनाउन बाँकी रहेको छ भने केही स्थानमा बेलिब्रिजमार्फत सवारी आवागमन गराइएको छ ।

ad
ad