१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत १९ आइतबार ०७:५८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थ्री स्टारले जित्यो सिजनको पहिलो उपाधि

Read Time : > 1 मिनेट
२०७९ चैत १९ आइतबार ०७:५८:००

छैटौँ खप्तड गोल्डकपको फाइनलमा थ्री स्टारले साबिक विजेता मनाङलाई २–० ले हरायो

ए डिभिजन क्लब थ्री स्टारले यस सिजनको पहिलो उपाधिका रूपमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कैलालीको धनगढीस्थित क्षेत्रीय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा थ्री स्टारले साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हराउँदै उपाधि हात पारेको हो । हारसँगै मनाङ सिजनको दोस्रो उपाधि भित्र्याउन चुक्यो । अघिल्लो साता मनाङ मस्र्याङ्दीले बुटवलको तिलोत्तमा गोल्डकप जितेको थियो । थ्री स्टारलाई उपाधि दिलाउन विक्रम लामा र अनिल महर्जनले समान एक गोल गरे ।

मध्यान्तरपछि २ गोल
घरेलु फुटबलमा मनाङ र थ्री स्टार चिरपरिचित प्रतिद्वन्द्वी हुन् । एन्फाले आयोजना गर्ने तथा मोसफलमा हुने गोल्डकप फुटबल प्रतियोगितामा यी दुवै टोली एकआपसमा प्रतिस्पर्धामा उत्रँदा रोमाञ्चकताले भरिने गर्छ । धनगढीमा खप्तड गोल्डकपमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन् । खेलको ७३औँ मिनेटमा थ्री स्टारले १–० को अग्रता लियो । डिबक्सबाहिर अनिल महर्जनले उत्कृष्ट फ्रिकिक गोल गरेका हुन् । खेलको अन्तिम इन्जुरी समयमा कप्तान विक्रम लामाले हेडिङ गोल गर्दै थ्री स्टारको उपाधि पक्का पारे । फाइनलमा थ्री स्टारका अनिल महर्जन म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ जिते । 

विजेतालाई २१ लाख
उपाधिसँग थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पाएको छ । विधागततर्फको पुरस्कारमा समेत थ्री स्टारको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान विक्रम भए । उनले एक लाख रुपैयाँ पुरस्कार पाए । यस्तै, उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे । यस्तै, उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधिक गोलकर्ता मनाङका सायिजमल घोषित भए । विधागततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । सुदूरपश्चिम–११ का दिपेन्द्र मलासी उदीयमान खेलाडी चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । 

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले विजेतालाई पुरस्कृत गरे । उनले प्रदेश सरकारको नियमित कार्यक्रमका रूपमा यस प्रतियोगितालाई लगिने बताए ।