१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ९ बिहीबार ०९:३७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरले लिजमा लियो काठमाडौं प्लाजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ९ बिहीबार ०९:३७:००

नेपाल ट्रस्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकाले १० वर्षका लागि लिज (भाडा)मा लिएको छ । ट्रस्ट र महानगरपालिकाबीच यससम्बन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।

ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता भएको नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यले बताए । सम्झौता ९ चैतदेखि लागू हुनेछ । पाँच वर्षपछि भाडा १० प्रतिशत वृद्धि हुने सम्झौतापत्रमा उल्लेख छ ।

आफ्ना कार्यालय विभिन्न ठाउँमा हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै महानगरले एकीकृत सेवाका लागि प्लाजा भाडामा लिएको हो । महानगरले उक्त भवन सबलिजमा भने दिन पाउनेछैन । प्रशासनिक कार्यका लागि मात्र भवन लिजमा दिने निर्णय भएको सचिव वैद्यले बताए । दुई साताअघि बसेको ट्रस्टको सञ्चालक समितिको बैठकले यससम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो ।

काठमाडौं महानगरपालिकालाई उक्त भवन दिने गरी असार ०७७ सालको जेठमा नै सहमति भई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । यसविरुद्ध व्यवसायीहरूले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएपछि पक्रिया रोकिएको थियो । गत २६ माघमा सर्वाेच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने सम्झौता भएको हो ।

उक्त भवन लिजमा लिएको कम्पनी कन्सेप्ट डेभलपर्स र त्यसअघि भवन लिजमा लिने सुवासराज काफ्लेले महानगरपालिकालाई लिजमा दिने निर्णयविरुद्ध रिट दायर गरेका थिए । डेढ वर्षपछि रिटको छिनोफानो भएको हो ।

मुद्दामामिलाका कारण काठमाडौं प्लाजा झन्डै तीन वर्षदेखि रिक्त छ । जसकारण ट्रस्टले करोडौँ भाडा गुमाइसकेको छ । २ असार ०७७ मा लिज अवधि सकिएकोमा त्यसयताको भाडा ट्रस्टले गुमाएको हो ।