१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Friday, 09 May, 2025
२o७९ चैत ६ सोमबार १८:o४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बजेट अभावले योजना रोकिन्न : मुख्यमन्त्री कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १८:o४:oo

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अभावले योजना नरोकिने बताएका छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ मा तलुवा सामुदायिक भवन उद्घाटन गर्दै उनले निर्माणाधीन योजना बजेट अभावका कारण नरोकिने बताएका हुन्।

प्रदेश सरकारको रातो कितावमा उल्लेख भएका र ठेक्का प्रक्रियामा गएर काम सुरु भएका योजनामा बजेट अभाव हुन नदिने उनको प्रतिबद्धता छ। ‘प्रदेश १ मा संघीयतापछि थुप्रै पूर्वाधार विकासका बहुवर्षीय योजना अघि बढेका छन्। यसको गति कुनै हालतमा रोकिन्न,’ उनले भने। प्रदेश सरकारले संघीय मन्त्रालय र दातृ निकायसँग लगानी बढाउन पहल गरिरहेको उनको भनाइ थियो।

यसैबीच मुख्यमन्त्री कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा पुग्ने गरी बनाउन निर्देशन दिएका हुन्।

दुर्गमको विकास पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले आधारभूत आवश्यकता पूरा नभएकै कारण नागरिक बसाइँ सरेर अन्यन्त्र जानुपर्ने अवस्था सुधार हुने गरी योजना तर्जुमा गर्न निर्देशन दिए। उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो।

ओखलढुंगामा तीन दिन बसेर ८ वटा योजनाको शिलान्यास, हस्तान्तरण र उद्घाटन गरेर मुख्यमन्त्री कार्की विराटनगर फर्किएका छन्। मुख्यमन्त्री कार्कीलाई फर्कने क्रममा गोरुमारे भञ्ज्याङमा पहिचान पक्षधरहरूले कोसी प्रदेशको नामकरण सच्याउन माग गर्दै अवरोध गर्ने प्रयास गरेका थिए।