मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ५ आइतबार ०६:२१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिविका ४८ आंगिक क्याम्पससहित सम्बन्धनप्राप्त क्याम्पसमा आज स्ववियु चुनाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ५ आइतबार ०६:२१:००

त्रिविसँगै नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा पनि चुनाव हुँदै

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । शनिबार साँझसम्मको विवरणअनुसार आइतबार ४८ आंगिक र ठूलो संख्यामा सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदै छ । 

निर्वाचनका लागि बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । त्रिविसँगै नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा समेत स्ववियु चुनाव हुँदै छ । विभिन्न विद्यार्थी संगठनबीच प्रतिस्पर्धा छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारी ४८ आंगिक क्याम्पसमा स्ववियु निर्वाचनका लागि तयारी भएको बताए । उनका अनुसार उपत्यकामा पाँच र बाहिर सात क्याम्पसमा भने आइतबार निर्वाचन हुन नसक्ने अवस्था आएको छ । चुनावको तयारी नभएका अधिकांश क्याम्पसमा भर्नासँग सम्बन्धित विषयमा विवाद छ । सदस्यसचिव अधिकारीका अनुसार उपत्यकामा त्रिचन्द्र बहुमुखी, रत्नराज्य, पाटन संयुक्त, आयुर्वेद र नेपाल कमर्स क्याम्पसमा चुनाव हुन नसक्ने अवस्था छ ।

उपत्यकाबाहिर वीरगन्जको ठाकुरराम बहुमुखी, चितवनको वीरेन्द्र, पोखराका पृथ्वीनारायण, इन्जिनियरिङ तथा नर्सिङ क्याम्पसमा निर्वाचन नहुने अवस्था छ । पोखराको वन क्याम्पसमा समेत चुनावको सुनिश्चित भएको थिएन । त्यसैगरी, बाग्लुङको धवलागिरि बहुमुखी क्याम्पसमा पनि निर्वाचन स्थगित भएको छ । पोखराको पृथ्वीनारायण र पोखरा नर्सिङ क्याम्पसमा अदालतको आदेशका कारण चुनावी प्रक्रिया रोकिएका हुन् । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव अधिकारीले आइतबार निर्वाचन हुन नसकेका क्याम्पसमा केही दिनमा प्रक्रिया पु¥याएर निर्वाचन हुनेछ । त्रिविका दुई आंगिक क्याम्पस गोरखा र धनकुटा क्याम्पसमा निर्विरोध स्ववियुको नेतृत्व चयन भइसकेको छ । 

त्रिविमा पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव भएको थियो । ०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु हुन सकेको थिएन ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार ०७३ मा उपत्यकाभित्रका नौवटा आंगिक क्याम्पसमा मात्र स्ववियु चुनाव सम्पन्न भएको थियो । त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन सकेन । 

आचारसंहिता पालना गरेर निर्वाचन गर्न अपिल
त्रिभुवन विश्वविद्यालयले आचारसंहिता पालना गरी स्ववियु चिर्वाचन गराउन सम्बन्धित पक्षलाई अपिल गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव अधिकारीले स्ववियु विद्यार्थीको चौतर्फी विकास गर्ने क्याम्पसभित्रको पवित्र संस्था भएकाले सफलतापूर्वक सम्पन्न गर्न अपिल गरेका छन् । 

स्ववियु निर्वाचन मिश्रित प्रणालीमा
१९ फागुनबाट चुनावी प्रक्रिया सुरु भएको स्ववियु निर्वाचनमा त्रिविले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ । स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । तर, कुनै कारणले निर्धारित मितिमा निर्वाचन हुन नसके ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याको अनुपातमा फरक छ । दुई सय जनासम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, दुई सय एकदेखि हजारसम्म विद्यार्थी हुँदा १५ सदस्यीय, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी हुँदा १९ सदस्यीय र तीन हजारभन्दा माथि विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।