मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ४ शनिबार १२:४५:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा लिगलिगे साइकल दौड

Read Time : > 1 मिनेट
२०७९ चैत ४ शनिबार १२:४५:००

तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता गोरखाको पालुङ्टारमा सुरु भएको छ । करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेस लिगलिगकोटबाट सुरु भएर लमजुङका विभिन्न क्षेत्रसम्म पुग्छ ।

दौड पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ्, कोयापानी र रिपगाउँ हुँदै पाथिभरा, भण्डारथोकबाट चेपे खोला तरेर लमजुङको गरमबेशीसम्म पुग्छ । पालुङ्टार हवाइअड्डा हुँदै तालपोखरी, ठाँटीपोखरी, बाह्रपिर्के र बधडाँडा हुँदै फेरी लिगलिगकोट डाँडा पुग्ने छ।

प्रतियोगितामा व्यवसायिक साइकल रेस खेलाडीका साथै अन्य गरी करिब १०० जना सहभागी रहेका बताइएको छ । आयोजकका अनुसार लिगलिगकोटलाई साहसिक खेलको केन्द्रको रुपमा विकास गर्नको लागि २०७७ सालदेखि हरेक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ ।

१६औं शताब्दीमा घले राजाहरुले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो । त्यस समयमा घले राजाहरुले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गरेको बताइन्छ ।

द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएर जितेपश्चात नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकीकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ ।

यस क्षेत्रमा हरेक वर्ष दशैंको समयमा दौड आयोजना गरिने भएपनि साइकल रेस भने अन्य समयमा पनि  गरिँदै आएको छ । यहाँको भौगोलिक अवस्था र क्षेत्रको पर्यटकीय एवं साहसिक खेलको प्रवर्द्धन गर्नको लागि साइकल रेस आयोजना गरिएको आयोजक टोलीका सदस्य सञ्जिव रानामगरले नयाँ पत्रिकालाई बताए ।

शनिबार भएको साइकल दौडमा भने ३ विधामा प्रतिष्पर्धा भएको थियो । मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरुले प्रतिष्पर्धा गरेका थिए । मेन्स इलाइटतर्फका विजेताले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार पुरस्कार राशी र मेडल पाउने छन् । चौंथो र पाँचौं  स्थानमा दौड पूरा गर्ने सहभागिले भने १५ हजार र ७ हजार ५ सय पाउनेछन् । मेन्स मास्टर्सतर्फ प्रथम स्थानमा दौड पूरा गर्नेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।

पालुङ्टार, राइनस पालिका र सिराचोक गाउँपालिकाबाट दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार पाउनेछन् । यो वर्ष प्रथम स्थानमा हिमाल टमटाले जित हासिल गरेका छन् । दोस्रो स्थानमा अचुत कृष्ण खरेल र तेस्रो स्थानमा कुमार तामाङ रहेका छन् ।