मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Friday, 14 August, 2026
२o७९ चैत ३ शुक्रबार १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा निसास्सिएर एकल महिलाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार १४:५१:oo

दाङमा एक महिलाको निसास्सिएर मृत्यु भएको छ। दंगीशरण गाउँपालिका– ५ देविस्थाननिवासी ४० वर्षीया पार्वती घर्तीको निसास्सिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार घर्तीको शरीर नजलेको, तर निसास्सिएर मृत्यु भएको अवस्थामा फेला परेको थियो। 

घर्ती उनको एककोठे टिनले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी थिइन्। उनका तीन छोरा क्रमशः २०, १९ र १६ वर्षका छन्। तीनैजना काठमाडौंमा रोजगार गर्दै आएका छन्। 

चुरोट सल्काएर फालेको र त्यही कारणले घरभित्र आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ। केसीले भने, ‘उहाँले चुरोट खाएर फाल्दा ओछ्यानमा सल्किएर आगलागी भएको हुन सक्ने हाम्रो अनुमान छ।’ 

आगलागीपछि उनले ढोका खोल्ने प्रयास गरेको देखिने प्रहरीले बताएको छ। प्रहरीका अनुसार ढोकानजिकै उनी मृत भेटिएकी हुन्। 

ढोकामा चुकुलसँगै रड पनि राखिएको छ। त्यही रड खोल्न नसकेपछि निसास्सिएर भित्रै मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ। बिहान  ६ बजेतिर स्थानीय आफन्तीले घरमा गएर हेर्दा मृत्यु भएको अवस्थामा भेटिएकी थिइन्।

‘घरनजिकै उहाँको काका बस्नु हुनेरहेछ,’ प्रहरी निरीक्षक केसीले भने, ‘बिहान किन नउठेको भनी जाँदा चुकुल नखोलेपछि भित्र हेर्दा ढोकामा मृत्यु भएको अवस्थामा देखेपछि हामी गएर ढोका खोल्दा मृत्यु भएको अवस्थामा फेला पारेका हौँ।’ 

उनका श्रीमान् प्रहरी थिए। तर, एक वर्षअघि सम्बन्धविच्छेद भएको स्थानीयले बताए। घर्तीको शवलाई परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ। काठमाडौंका छोरा आएपछि शव परीक्षण हुने प्रहरीले बताएको छ।