
टर्की र सिरियामा गएको विनाशकारी भूकम्पले धेरैको ज्यान जानुको साथै ठूलो भौतिक क्षति भयो। नेपाली श्रमिकहरूको गन्तव्य मुलुक रहेको टर्कीमा करिब दुई हजारजति नेपाली छन्।
भूकम्प प्रभावित क्षेत्र गाजियान्टेपमा रहेका केही विद्यार्थी, घरेलु कामदार र होटेलमा काम गर्नेहरू भए पनि सबै नेपाली सुरक्षित रहेका थिए।
भूकम्प गएदेखि नै गैरआवासीय नेपाली संघ टर्कीले निकै सक्रिय भूमिका खेली भूकम्पपीडित र त्यहाँ रहेका नेपालीलाई सहयोग गर्दै आएको छ।
गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वल घिसिङ, वरिष्ठ उपाध्यक्ष श्यामकला राईले भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सर्न सहयोग गरेका थिए भने महासचिव डा. विनोद पौडेल र सचिव मोहम्मद जावेद भूकम्प प्रभावित क्षेत्रमा गई सहयोग गरेका थिए।
संघ टर्कीले गरेको यस कार्यमा ऐक्यबद्धता जनाउँदै एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाले १० दिनको अभियान चलाई आर्थिक संकलन गरेकी थिइन्। जसबाट उठेको चार हजार एक सय १९ युरो जम्मा भएको थियो।
११३औँ श्रमिक महिला दिवसको अवसरमा संघको महिला विभागले मार्च १२ मा गरेको एक भर्चुअल कार्यक्रम उक्त रकम एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाको संयोजनमा त्यस कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरबाट गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङलाई हस्तान्तरण गरियो।
एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापा अस्ट्रियाका लागि पर्यटनदूतसमेत हुन्।