१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब हिमाली जिल्लामा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:३७:oo

अब हिमाली जिल्लामा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने गरी ०७९ माघ ६ गते मन्त्रिस्तरीय निर्णय गरेको थियो।

सो निर्णयअनुसार माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए। परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका ८ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको हो। ‘यो निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमति जनाएका छन्,’ भण्डारीले भने। 

यसअघि हिमाली जिल्लाहरूमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो। जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए। तर, अब यी जिल्लामा पनि २०८० देखि वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुनेछ।

यहाँका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ। यसले गर्दा पनि संघीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय मान्नुपर्ने देखिएको शिक्षा समन्वय इकाइ जुम्लाले जनाएको छ।

जिल्लाको हिमा गाउँपालिकाले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिने निर्णय गरे पनि त्यो कार्यान्वयन नहुने भएको छ। हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्तराज रावलले जुम्लाका अन्य गाउँपालिकाले वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएकाले आफूहरूले पनि त्यही गर्नुको विकल्प नभएको बताए।

‘एकरूपताका लागि वैशाखमै शैक्षिक सत्र सुरु गर्नुपर्ने हुन्छ। तर, एकपटक कार्यपालिकाको बैठकमा विद्यालयका प्रधानाध्यापकसहितको छलफल गर्ने तयारी गरेका छौँ,’ उनले भने। जिल्लामा माघ २५ गतेदेखि नै विद्यालय सञ्चालनमा आइसकेका छन्।

ad
ad