
गुठीचौर गाउँपालिका– ३ गज्याङकोटको विद्युत् अवरुद्ध भएको छ। विद्युतको नहर भत्केपछि फागुन १० गतेदेखि विद्युत् अवरुद्ध भएको हो।
उक्त साना विद्युत् आयोजनाबाट गुठीचौर गाउँपालिका– ३ गज्याङकोट गाउँ पाँच सय र वडा नम्बर ४ का आठ सय ४० घरधुरी बिजुली बाल्दै आएका थिए। तर, विद्युतको नहर भत्केपछि एक सातादेखि उपभोक्ताले बिजुली बाल्न पाएका छैनन्। अँध्यारोमै दैनिकी बिताउने काम गरेका छन्।
विद्युत् नहरको १८ लिटर लम्बाइ र पाँच मिटर उचाइ भत्केको छ। गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार विद्युत् नहर मर्मत गर्नका लागि ग्याबिन जाली भर्नुपर्नेछ। नहर मर्मत गर्न ठेकेदार र उपभोक्ताबाट धेरै समय लाग्ने भएकाले पालिकाले ग्याबिन जाली, केही सिमेन्ट र ढुंगा ढुवानीमा लगानी गर्नेछ।
पालिका अध्यक्ष भन्छन्, ‘अरू काम सबै श्रमदानमै काम सुरु गरेका छौँ। दैनिक पाँच सय स्थानीयवासीलाई श्रमदानका लागि परिचालन गरिएको छ । अबको १० दिनभित्रै बिजुली बाल्ने तयारी गरेका छौँ।’
‘ठेक्का र उपभोक्ता समितिमार्फत नहर मर्मत गर्दा करिब ६० लाखको योजना हो,’ वडाध्यक्ष टीकादत्त न्यौपानेले भने, ‘श्रमदानबाट न्यून रकमबाट नहर मर्मत गरी बिजुली बाल्ने योजना छ।’