१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
हात्तीपाइले रोगविरुद्धको औषधि खाएर अभियान सुरु गर्दै कैलालीका प्रजिअ युवराज कट्टेल
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

६४ जिल्लामा हात्तीपाइलेको जोखिम

जोखिममा रहेका ४० जिल्लामा ३० हजारभन्दा बढी हात्तीपाइले रोगबाट प्रभावित

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१९:oo

सरकारले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । तर, अझैसम्म ६४ जिल्ला हात्तीपाइले रोगको जोखिममा छन् । जसमध्ये जोखिममा रहेका ४० जिल्लामा मात्र ३० हजारभन्दा बढी हात्तीपाइलेबाट प्रभावित रहेको पाइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हाल जोखिममा रहेका जिल्लामा हात्तीपाइले प्रभावितको सर्वेक्षण भइरहेको छ । सर्वेक्षणको पहिलो चरणमा ४० वटा जिल्लाबाट लिइएको तथ्यांकअनुसार ३० हजारभन्दा बढी व्यक्तिमा हात्तीपाइलेका विभिन्न लक्षण पाइएको हो ।  

सरकारले ६४ जिल्लालाई हात्तीपाइलेबाट ग्रसित जिल्लामा सूचिकृत गरेको छ । यी जिल्लामा औषधि कार्यक्रम विगतदेखि सञ्चालन भएकोमा अहिले ४० वटामा औषधि बन्द गरेर बिरामीहरूको म्यापिङ (तथ्यांक संकलन) को काम भइरहेको छ ।

१५ जिल्लामा भने बिहीबारदेखि औषधि खुवाउने अभियान सुरु भएको छ । अन्यमा पनि औषधि बन्द गरेर म्यापिङका लागि तयारी भइरहेको छ । इडिसिडीअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार पहिलो चरणको सर्वेक्षण सकिएसँगै बाँकी २४ जिल्लामा सर्वेक्षण सुरु गर्ने तयारी भइरहेको छ । 

‘राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम’अन्तर्गत प्रभावितको तथ्यांक संकलन र स्वास्थ्य परीक्षणसँगै हात्तीपाइले रोगविरुद्धको औषधि वितरण भइरहेको हो । ‘हात्तीपाइले संक्रमणबाट दीर्घ रूपमा प्रभावित र हातखुट्टा सुन्निएको, हाइड्रोसिल भएको तथा कतिपयमा हात्तीपाइले सिभियर भएकाको सर्वेक्षण गरिरहेको हो ।

हात्तीपाइलेको इन्डेमिक जिल्ला घोषणा गरिएका ६४ वटै जिल्लामा संक्रमण निवारणका लागि कुनै न कुनै कार्यक्रम सञ्चालन भइरहेका छन् । जसमध्ये ४८ जिल्लामा हाल औषधि वितरण अभियान बन्द भएको छ भने बाँकी जिल्लामा औषधि वितरण अभियान सुरु भएको छ,’ डा. दाहालले भने ।

१५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
बिहीबारदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि वितरण सुरु गरिएको छ । हात्तीपाइलेको जोखिममा रहेका यी जिल्लामा २५ फागुनसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिक स्थलमा बुथ बनाई खुवाइनेछ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पहिलो दिन बिहीबार स्वास्थ्यकर्मीले सबै जिल्लामा बुथमै औषधि खुवाए । शुक्रबारदेखि विद्यालय, स्थानीय पालिका र घरघरमै पुगेर औषधि खुवाउने कार्यक्रम छ । ‘सकेसम्म धेरै संख्यामा औषधि दिइने लक्ष्य लिइएको छ । सबै नागरिकलाई औषधि सेवन गर्न अनुरोध गरेका छौँ,’ दाहालले भने ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष उमेर पूरा भएका सबै नागरिकलाई वितरण गरिएको छ । शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट प्रयोगमा ल्याइने यो औषधि हाल प्रभावित जिल्लामा विभिन्न चरणमा खुवाइँदै आइएको छ । चिकित्सकका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । हात्तीपाइलेका कारण शारीरिक अपांगता हुनबाट बच्न औषधिको अनिवार्य सेवन आवश्यक छ । सरकारले औषधि निःशुल्क उपलब्ध गराइरहेको छ ।

 कैलालीमा १० वर्षसम्म सफल भएन हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान
कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान बिहीबारबाट सुरु भएको छ । दुई सातासम्म सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाभरि करिब आठ लाख ८० हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जिल्लाका सबै स्वास्थ्य संस्था, खोपकेन्द्रलगायत १४२ स्थानबाट औषधि खुवाउने व्यवस्था गरिएको बताए ।

औषधि खान छुटेकालाई घरमै गएर पनि खुवाइने, तर सुत्केरी, गर्भवती, दुई वर्षमुनिका बालबालिका र सिकिस्त बिरामीले भने यो औषधि सेवन गर्न नहुने उनले बताए । कैलालीमा विगतमा १० पटकसम्म सफल नभएपछि ११ औँपटक अभियान सुरु गरिएको हो ।

धामीका अनुसार रोग उन्मूलनको घोषणाका लागि लगातार दुई वर्ष अभियानमा ८५% भन्दा बढी जनसंख्याले औषधि खाएको हुनुपर्छ । त्यस्तै, हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम हुनुपर्छ । तर, गत वर्षबाहेक विगतमा ५० प्रतिशतको हाराहारीले मात्र औषधि खाएको उनले बताए । गत वर्ष भने ८०.६७ प्रतिशतले औषधि खाएको उनले बताए ।


 

ad
ad