मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ११ बिहीबार १५:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मूलघाट–पाँचथर सडकखण्ड कालोपत्रे सुरु

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार १५:४०:००

तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथर सडकखण्डमा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । साँगुरीगढी गाउँपालिका– १ मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडक कालोपत्रे कार्य सुरु भएको हो ।

तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको सडक एक सय १० किलोमिटर छ । जसमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको हाङठुवासम्म ६६ किलोमिटरलाई पहिलो र हाङठुवादेखि पाँचथरको गणेशचोकसम्म ४४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको छ । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनी काठमाडौंले पहिलो खण्डको सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ भने दोस्रो खण्डको काम एपेक्स कन्स्ट्रक्सन निर्माण सेवा काठमाडौंले पाएको छ ।

उक्त सडक कालोपत्रेको कुल लागत पाँच अर्ब ७६ करोड रहेको तमोर करिडोर धरानका योजना प्रमुख कुवेर नेपालीले बताए । तमोर करिडोरअन्तर्गतको उक्त सडक प्रदेश नम्बर १ को राजधानी विराटनगरको रानीबाट ताप्लेजुङको ओलाङचुङगोलासम्म दुई सय ८० किलोमिटर रहेको छ । 

ताप्लेजुङको ओलाङचुङगोला छिमेकी राष्ट्र चीनसँगको सीमावर्ती क्षेत्र हो । तमोर करिडोर सडक निर्माण सम्पन्न भएपछि चीन र भारत जोड्ने नेपालकै छोटो दूरीको सडक मार्ग बन्नेछ । उक्त सडक कालोपत्रेका लागि सरकारले गत भदौमा टेन्डर आह्वान गरेको थियो । सोही आधारमा निर्माण कम्पनीसँग सम्झौता भएर कालोपत्रेको काम थालनी भएको हो । अहिले दुवै खण्डको निर्माण कम्पनीले कालोपत्रेका लागि ग्राभेल, सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ढुंगा, गिटी, बालुवा संकलन गर्नेलगायतका काम सुरु गरेका छन् ।

सो सडक दुई वर्षभित्रमा कालोपत्रे गरिसक्ने सम्झौता भएको छ । तमोर करिडोरको सो सडक निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका तमोर नदी तटीय क्षेत्रका नागरिकलाई तराई झर्न सहज हुनेछ ।

ताप्लेजुङबाट मेची राजमार्गको पाँचथर, इलाम, झापा हुँदै प्रदेश नम्बर १ को राजधानी विराटनगर पुग्न अहिले करिब १२ घन्टासम्म लाग्छ । तर, तमोर करिडोर निर्माण भएपछि ताप्लेजुङबाट पाँचथर, धनकुटा हुँदै करिब आठ घन्टामा विराटनगर पुग्न सकिनेछ । तमोर करिडोर ०६६ सालमा धनकुटाको मूलघाटदेखि सुरु गरिएको थियो ।