१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवनिर्मित काष्ठमण्डप मन्दिर । तस्बिर : नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:११:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वसाधारणका लागि नखुल्दै हल्लिन थाल्यो काष्ठमण्डप

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:११:oo

१० महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणपछिको नयाँ काष्ठमण्डप दरबारको उद्घाटन गरेकी थिइन् । उनले उद्घाटन गरेपछि अब सर्वसाधारणले पनि प्रवेश पाउँछन् होला भन्ने धेरैको अपेक्षा थियो । तर, ताला खोलेर उद्घाटन गरिएको काष्ठमण्डपमा फेरि ताला ठोकियो । सर्वसाधारणले प्रवेश पाएनन् । 

सर्वसाधारणले काष्ठमण्डपमा प्रवेश नपाउनुको एउटा कारण हो, यसविरुद्ध परेको मुद्दा सर्वोच्व अदालतले हालसम्म टुंग्याएको छैन । काष्ठमण्डप पुनर्निर्माण समितिले यसभित्रका मूर्तिहरू जथाभावी राखेको भन्दै समितिविरुद्ध मुद्दा परेको थियो । अधिवक्ता सञ्जय अधिकारीसहित जनहित संरक्षण मञ्चका सदस्य श्रद्धासुमन आचार्य, अर्वण चौधरीलगायत काष्ठमण्डपमा राखिएको गोरखनाथ मूर्ति परिवर्तन गरिएको र चार गणेश बेवारिसे राखिएको भन्दै सर्वोच्च पुगेका थिए । गत ३ माघमा सर्वोच्चले मूर्ति फर्काउन अन्तरिम आदेश दिए पनि समितिले अहिलेसम्म पनि उक्त आदेशको कार्यान्वयन नभएको स्थानीयले आरोप लगाएका छन् । अदालतको आदेश कार्यान्वयन नभएको भन्दै गत चैतमा अधिकारीकै टिमले समिति, पुरातत्व विभागलगायतलाई विपक्ष बनाएर अवहेलना मुद्दा दायर गरेको छ । 

नवनिर्मित काष्ठमण्डपमा राखिएको बिम, थामसमेत हल्लिन थालेको स्थानीयको आरोप छ । ‘दोस्रो तलामा रहेको थाम, दलिन हल्लिन थालेको छ । जसकारण काष्ठमण्डप कुनै पनि वेलामा ढल्न सक्ने अवस्थामा छ,’ स्थानीय राजन महर्जनले भने, ‘काष्ठमण्डप जसले बनाए पनि काष्ठमण्डपकै कारण काठमाडौं नामकरण भयो । काठमाडौंलाई यसैले चिनायो । त्यो काष्ठमण्डप बच्नुपर्‍यो । भूकम्पले ढल्दा हाम्रै हातले २५ जनाको शव निकाल्याैँ । फेरि पनि शव निकाल्नुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता लाग्छ ।’

राजन महर्जन, स्थानीय 
दोस्रो तलामा रहेको थाम, दलिन हल्लिन थालेको छ । जसकारण काष्ठमण्डप कुनै पनि वेलामा ढल्न सक्ने अवस्थामा छ । काष्ठमण्डप जसले बनाए पनि काष्ठमण्डपकै कारण काठमाडौं नामकरण भयो । काठमाडौंलाई यसैले चिनायो । त्यो काष्ठमण्डप बच्नुपर्‍यो । 

अघिल्लो महिना १ माघमा पूजा गर्न आफूसहित केही स्थानीय काष्ठमण्डप पुगेका उनले बताए । माथिल्लो तलामा जाँदा हल्लिएपछि सम्बन्धित पक्षलाई यसबारे जानकारी गराएको उनको भनाइ छ । ‘मन्दिर बनाउने मात्र विज्ञ होइन, हामी पनि विज्ञ हौँ । हामी यही ठाउँमा जन्मेको–हुर्केको, कसले कसरी मन्दिर बनाउँछ सबै थाहा छ । हामीले देखेका छौँ । केही काठ बांगोटिंगो भइसकेका छन् । केही काठले भित्ता नै छाडिसके । थाम, बिम हल्लिएका छन्, तर ध्यान कसैको छैन,’ उनले भने । 

काष्ठमण्डप समस्याबारे पुरातत्व विभाग, काठमाडौं महानगरलगायत ठाउँमा निवेदन दिँदा  कुनै प्रतिक्रिया नआएका कारण १ माघमा लिएको भिडियो २० दिनपछि उनले सामाजिक सञ्जालमा समेत राखेका थिए । काष्ठमण्डपको २१ चैत ०७८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । 

 पन्छिन खोज्दै महानगर 
हनुमानढोका दरबार क्षेत्रभित्र पर्ने काष्ठमण्डप काठमाडौं महानगरको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको थियो । १८ वैशाख ०७५ मा पुनर्निर्माणका लागि समिति बनेको थियो । सोही वर्षको २९ जेठमा महानगर र समितिबीच समझदारीमा हस्ताक्षर भएको थियो भने सोही दिन महानगरले समितिलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

महानगरको करिब १३ करोड आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डप तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा सम्पन्न भएको थियो । सोही कारण प्रमुख बालेन्द्र साहको टिम भने पन्छिन खोजेको छ । ‘काष्ठमण्डप पुनर्निर्माण अघिल्लो सरकारका पालामा निर्माण सम्पन्न भएको हो । आर्थिक सहयोग पनि पुरानै सरकारका पालामा भएको हो । हाम्रो कार्यकालमा भएको विषय होइन । त्यसैले सामाजिक सञ्जालमा आएको काष्ठमण्डपको भिडियोबारे हाम्रो धारणा अहिले नै केही छैन,’ प्रवक्ता नवीन मानन्धरले भने । 

 समिति भन्छ– सामान्य कुरालाई धेरै उचालियो
स्थानीयले काष्ठमण्डपको विषयलाई सामाजिक सञ्जालसम्म पुर्‍याउँदा काष्ठमण्डप पुनर्निर्माण समिति भने सामान्य विषयलाई ठूलो बनाएको आरोप लगाउँछ । ‘१ माघको पूजाको दिन केही स्थानीयसँगै त्यहाँ पुजारी पनि हुनुहुन्थ्यो । उहाँहरूलाई केही थाहा छैन । कुनै सक्षम व्यक्ति, इन्जिनियर कसैले भनेको भए पो ! एउटा सामान्य मानिसले उठाएको विषयलाई उचाल्नुपर्ने कारण केही छैन,’ समितिका अध्यक्ष राजेश शाक्यले भने । 

उनले आफू पनि पुरानो घरमा बसिरहेको र उक्त घरलाई १९९०, ०४५  र ०७२ सालको भूकम्पले समेत केही नगरेको बताए । यद्यपि, काष्ठमण्डपबारे चासो भएपछि अब विज्ञहरूलाई बोलाएर केही दिनमै हेर्ने उनले बताए । ‘काष्ठमण्डपमा नयाँ र पुरानो दुवै किसिमका काठको प्रयोग भएको छ । केही समस्या आएको पनि हुन सक्छ । विज्ञलाई देखाएर सम्बोधन गर्छौँ,’ अध्यक्ष शाक्यले भने । भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको काष्ठमण्डप करिब चार वर्षमा पुनर्निर्माण सम्पन्न भएको थियो । काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण भएको इतिहासमा उल्लेख छ । त्यसयता यो मन्दिर पाँचपटक पुनर्निर्माण भइसकेको छ ।

ad
ad