Skip This
चन्द्रनगरमा कृषि विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २९ शनिबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्द्रनगरमा कृषि विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:४४:oo

किसानले खेतमा सिँचाइ गरेबापत कृषि मिटरमा उठेको बिल गाउँपालिकाले भुक्तानी गरिदिने भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि मिटरबाट सिँचाइ गर्ने किसानको बिल भुक्तानी गरिदिने निर्णय गरेको हो ।

३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए । यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो ।

कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिकाले जनाएको छ । कृषि विद्युतीकरणका लागि गाउँपालिकाले संरचनाहरू तयार गरिसकेको पालिकाका अध्यक्ष राजकुमार महतोले बताए । उनका अनुसार पालिकाअन्तर्गतका सातवटै वडामा विद्युत् मिटर जडान अभियानसमेत सञ्चालन गरिएको छ ।

गएको पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय भएको थियो । सिँचाइ क्षेत्र विस्तार हुँदा सहज सिँचाइ हुने, कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताए । ‘यो निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष महतोले भने, ‘खेतिप्रति किसानको आकर्षणसमेत बढ्ने छ ।’

कृषि मिटर जडानका लागि फारम भर्ने र बुझाउने व्यवस्थासमेत गाउँपालिकाले गरेको छ । विद्युत् मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने कुरालाई ध्यान दिँदै गाउँपालिकाबाटै उक्त सेवा किसानले दिनसक्ने व्यवस्था गरिएको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोको भनाइ छ । विद्युत् प्राधिकरण मलंगवाको सहकार्यमा गाउँपालिका गएर किसानले धमाधम कृषि मिटरका लागि फारम भरिरहेका छन् ।

गाउँपालिकाले नै किसानको फाराम प्राधिकरणमा लगेर मिटर ल्याउने र जडान गरिदिने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष महतोले जानकारी दिए । चालू आर्थिक वर्ष ०७९/८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ  । कृषि विद्युतीकरणका लागि दुई वर्षअघि गाडेर अलपत्र रहेको विद्युतको पोल तथा तार र ट्रान्सफर्मरमा विद्युत् लाइन सञ्चालनको अन्तिम तयारी भएको गाउँपालिका कार्यालयले जनाएको छ । 

गाउँपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने तयारी गरेपछि चन्द्रनगर– २ का किसान राजन महतोले खुसी व्यक्त गरे । ‘किसानको उत्पादनको मूल्य छैन । त्यसमा पनि मल, बिउ उत्पात महँगो छ । सिँचाइ गर्नसमेत डिजेलपम्प चलाउनु पर्दा ठूलो मर्कामा परेका थियौँ,’ उनले भने ।

एकपटक डिजेल पम्पबाट १० कट्ठा जग्गा सिँचाइ गर्दा एक हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको महतोले बताए । खेती सिँचाइका लागि गाउँपालिकाले निःशुल्क विद्युत् उपलब्ध गराउँदा आफूहरूलाई ठूलो राहत हुने अर्का किसान रामदिनेश यादवलले बताए ।

ad
ad