१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हात्तीपाइले रोग : शिक्षित र सुगमका नागरिक नै औषधि खान मान्दैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:११:oo

बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । यहाँ ग्रामीण क्षेत्रका भन्दा सुगम र शिक्षित नागरिकले नै औषधि सेवन नगरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आठवटा पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिकामा बसोवास गर्नेहरूले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगरेको स्वास्थ्य कार्यालयकी हात्तीपाइले खोप फोकल पर्सन दुर्गा गौतमले बताइन् । उनका अनुसार गत वर्ष नेपालगन्जका ५० प्रतिशत सर्वसाधारणले मात्र औषधि सेवन गरेका थिए । त्यसैगरी, कोहलपुर र डुडुवा गाउँपालिकाका समान ७८ प्रतिशत, खजुराका ७६, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका समान ७३, नरैनापुरका ७४ र जानकी गाउँपालिकाका ८० प्रतिशतले औषधि सेवन गरेकाे उनले तथ्यांक सार्वजनिक गरिन् ।

‘बाँकेमा सुगम र शिक्षित परिवारका भन्दा दुर्गम ठाउँका सर्वसाधारणले औषधि सेवन गरेकाे सर्वेक्षणले देखाउँछ,’ उनले भनिन् । उनले शिक्षित र उच्च ओहोदाका व्यक्तिले औषधि नखाइदिँदा औषधि सेवन अभियान प्रभावकारी हुन नसकेको बताइन् । ‘यहाँ औषधि खानेले खाइरहे पनि नखानेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन समस्या भएको छ,’ उनले भनिन्, ‘औषधि सेवन नगर्नेहरूका कारण खानेहरू हात्तीपाइलेको जोखिममा छौँ ।’ 

बाँकेमा आर्थिक वर्ष ०६७/६८ बाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । १२औँ पटकको अभियान सफल नभएपछि यो वर्ष ११ फागुनदेखि १३औँ अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।

सुरुको वर्ष जिल्लाका ९१ प्रतिशतले औषधि सेवन गरे पनि त्यसपछिका वर्षमा घट्दै गएको छ । पहिलो वर्षको अभियानमा औषधि सेवन गरेकामध्ये दुईजनाको मृत्यु भएपछि पछिल्लो वर्ष घटेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘पहिलो वर्षको अभियानमा केही कमिकमजोरी भई केही जटिलता आउँदा पछिल्ला वर्ष औषधि सेवन गर्ने क्रम घटेको छ,’ पौडेलले भनिन् ।

बाँकेमा हात्तीपाइलेको जोखिम अझै कायमै रहेको उनको भनाइ छ । ०७८ मा गरिएको सर्वेक्षणमा कोहलपुरका ५.५ प्रतिशत र नेपालगन्जका २.८ प्रतिशतमा हात्तीपाइलेको जीवाणु फेला परेको थियो । ‘लगातार पाँच वर्ष औषधि खुवाउँदा पनि हात्तीपाइले निवारण गर्ने रणनीति असफल भएपछि १३औँ पटक औषधि खुवाउन लागेका हौँ,’ उनले भनिन् ।

यस वर्ष जिल्लाका ६ लाख १६ हजार ६ सय ९५ जनालाई औषधि खुवाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जका एक लाख ७० हजार पाँच सय ९८, कोहलपुरका एक लाख दुई हजार नाै सय चार, खजुराका ६५ हजार तीन सय सात र जानकी गाउँपालिकाका ४७ हजार सात सय ३३ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताइन् ।

त्यसैगरी, डुडुवा गाउँपालिकाका ४४ हजार एक सय ४४, नरैनापुर गाउँपालिकाका ४४ हजार आठ सय सात, बैजनाथ गाउँपालिकाका ७१ हजार आठ सय ६१ र राप्तीसोनारी गाउँपालिकाका ६९ हजार तीन सय ४१ जनालाई औषधि खुवाउन लागिएको छ ।

ad
ad