१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सडकको धुलोबाट इँटा बनाउने महानगरको योजना अगाडि बढेन

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४५:oo

काठमाडौं महानगरले महानगरपालिकाभित्र बु्रमर (यान्त्रिक कुचो) प्रयोग गरी सडकको धुलो संकलन गर्न थालेको चार वर्ष भयो । दैनिक आठदेखि १० टन धुलो संकलन हुन थालेपछि दुई वर्षअघि महानगरले यसबाट इँटा बनाउने योजना अघि सारेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले इँटा बनाउने योजना बनाए पनि कार्यान्वयन हुन सकेन । शाक्यपछि आएका मेयर बालेन्द्र साहले पनि यसलाई ध्यान दिएका छैनन् ।

महानगरका अनुसार त्यसवेला इँटा बनाउनेबारे केही कम्पनीसँग कुरा पनि अगाडि बढाइएको थियो । ‘म वातावरण विभागमै हुँदा धुलोबाट इँटा बनाउन एक–दुईवटा कम्पनीसँग कुरा भएको हो,’ महानगरकी उपनिर्देशक सरिता राईले भनिन्, ‘कम्पनीले स्याम्पल पनि ल्याएर देखाएका थियो । तर, इँटा कहाँ बनाउने ? कस्तो बनाउने ? भनेर फाइनल नहुँदा काम अगाडि बढ्न सकेन ।’ 

धुलोबाट इँट्टा बनाउने काम अगाडि नबढ्दा महानगरमा दैनिक रूपमा संकलन हुने धुलो फोहोरसँगै बन्चरेडाँडा पुग्ने गरेको छ । केही धुलो टेकुस्थित ट्रान्सफर स्टेसनको छेउछाउमा फालिएको छ । केही धुलो महानगरले सडकका खाल्डाखुल्डी पुर्न, पार्क सम्याउन प्रयोग गरिँदै आएको छ । 

फागुनदेखि बेलुका पनि ब्रुमर  चलाउने 
सुरुवाती दिनमा बिहान र बेलुकाको दैनिक दुईपटक सडक सफा गर्ने महानगरले अहिले एकपटक मात्रै गर्दै आएको छ । अब फागुनदेखि भने महानगरले फेरि दैनिक दुईपटक सफा गर्ने जनाएको छ । अहिले दैनिक बिहान चार घन्टा सडक सफा गर्दै आइरहेको छ । ‘दिउँसोको समयमा सडक सफा गर्न जाम हुन्छ । जाडो मौसममा बेलुका छिट्टै रात पर्ने भएकाले बेलुकाको समयमा सडक सफा सम्भव छैन । केही समय हामीसँग ड्राइभर पनि अभाव थियो,’ वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘अब बेलुका ६–७ बजेसम्मै उज्यालो हुने भएकाले फागुनदेखि बेलुका पनि ब्रुमर चलाउँछौँ ।’

महानगरले आफैँले किनेको पाँच र अनुदानबाट प्राप्त दुई गरी सातवटा बु्रमरले दैनिक सडक सफा गर्दै आएका छन् । महानगरले ०७५ सालदेखि बु्रमरले सडक सफा गर्न थालेको हो । चार वर्षभन्दा पहिले महानगरले विशिष्ट व्यक्तिको आवतजावत हुने समयमा मात्र सडक विभागसँग समन्वय गरेर दुईवटा ब्रुमरले सडक सफा गर्ने गर्थे । हाल उक्त दुई बु्रुमर भने काम गर्न नमिल्ने अवस्थामा पुगेका छन् । 

 चार रुटमा चल्छन् ब्रुमर
महानगरले चार रुटमा दैनिक बु्रमरको सहायताले सडक सफा गर्दै आएको छ । माइतीघर मण्डला–सर्वोच्व अदालत–बग्गीखाना–पद्मोदय मोड–पुतलीसडक, प्रदर्शनी मार्ग हुँदै सभागृहसम्म, सिंहदबारवरपर, भद्रकाली माइतीघरसम्मका सडक सफा गर्छ । यस्तै, अर्को रुट चाबहिल–चुच्चेपाटी हुँदै बौद्धसम्मका सडक, बागबजार, पद्मकन्या क्याम्पस, बागबजार हुँदै सभागृहका सडक सफा गरिन्छ । यसैगरी, टेकु–कालीमाटी–कलंकी–बाबा पेट्रोल पम्प–मकालु पेट्रोलपम्प हुँदै सोही क्षेत्रबाट बु्रमर फिर्ता हुने महानगरले जनाएको छ । तर, ती क्षेत्रमा पनि विभिन्न निकायले विभिन्न समयमा सडकमा काम गर्ने, खाल्डाखुल्डी पार्नेलगायतका कारण धुलो उत्पादन धेरै हुने र सडक सफा गर्न पनि असहज हुने अवस्था भएको महानगरले जनाएको छ ।

लक्ष्य पूरा गर्न आन्तरिक समन्वय र क्षमता बढाउनुपर्नेमा महानगरको जोड 
काठमाडौं महानगरपालिकाको वार्षिक लक्ष्य पूरा गर्न आन्तरिक समन्वय र क्षमता बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको सहरी शासन र सेवा प्रवाह विषयक गोष्ठीमा उनीहरूले चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न आन्तरिक समन्वय र क्षमता बढाउनुपर्ने र आउँदो वर्षका लागि योजना छनोट चरणदेखि ध्यान पु¥याउनुपर्ने बताए । 

‘विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेर प्रमुख प्रशासकीय अधिकृतमा भएका अधिकार विभागीय प्रमुखलाई दिएको छु । अहिलेसम्मको प्रगति आँकडा हेर्दा लक्ष्यमा पुग्न धेरै काम गर्नुपर्ने देखिन्छ । तर, चिन्ता गर्नुपर्ने अवस्था पनि छैन,’ काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘यसअघि धेरै योजना प्रक्रियामा छन् । सम्पन्न नभएकाले वित्तीय र भौतिक प्रगतिका रूपमा देखाउन सकिएको छैन । सुरु भएका काम छिटो सक्नु र बाँकी कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउनु अहिलेको आवश्यकता हो ।’ स्वास्थ्य र सामाजिक विकास विभागले आमाको गर्भावस्थामा भएको शिशुको चौतर्फी विकासमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । ‘हामीले परिवर्तन मात्र होइन, रूपान्तरण गर्नुपर्छ । जिम्मेवारीप्रति अपनत्वबोध गरेर काम गर्नुपर्छ । ऊर्जाशील र उत्प्रेरित हुनुपर्छ,’ उनले भने ।

सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले विकासलाई देखिने बनाउन संख्यात्मकभन्दा गुणात्मक योजनामा ध्यान दिनुपर्ने बताए । ‘समस्या पहिचान भएका छन् । तर, कार्यक्रम कार्यान्वयनमा किन आउन सकेनन् । ती समस्या समाधान गरेर लक्ष्यमा पुग्नु नै अबको प्रमुख काम हो । विकासलाई देखिने बनाउन संख्यात्मकभन्दा गुणात्मक योजनामा ध्यान दिनुपर्छ । योजनाको संख्या धेरै बनाउनु भनेको प्रक्रिया लम्ब्याउनु हो । यसबाट नतिजा निकाल्न सकिँदैन,’ उनले भने । पूर्वसचिव एवं स्रोतव्यक्ति कृष्णहरि बास्कोटाले टोलदेखि अन्तर्राष्ट्रिय मामिलासम्मका हरेक कार्यक्रमलाई उत्तिकै महत्व दिएर काम गर्नुपर्ने र यसको सन्तुलनका लागि आवधिक योजना, वार्षिक योजनाबाट काम गर्नुपर्ने बताए ।

ad
ad