Skip This
शान्ति मिसनबाट प्रतिष्ठा मात्रै होइन, वार्षिक करिब साढे २२ अर्ब पनि भित्रिन्छ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o६:३o:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शान्ति मिसनबाट प्रतिष्ठा मात्रै होइन, वार्षिक करिब साढे २२ अर्ब पनि भित्रिन्छ 

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:३o:oo

राष्ट्रसंघमा फौज योगदान गर्ने राष्ट्रहरूको मर्यादाक्रममा नेपाल दोस्रो, उत्कृष्ट काम गर्दै आएकाले सेनाको सहभागिता बढ्दै

संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका नेपाली सुरक्षाकर्मीले देशको प्रतिष्ठा मात्र होइन, राज्यको ढुकुटीमा वैदेशिक मुद्रा बढाउन पनि महत्वपूर्ण भूमिका खेलेका छन् । राष्ट्रसंघमा फौज योगदान गर्ने राष्ट्रहरूको मर्यादाक्रममा नेपाल दोस्रो स्थानमा छ । 

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले शान्ति मिसनबाट वार्षिक करिब १७ करोड १७ लाख डलर (झन्डै २२ अर्ब ६५ करोड नेपाली रुपैयाँ) भित्र्याउँदै आएका छन् । यो रकम शान्ति मिसनमा खटिने सुरक्षाकर्मीको तलब र त्यहाँ प्रयोग हुने बन्दोबस्तीका सामानको शोधभर्नामार्फत हो । 

आर्थिक वर्ष ०७८/७९ मा सेनाले शान्ति मिसनबाट शोधभर्नामार्फत १५ करोड डलर भित्र्याएको थियो । त्यसबाहेक स्टाफ अफिसर तथा सैनिक पर्यवेक्षकका रूपमा एक वर्षमा करिब दुई सयजना जाने गर्दछन्, उनीहरूबाट वार्षिक एक करोड डलर भित्रिने गरेको छ । सशस्त्र प्रहरीले ९७ लाख डलर तथा नेपाल प्रहरीका कर्मचारीले वार्षिक करिब २० लाख डलर भित्र्याउने गरेको तथ्यांक सम्बन्धित सुरक्षा निकायको छ । 

पछिल्लो वर्ष वैदेशिक मुद्रामा दबाब बढिरहेका वेला शान्ति सैनिकले भित्र्याउने डलरले देशको ढुकुटीमा रेमिट्यान्सले जस्तै योगदान दिएको छ । शान्ति मिसनमा जानेको संख्या यो वर्ष अझै बढेकाले विगतका वर्षभन्दा वैदेशिक मुद्रा पनि बढ्नेछ । 

नेपाली सेनाका प्रवक्ता भण्डारी देशको असंलग्न परराष्ट्रनीतिको मर्मअनुसार नेपाली सेना विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिँदै आएको बताउँछन् । ‘यसले नेपालको प्रतिष्ठा त बढाएको छ नै साथै हाम्रा सैनिकले व्यावसायिक एक्सपोजर पनि पाएका छन्,’ भण्डारी भन्छन्, ‘विभिन्न देशका सैनिक तथा गैरसैनिकसँग शान्ति स्थापनाको क्रममा सहकार्य गर्दा अन्तर्राष्ट्रिय मञ्चमा पनि राज्यलाई टेवा पुर्‍याउन सकेका छौँ । वैदेशिक मुद्राको सञ्चितिमा योगदान दिएर परनिर्भरता कम गर्न पनि शान्ति मिसनको उल्लेख्य भूमिका छ ।’

नेपाली सेनाका पूर्वरथी पवनकुमार पाण्डे शान्ति सेना राष्ट्रको इज्जतसँग जोडिएको बताउँछन् । ‘नेपालजस्तो एउटा सानो देशले अन्तर्राष्ट्रिय जगत्मा गएर विश्वका काबिल देशहरूभन्दा उत्कृष्ट ढंगले शान्ति सेनामा विश्वशान्तिका लागि काम गरेर देखाउनु देशका लागि आफैँमा गर्वको विषय हो,’ उनी भन्छन्, ‘शान्ति सैनिकले विदेशी मुद्रा त ल्याएका छन् नै मुख्य कुराचाहिँ सैनिक कूटनीति नै हो ।’ 

राष्ट्रसंघीय शान्ति सेनामा फोर्स कमान्डरसमेत भएर काम गरेका पाण्डे सैनिकले अन्तर्राष्ट्रिय एक्सपोजर पाउनु पनि महत्वपूर्ण विषय भएको बताउँछन् । ‘अहिले पो वैदेशिक रोजगारीका लागि धेरै देश जाने चलन सुरु भयो,’ उनी भन्छन्, ‘हाम्रा सिपाहीले त ३५–४० वर्षदेखि विदेशको एक्सपोजर पाउँदै आएका छन् ।’ 

सुरक्षाविद् नारायण अधिकारी संयुक्त राष्ट्र शान्ति सेना मिसन नेपालका लािग एउटा ठूलो अवसर भएको बताउँछन् । ‘शान्ति सेनामा नेपाली सेनाको बलियो उपस्थितिले विश्वमञ्चमा नेपालको झन्डा फहराउँदै नेपालको कूटनीतिलाई प्रवद्र्धन गरेको छ,’ उनी भन्छन्, ‘साथै हरेक वर्ष देशभित्र ठूलो धनराशि भित्रिएको छ । जसले नेपालको अर्थतन्त्रमा बलियो टेवा पुर्‍याएको छ ।’ 

देशहरूबीच शान्तिसेना पठाउन दिनप्रतिदिन प्रतिस्पर्धा बढ्दो रहेकाले आगामी दिनमा नेपालको बलियो उपस्थिति टिकाइराख्न थप चुनौतीपूर्ण हुने अधिकारी बताउँछन् । ‘माली, लिबियाजस्ता देशमा शान्ति सेना मिसन सुरक्षाको दृष्टिकोणबाट हेर्दा अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ,’ उनी भन्छन्, ‘द्वन्द्वग्रस्त मुलुक परम्परागत युद्घभन्दा पनि ग्रे जोन कन्फ्लिक्ट र अनियमित युद्धको चपेटामा पर्न थालेका छन् । जोखिमपूर्ण मिसनमा खटिने फौजलाई स्रोत–साधनको कमी हुन गएमा भविष्यमा मानवीय क्षति हुन सक्छ ।’ 

बदलिँदो सुरक्षाको परिस्थितिअनुसार मिसनमा जाने सेनाको आधुनिकीकरण र चुस्ततामा विशेष ख्याल राख्नुपर्ने उनको भनाइ छ । ‘सेनाको तालिम, क्षमता अभिवृद्धि, महिला सहभागिता बढाउँदै सेनामा मल्टिडोमेन अप्रेसन कन्सेप्ट अगाडि बढाउन सकिन्छ,’ अधिकारी भन्छन्, ‘साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मिसनमा सहभागिता बढाउन परराष्ट्र मन्त्रालयले विशेष कूटनीतिक पहल गर्नुपर्दछ । यदि शान्ति सेनाको संख्या र शान्ति मिसन कटौती भएमा विश्वमञ्चमा नेपालको नाम मात्र होइन, देशले आर्जन गर्ने ठूलो धनराशि पनि गुमाउन सक्नेछ ।’ 

यसरी मिसनबाट आउने रकमबाटै सुरक्षा संगठनले कल्याणकारी कोष स्थापना गरी बहालवाला तथा अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका परिवारलाई समेत विभिन्न किसिमको सेवा, सुविधा र सहयोग दिँदै आएका छन् । 

पहिलोपटक एकैचोटि ६ हजार सैनिक मिसनमा
शान्ति स्थापनामा एकैपटक खटिने नेपाली सैनिकको तैनाथी संख्या पहिलोपटक ६ हजार नाघेको छ । गत महिना मध्यअफ्रिकी गणतन्त्र (कार)मा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुईजना शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली फौजको तैनाथी संख्या ६ हजार ५९ पुगेको हो । जसमध्ये पाँच सय १३ जना महिला रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । 

नेपाली सेना हाल १३ वटा मिसनमा खटिएको छ । जसमध्ये ११ वटा कन्टिन्जेन्ट छन् । सिरियामा फोर्स कमान्डर, लेबनानमा डेपुटी फोर्स कमान्डर तथा माली र दक्षिण सुडानमा सेक्सन कमान्डरजस्ता उच्च पदमा सैनिक अधिकृत कार्यरत छन् । मिसनमा उत्कृष्ट काम गर्दै आएकाले यसरी नेपाली सेनाको सहभागिता बढेको सैनिक प्रवक्ता भण्डारी बताउँछन् । 

सन् १९५८ मा ‘मिलिटरी अब्जर्भरहरू’ लेबनान मिसनमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिसन यात्राले ६ दशकभन्दा बढी अवधि पूरा गरिसकेको छ । हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४४ हजार सात सय ८० जना मिसनमा सहभागी भइसकेका छन् । 

नेपाली सेनाले शान्ति मिसनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि सघाउँदै आएको छ । उसले बन्दोबस्तीका सामान तथा हतियार पनि सापटी दिने गरेको छ । सशस्त्र प्रहरीको मिसन मालीमा खटिन लागेकामा सेनाले एपिभीलगायत सामान सापटी दिएको छ । नेपाल प्रहरीले पनि नयाँ मिसनका लागि सेनासँग बन्दोबस्तीका सामान लिने सहमति गरेको छ ।

नयाँ मिसनमा खटिँदै सशस्त्र प्रहरी 

सशस्त्र प्रहरीले मात्र एक वर्षमा करिब एक करोड डलर भित्र्याउने गरेको छ । उसले गत आर्थिक वर्षमा ९७ लाख १६ हजार डलर भित्र्याएको थियो । अब मालीमा नयाँ मिसन तैनाथी हुन लागेकाले आगामी दिनमा राष्ट्रसंघबाट आउने शोधभर्ना बढ्ने सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापा बताउँछन् । 

सशस्त्र प्रहरीबाट एक सय ८० जनाको टोली दक्षिण सुडानमा खटिएको छ । यसबाहेक १४ जना अधिकृत अनपोल मिसनमा विभिन्न देशमा छन् । सशस्त्रको टोली केही दिनपछि मालीमा खटिने तयारी छ । जहाँ एक सय ४० जना खटिनेछन् । शान्ति मिसनमा सहभागिता बढाउन सशस्त्र प्रहरी नेतृत्वबाट पहल भइरहेको एसएसपी थापा बताउँछन् । 

एफपियू फर्काउने प्रयासमा नेपाल प्रहरी 
नेपाल प्रहरीबाट हाल विभिन्न देशमा ४६ जना प्रहरी अधिकृत कार्यरत छन् । उनीहरूमध्ये तीन उच्च अन्य देशका प्रहरी अधिकारीसँगको प्रतिस्पर्धामा छनोट भई प्रोफेसनल तहमा खटिएका छन् । एसपी अमरेन्द्रकुमार सिंह राष्ट्रसंघको मुख्यालयमा, एसपी गंगा पन्त लिबिया तथा डिएसपी किरणजंग कुँवर सुडानमा कार्यरत छन् । 

अन्य ४३ जना अनपोल मिसनमा खटिएका छन् । उनीहरूले मासिक करिब तीन हजार डलर भत्ता पाउँछन् । जस आधारमा प्रहरी अधिकारीले करिब २० लाख डलर वार्षिक ल्याउँछन् । यसअघि प्रहरीको दुईवटा एफपियू मिसन रहेकोमा हाल बन्द भइसकेको छ । नयाँ एफपियू मिसनका लागि प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए । 

नेपाल प्रहरीको एफपियू मिसन यसअघि हाइटी र सुडानमा रहेकामा राष्ट्रसंघको निर्णयअनुुसार दुवै मिसन बन्द भइसकेका छन् । पछि अवसर पाउँदा पनि समयमा बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा प्रहरीले मिसन गुमाएको थियो । शान्ति मिसनमा सहभागिता बढाउन राज्यको तर्फबाट पहल र पर्याप्त सहयोग हुन नसक्दा समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । 

सन् १९५५ मा संयुक्त राष्ट्रसंघ (युएन)को सदस्य बनेको तीन वर्षपछि नेपाली सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटिन थालेका हुन् । सन् १९५८ मा पहिलोपटक नेपाल शान्ति मिसनमा खटिएको हो । त्यतिवेला लेबनानमा पाँचजना सैन्य पर्यवेक्षकका रूपमा खटिएका थिए । अहिलेसम्म लेबनानमा नेपाली सैनिक खटिँदै आएका छन् ।

(आजको नयाँ पत्रिकामा यस समाचारसँगै प्रकाशित फोटोको क्याप्सन गलत पर्न गएकोमा क्षमा माग्दै सच्याइएको छ । - सम्पादक)

ad
ad