
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुरक्षाकर्मीले राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको लागुऔषध अफिम र गाँजाखेती फँडानी गरेका छन् ।
१३० बिघा क्षेत्रफलमा लगाइएको अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा फँडानी गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक सुमन बानियाँ र बलराम श्रेष्ठको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १४ देखि १६ माघसम्म अफिम र गाँजाखेती नष्ट गरेको हो ।
प्रहरी प्रवक्ता कार्कीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ का ९५ बिघा क्षेत्रफलमा लगाइएको अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको जानकारी दिए ।
यस्तै, कैलाश गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ३५ बिघा क्षेत्रफलमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको कार्कीले बताए ।