१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तिनकुनेस्थित बागमती पुलमा बन्न लागेको आर्क ब्रिजको फाउन्डेसन । फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ १५ आइतबार ०९:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पप्पु कन्स्ट्रक्सनले बिगारेको तिनकुने आर्क ब्रिजको फाउन्डेसन र सबस्ट्रक्चर कामै नलाग्ने, भत्काएर जगैदेखि निर्माण गरिँदै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ १५ आइतबार ०९:३७:००

आठ वर्षअघि नै ठेक्का पाएर पप्पु कन्स्ट्रक्सनले बिगारेको तिनकुनेस्थित बागमती नदी जोड्ने दुईवटा आर्क ब्रिजको काम जगदेखि नै थालिएको छ । पप्पुले फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गरिसके पनि पुरानो स्ट्रक्चर गुणस्तरीय नभएकाले भत्काएर पुनः बनाउन लागिएको हो । 

पुरानो ठेकेदार कम्पनीको लापरबाहीले आर्क ब्रिजको काम गुणस्तरहीन भएको पाइएपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रियाबाट सुरु गरिएको हो । यसअघि ०७१ मै पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएर पुल निर्माण कार्य सुरु गरेको थियो । तर, सबस्ट्रक्चर र र फाउन्डेसनको काम बिगारेपछि सरकारले पप्पुलाई काम रोक्न निर्देशन दिएको थियो । विभागको टोलीले गरेको अनुगमनका क्रममा ठेकेदारको लापरबाही देखिएपछि सडक विभागले ठेक्का नै तोड्यो । सडक विभाग सडक विस्तार आयोजनाअन्तर्गत नयाँ ठेक्का प्रक्रियाका लागि काम सुरु भएको हो । 

कृष्णनाथ ओझा प्रमुख, उपत्यका सडक विस्तार आयोजना
अब समयमै काम सकिने गरी ठेक्का लगाएका छौँ, ४२ हप्तासम्म काम नसकिए भुक्तानी चुक्ता नगर्न निर्देशन पनि दिएका छौँ  

०७१ मा ठेक्का पाएको पप्पु कन्स्ट्रन्सनले पुल फाउन्डेसन र सबस्ट्रक्चरको काम सकिएको दाबी गर्दै दुई वर्षअघि माथिल्लो भागको ढलान गर्ने तयारीसमेत गरेको थियो । तर, जमिन र सबस्टेसनको भाग कमजोर बनाएको पाइएपछि काम रोक्न निर्देशन दिइएको थियो । पुरानो फाउन्डेसन नै गलत भएकाले नयाँ ठेक्काबाट काम गर्दा पुरानो स्ट्रक्चर काम नलाग्ने उपत्यका सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए । उनका अनुसार २४ करोड ५९ लाख ६७ हजार रुपैयाँमा वाइपी किराँतेश्वर जेभीमार्फत पुल निर्माण कार्य थालिएको हो । 

४२ महिनामा सक्ने गरी ६ महिनाअघि ठेक्का प्रक्रिया अघि बढाइएको थियो । हाल पुरानो फाउन्डेसन र सबस्ट्रक्चर भत्काएर नयाँ बनाउने कार्य सुरु भएको ठेकेदार कम्पनीले जनाएको छ । ‘अब समयमै काम सकिने गरी ठेक्का लगाएका छौँ,’ उनले भने, ‘४२ हप्तासम्म काम नसकिए भुक्तानी चुक्ता नगर्न निर्देशन पनि दिएका छौँ ।’ उनका अनुसार एकापट्टिको स्ट्रक्चर भने काम लाग्ने देखिएको छ । तर, अन्य स्ट्रक्चर भने काम नलाग्ने भएकाले भत्काएर फाल्नुपर्ने उनको भनाइ छ । 

तिनकुने बागमती नदीमा चार लेनको दुईवटा मात्रै पुराना पुल छन् । तर, दायाँबायाँ दुवैतर्फका आर्क ब्रिज नबन्दा पिक–आवरमा सवारी जामको सास्ती हुने गरेको छ । ठेकेदार कम्पनीले काम सुरु गरेर लापरबाही गरेपछि सरकारले दुई वर्षअघि नै पप्पुसँग ठेक्का तोडेको थियो । त्यसपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइएर काम सुरु गरिएको हो । 

यसअघि ०७१ मा सडक विभागले तिनकुने र बिजुलीबजारको आर्क ब्रिज एकै समयमा निर्माण थालेको थियो । तर, बिजुलीबजारको पुलको काम करिब चार वर्षअघि नै सकिएर सञ्चालनमा आए पनि तिनकुनेको भने ठेकेदार कम्पनीको कारणले अलपत्र थियो । ठेकेदार कम्पनीले फाउन्डेसन र सबस्ट्रक्चरको काम गरे पनि गुणस्तरीय नभएपछि सरकारले रोकेको थियो । त्यतिवेला २१ करोड लागतमा ठेक्का लगाइएको थियो । 

पुल बनेपछि जामको सास्ती कम 
कोटेश्वर र नयाँबानेश्वरतर्फबाट आउने सवारीसाधनको चापका कारण तिनकुनेस्थित बागमती पुलमा जाम हुन्छ । सडक आठ लेन बनिसके पनि त्यसलाई वारपार जोड्ने दुईवटा पुल नबन्दा ओहोरदोहोरमा सास्ती हुने गरेको छ । ०७१ मै सुरु भएको बिजुलीबजारको आर्क ब्रिज निर्माण सकिएपछि त्यस क्षेत्रमा जामको सास्ती कम भए पनि सँगै निर्माण कार्य थालिएको तिनकुनेमा भने हालसम्म पनि आर्क ब्रिज बनेको छैन । नयाँ ठेकेदार कम्पनीले ४२ महिनामा आर्क ब्रिज तयार पारेपछि यहाँको ट्राफिक जामको सास्ती कम हुने आयोजनाले जनाएको छ । 

तिनकुने पुलमुनिदेखि करिडोर जोड्ने एकातर्फको सडक खुले पनि एकातर्फको भने बन्द छ । करिडोर सडक खोल्ने, कालोपत्रे गर्ने र हरियाली पार्ने जिम्मा सुविधासम्पन्न बागमती एकीकृत विकास समितिको होे । तर, समितिले पुलमुनि दायाँबायाँ करिडोर सडक नखोल्दा मुख्य सडकमा जामको सास्ती हुने गरेको छ ।