१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत ४ बुधबार ०७:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले पुल अलपत्र

Read Time : > 1 मिनेट
२०७७ चैत ४ बुधबार ०७:३५:००

गौर नगरपालिका र ईशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटमा बन्दै गरेको पुलको काम समयमा नसकिँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । पुल नबन्दा स्थानीय हिउँदमा बाँसको पुल र वर्षामा ढुंगाको सहाराले आवतजावत गर्न बाध्य छन् । 

सो पुल निर्माण गर्न २६ असार ०७१ मा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको सो पुल ६ वर्ष बित्दा पनि निर्माण सम्पन्न भएको छैन । लालबकैया नदीस्थित रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिका जोड्ने सो पुल २५ असार ०७४ मै सम्पन्न हुनुपर्ने थियो । तर, हालसम्म करिब ५० प्रतिशत मात्रै काम भएको छ ।

तत्कालीन सडक डिभिजन कार्यालय हेटौँडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा दुई सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेन्डर लिएर तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने लिखित गरी पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए । 

स्थानीय भन्छन्– जोखिम बढ्यो
निर्माण कम्पनीको ढिलासुस्तीले समयमा पुल निर्माण नहुँदा जोखिम बढेको स्थानीय बताउँछन् । ‘समयमा पुल नबन्दा ठूलो सास्ती भइरहेको छ,’ स्थानीय सञ्जय साहले भने, ‘लालबकैया नदी तर्न कठिनाइ हुने गरेको छ । जोखिम बढेको छ ।’ पुल नहुँदा डुंगाको सहाराले वारपार गर्नुपर्ने बाध्यता छ । ‘लालबकैया नदीको टिकुलियाघाटमा पटक–पटक डुंगा पल्टिने गरेको छ,’ साहले नयाँ पत्रिकासँग भने । पप्पु कन्स्ट्रक्सनले पुल बनाउन ढिला गरेपछि स्थानीयले आलोचना गरेका छन् । 

दुई वर्षअघि ढुंगा पल्टिँदा पाँचको मृत्यु

समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खापलगायत दर्जनौँ गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन हिउँदमा बाँसको पुल र वर्षायाममा जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ । सो स्थानमा ईशनाथ नगरपालिकाबाट अस्थायी पुल निर्माण गरेको भए पनि त्यो खोलाले बगाइसकेको छ । 

सो स्थानमा दुई वर्ष पहिला डुंगा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको थियो । ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले ठेकेदारले समयमा पुल निर्माण नगरेका कारण चार किलोमिटरमा पुगिने सदरमुकाम गौर पुग्न कि त भारतको बाटो प्रयोग गर्नुपर्ने, कि त २० किलोमिटर घुमेर पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

ठेकेदारमाथि राज्य उदार भयो : नगरप्रमुख गुप्ता
सम्झौताअनुसार निर्धारित समयमा पुल निर्माण नगर्दा पनि ठेकेदारमाथि कारबाही भएको छैन । राज्यले यस्ता ठेकेदारलाई कारबाही नगर्दा उल्टै उनीहरूको मनोबल बढेको स्थानीय बताउँछन् । गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले समयमा काम नगर्ने ठेकेदारमाथि राज्यले कारबाही नगरेका कारण समस्या उत्पन्न भएको बताए । ‘जसले सम्झौताअनुसार समयमा काम गर्दैन, त्यस्ता ठेकेदारलाई कारबाही गर्नुपर्छ,’ नगरप्रमुख गुप्ताले भने, ‘तर, यहाँ त ठेकेदारमाथि राज्य उदार देखिएको छ । त्यसैले पनि पुल बनेको छैन, स्थानीय सास्तीमा छन् ।’