
जागिर गर्नका लागि अन्तर्वार्ता दिन जाँदा कस्तो कपडा लगाउने ? धेरैलाई यो जिज्ञासा हुन्छ । तपाईंले केही कुरामा ध्यान दिनुभयो भने आफूलाई अन्तर्वार्तामा स्मार्ट रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ ।
मौसमअनुसारका कपडा
जाडो मौसममा तपाईं लङ कोट वा ब्लेजर क्यारी गर्न सक्नुहुन्छ । सर्टमा आइरन गर्न नभुल्नुस् । रंगिचंगी सर्ट नभएर एउटै कलरको सर्ट छान्नुस् । टाई पनि एकै कलरको लगाउनुस् । महिलाले पनि सकभर सर्ट÷पाइन्टमै जाँदा राम्रो हुन्छ । तर, यदि तपाईंलाई पाइन्ट लगाउन मन पर्दैन भने फर्मल साडीमाथि ब्लेजर लगाउन सक्नुहुन्छ । तपाईंले जिन्स पाइन्ट र त्यसमाथि सिम्पल कुर्था र ब्लेजर पनि लगाउन सक्नुहुन्छ । रंगिचंगी होइन, एउटै कलरको कुर्था वा साडी रोज्नुपर्छ ।
चम्किलो रङ नछान्नुस्
अधिक चम्किलो कपडा अन्तर्वार्ताका लागि राम्रो होइन । त्यसैले चम्किलो कालो, खैरो, रातो, पहेँलोलगायत गाढा रङका कपडा नछान्नुस् । तपाईंले आकासे रङको निलो, मरुन, पर्पललगायत रङका कपडा लगाउन सक्नुहुन्छ ।
गहना कम लगाउनुस्
कतिपय व्यक्ति गहनाका सौखिन हुन्छन् । तर, तपाईंले कानमा मुन्द्रा, हातमा बालालगायत गहना लगाउनु राम्रो मानिदैन । महिला र पुरुष दुवैले सकेसम्म कम गहना लगाउनुस् । यदि, विवाहित हुनुहुन्छ भने बिहेको औँठीसम्म लगाउन सक्नुहुन्छ ।