मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Wednesday, 02 September, 2026
२o७९ माघ ७ शनिबार o८:३९:oo
Read Time : > 1 मिनेट
ब्लग डिजिटल संस्करण

बाबा ! अब त्यो प्लेन आउँदैन?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार o८:३९:oo

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि छोरो (रितिक)ले पटकपटक सोधिरहेको यो प्रश्नको उत्तर मैले के भनेर दिने होला ?

बाबा ! अब त्यो प्लेन आउँदैन ? पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि मलाई छोरो (रितिक)ले सबैभन्दा बढी गरिरहेको प्रश्न हो, यो । २४ पुसमा रेसुंगा विमानस्थलमा डेमो फ्लाइट हुँदा ऊ मसँगै थियो । युटुबमा विमान उडेका धेरै भिजुअल हेर्थ्यो । तर, बाबुले त्यसभन्दा पहिले नजिकबाट विमान देख्ने अवसर पाएको थिएन । त्यसैले मैले विद्यालय छुटाएरै भए पनि त्यस दिन विमानस्थल पुर्‍याएको थिएँ । उसले त्यसवेलादेखि आकाशमा देख्ने सबै जहाजलाई रेसुंगा विमानस्थलमै आएको भन्ठान्थ्यो ।

मबाहेक नजिक भएका अरूलाई पनि प्लेन देख्नेबित्तिकै आकाशतर्फ देखाउँदै भन्थ्यो, ‘ऊ मेरो प्लेन,’ थप्दै भन्थ्यो, ‘अस्ति नै सिमचौर आथ्यो नि, हो त्यही हो ।’ पोखरा दुर्घटना पहिले उसले हरेक दिन भन्थ्यो– बाबा सिमचौर फेरि प्लेन कहिले आउँछ । फेरि आयो भने म पनि जाने हो है । म चुपचाप उसका कुरा सुन्थेँ । सकेसम्म उसका प्रश्नको रचनात्मक उत्तर दिन्थेँ ।

विमान आउने वा नआउने कुराले यो सानो बाबुलाई पनि ठूलो अर्थ राख्यो । सिमचौरमा विमान आएन भने त उसका लागि पनि ठूलो घात भयो । जब पोखरामा विमान दुर्घटनाको खबर बाबुले सुन्यो । मसँग उसले प्रत्येक घन्टा फरक–फरक प्रश्न गर्न थाल्यो । बाबुले टिकटक र युटुबका अपलोड भएका सबै भिडियो देख्यो । मलाई रेडियोबाट फर्किएपछि साँझ सोध्यो– बाबा त्यो प्लेन त हाम्रो सिमचौर आएको रै’छ । 

मैले होइन किन बाबु भनेर प्रश्न गरेँ । उसले युटुबको भिडियो देखाउँदै मलाई भन्यो– हेर्नुुस् त ठ्याक्कै छ । उसले अरू बुझ्ने कुरा भएन । विमानको रङ हेरेर रेसुंगा विमानस्थलमा आएको प्लेन हो भन्थ्यो । मैले पटक–पटक कन्भिन्स गर्न खोजेँ होइन भनेर । तर, ऊ अहिलेसम्म पनि त्यही हो भन्नेमै विश्वस्त छ । अचेल मलाई दैनिक सोध्छ– बाबा त्यो प्लेन आउँदैन ? बन्छ कि नाइँ । मैले आउँदैन भनेपछि निराश भएर रिसाउँछ, बन्दैन भने सोहीअनुसारको प्रतिक्रिया देखाउँछ ।

बाबुले विमानसँग जोडेर व्यक्त गरेका जिज्ञासा र उत्सुकताले मैले पनि केही कुरा सिकेँ र सम्झेँ । रेसुंगा विमानस्थलमा प्लेन आउँछ कि नाइँ ? मैले बाबुलाई पनि जवाफ दिइरहनुपर्नेछ । त्यसका लागि मैले पनि त सम्बन्धित निकायमा प्लेन आउँछ कि नाइँ सोध्नुपर्‍यो । मेरो बाबुले बाबालाई प्लेन आउला कि नाइँ भनेर भन्यो । तर, पोखरा दुर्घटनाले कैयौँ बाबुले बाबा नै भन्न पाएनन् । 

मेरो बाबुको त प्लेन आउने वा नआउने कल्पना र सपना मात्र हो । तर, विपनामै कैयौँ परिवारका बाबा–आमा, छोरा–छोरी, दिदी–बहिनी र आफन्त गुमे । मैले मेरो बाबुलाई प्लेन पर्खन भन्न सक्छु । त्यो आउला वा नआउला । मैले त्यो प्लेन होइन भनेर बुझाउँला । खयर केही छैन, रेसुंगा विमानस्थलमा बाबुका लागि अर्कै रङ भएको प्लेन आउला । तर, त्यो परिवारले बाबु मरेका छैनन् भन्न, पर्खिराख भन्न वा आउँदैन भन्न कसरी सक्लान्...