१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
पृष्ठभूमिमा काेशी अस्पताल र कुटपिटबाट घाइते भएका डा.आकाश यादव
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ५ बिहीबार ०९:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१६ वर्षमा १४० डाक्टरलाई कुटपिट र ज्यानको धम्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ५ बिहीबार ०९:१५:००

जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै कोसी अस्पतालका डा. आकाश यादवलाई बुधबार पीडितका आफन्तले कुटपिट गरे । यादवलाई कडा कानुनी कारबाहीको माग गर्दै बुधबार दिनभर अस्पताल परिसरमा आन्दोलित उनीहरूको कुटपिटबाट डा. यादव घाइते भएका छन् । यसअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साह ३ भदौमा प्रतिष्ठानकै कर्मचारीबाट कुटिए । छोराको उपचार गर्न साहले नमानेको भन्दै ती कर्मचारीले कुटपिट गरेका थिए । 

०६३ यता डेढ दशकमा साहजस्ता एक सय ४० चिकित्सकमाथि कुटपिट, ज्यान मार्ने धम्कीलगायत दुर्व्यवहार भएको संघको तथ्यांक छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्य दुर्व्यवहारका घटना त धेरै छन् । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ जारी भएसँगै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना रोकिने अपेक्षा गरिएको थियो । तर, ऐन संशोधनपछि जुम्लामा डा. साह कुटिए । चिकित्सक कुटिएको यो घटना ऐन संशोधनपछि चिकित्सक संघसम्म आइपुगेको पहिलो हो । 

०७८ मा मात्रै चिकित्सकमाथि कुटपिट र ज्यान मार्ने धम्कीका पाँच घटना भएका थिए । सोही वर्ष १३ माघमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहबाट ज्यान मार्ने धम्कीसहित उनी सवार गाडीमा आक्रमण भएको थियो । १३ साउन ०७८ मै अर्घाखाँची अस्पतालका चिकित्सक डा. कपिल गौतमलाई राष्ट्रिय सभाका पूर्वसदस्य चन्द्र खड्काले एम्बुलेन्सभित्रै थुनेका थिए । कोभिडका बिरामीको अक्सिजन मिलाइरहेका वेला ती बिरामीसँगै एक घन्टासम्म थुनेर अपशब्दसमेत प्रयोग गरेका थिए । अघिल्ला वर्षहरू ०७७, ०७६ र ०७५ मा चिकित्सक कुटपिट र दुर्व्यवहारका क्रमशः ४, १४ र १७ घटना भएको संघको तथ्यांक छ । 

‘कुनै पनि चिकित्सकले बिरामी मरोस् भनेर उपचार गर्दैन । उपचारका क्रममा भएको दुर्घटनालाई चिकित्सकको गल्ती भनेर कुटपिटमै उत्रिनेजस्ता दुर्व्यवहारका घटनामा कमी आउन सकेको छैन । यस्ता घटनाले स्वास्थ्य सेवामै प्रभाव पार्छ,’ चिकित्सक संघका महासचिव डा. बन्द्री रिजाल भन्छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७९ अनुसार स्वास्थ्य संस्थामा आगजनी तथा तोडफोड गर्ने वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी पुर्‍याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याएको देखिए मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने प्रावधान स्पष्ट पारिएको छ । त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्नेविरुद्ध पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान समेटिएको छ ।