१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
पर्यटकीय क्षेत्र गोदावरीमा रहेको गोदावरी मार्बल इन्डस्ट्रिजले निर्माण गरेको संरचना ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सम्झौता सकिएको १४ वर्षसम्म पनि गोदावरी मार्बलले हटाएन संरचना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:५७:oo

घरटहरा भत्काउन वडा कार्यालयले दिएको निर्देशन अटेर

ललितपुरको पर्यटकीय क्षेत्र गोदावरीमा गोदावरी मार्बल इन्डस्ट्रिजले निर्माण गरेका अवैध घरटहरा भत्काउन अटेर गरेको छ । अवैध संरचना भत्काउन गोदावरी नगरपालिका वडा नम्बर ३ ले पटक–पटक निर्देशन दिए पनि करिब एक हजार रोपनीभित्र रहेका विभिन्न घरटहरा र संरचना भत्काउन इन्डस्ट्रिजले अटेर गरेको हो ।

गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे (राज)ले संरचना भत्काउन इन्डस्ट्रिजले अटेर गरेको बताए । उनका अनुसार इन्डस्ट्रिजले सम्झौता गरेभन्दा बाहिरसमेत ओगटेर घरटहरा बनाएको र सम्झौता सकिँदा पनि ठाउँ छाडेको छैन ।

इन्डस्ट्रिजले ३० वैशाख ०२१ मा खानी तथा भूगर्भ विभाग र वन तथा भूसंरक्षण मन्त्रालयसँग अनुमति (सम्झौता) लिएर व्यवसाय सञ्चालन गरेको थियो । ०६५ मै सम्झौता म्याद सकिएको थियो । तर, ०७२ सालसम्मै मार्बल उत्पादन भइरहेको थियो । वातावरणमा असर गरेको भन्दै ३ वैशाख ०७२ मा सर्वोच्च अदालतले बन्द गर्न आदेश दिएपछि मात्रै मार्बल तथा अन्य उत्पादन बन्द भएको थियो । मार्बल उत्पादन बन्द भए पनि इन्डस्ट्रिजले ठाउँ भने ओगटिरहेको छ । 

लामो समयदेखि इन्डस्ट्रिजले पयर्टकीय क्षेत्रको जग्गा दुरुपयोग गर्दै आइरहेको वडाअध्यक्ष घिमिरेको भनाइ छ । वर्षौँअघि जग्गा भाडामा लिएर इन्डस्ट्रिजले व्यवसाय गर्दै आएको थियो, तर त्यसलाई हटाएर पर्यटकीय क्षेत्रलाई व्यवस्थित पार्ने वडाको योजना भए पनि घरटहरा नहटाउँदा योजना अलपत्र परेको वडाध्यक्ष घिमिरेले बताए । ‘ठूलो क्षेत्रफल ओगटेर वर्षौँदेखि घरटहरा बनाइएको छ, यसले गर्दा यहाँको प्रकृति र पर्यटकीय क्षेत्रमा असर परिरहेको छ,’ उनले भने, ‘यसको सम्झौता पनि सकियो, त्यसैले घरटहरा हटाउन खोजिरहेका छौँ ।’

उनका अनुसार वडा कार्यालयले यसअघि पाँचदिने सूचना दिए पनि इन्डस्ट्रिजले घरटहरा हटाएको छैन । इन्डस्ट्रिजले त्यहाँ २० भन्दा बढी संरचना बनाएको छ । प्राकृतिक र पर्यटकीय क्षेत्र ओगटेर इन्डस्ट्रिजले बनाएका संरचना अब हटाइछाड्ने वडाध्यक्ष घिमिरेले बताए । वडा कार्यालयले भत्काउने लिखित निर्देशन दिएलगत्तै एक साताअघि इन्डस्ट्रिजले तत्काल भत्काउन नसकिने जवाफ वडालाई पठाएको छ । अन्य व्यवसाय बन्द भए पनि इन्डस्ट्रिजले ओगटेको ठाउँ र संरचना हटाएको छैन । जसका कारण गोदावरी क्षेत्रको पर्यावरणमा समेत असर परेको छ । 

ad
ad