कखरा प्री–स्कुलले १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी सन्तोषीलाई कखराले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा सम्मान गरेको हो ।
कखराले यसअघि सागका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर तथा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई पनि सम्मान गरेको थियो । धादिङकी सन्तोषीलाई कखराका प्रबन्ध निर्देशक उमानाथ निरौला र प्रिन्सिपल निशा घिमिरेले सम्मानपत्र प्रदान गरे ।
सम्मानित सन्तोषीले कखराद्वारा आयोजित खेलकुद प्रतियोगितामा सहभागी बालबालिकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । कखराकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदका माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, इमान र प्रसिद्धिले कलिला बालबालिकाहरूलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने विश्वास व्यक्त गरिन् ।