मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ पौष २० बुधबार ०९:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुरमा जंगली हात्तीको आक्रमण रोकिएन, स्थानीय त्रसित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ पौष २० बुधबार ०९:१९:००

कञ्चनपुरमा जंगली हात्तीको आक्रमण रोकिएको छैन । जंगली हात्तीको बथानले अन्नबाली, भौतिक संरचनाको साथै मानवमाथि निरन्तर आक्रमण गरिरहेको छ । 

गत २० मंसिरमा जंगली हात्तीको आक्रमणमा परी बेदकोट नगरपालिका– १ हात्तीथलाकी ६९ वर्षीया हीरादेवी सार्कीको मृत्यु भयो । हात्तीले मानिस मारेको एक महिना पुरा नहुँदै १९ पुसमा शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीका ४४ वर्षीय युवक जितबहादुर भाटमाथि आक्रमण गरेको छ । भाटको ज्यानै लिने गरी आक्रमण भए पनि भाट गम्भीर घाइते मात्र भएका छन् ।  एक मात्रै बयस्क हात्ती गाउँ पसेर भाटको घरमा क्षति पुर्‍याउनुका साथै भाटलाई लखेटीलखेटी घाइते बनाएको छ । 

बेलौरी–कलुवापुर सडकखण्डअन्तर्गत कालागौँडीमा रहेको भाटको घरमा मंगलबार बिहान ७ बजेतिर आएको हात्तीले क्षति पुर्‍याउनुका साथै भाटलाई सडकपारिसम्म लखेटेर घाइते बनाएको घरपरिवारले बताएका छन् ।  हात्तीको आक्रमणमा परी घाइते भएका भाटको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते भाटका दाजु रामबहादुर भाटले बिहान घरकै आँगनमा आएको हात्तीले घर भत्काउन सुरु गरेसँगै भाग्ने क्रममा लखेटेर घाइते बनाएको बताए ।

‘हात्ती देखेर घरबाट भाग्ने क्रममा हात्ती पनि भाइको पछि गएर सडकपूर्वतिर खाडलमा पुर्‍याएर छाड्यो,’ उनले भने, ‘त्यसपछि हात्ती नजिकै उखुबारीमा पस्यो, हामी अस्पतालतिर आयौँ । अहिले भाइको उपचार भइरहेको छ ।’ हात्तीको आक्रमणमा परी भाटको छाती, हात, खुट्टामा चोट लागेको छ । 

यसबीचमा जंगली हात्तीले कञ्चनपुरका विभिन्न गाउँबस्तीमा अन्नबाली एवं भौतिक संरचनामाथि क्षति पुर्‍याएको छ । भारतीय दुधुवा नेसनल पार्कबाट लालझाडी हुँदै कञ्चनपुरका वन, निकुञ्जबाट गाउँबस्तीमा प्रवेस गर्ने हात्तीले मानवमाथि आक्रमण गर्नुको साथै अन्नबाली र भौतिक संरचना ध्वस्त पारिदिएको छ । 

पुस पहिलो साता लालझाडी गाउँपालिका– ४ निवासी मीना साउद, हरिलाल राना, केशरबती रानाको घरमा क्षति गरेको थियो ।  पुस दोस्रो साता पुनर्वास नगरपालिका– ९ सीताबस्तीका केही स्थानीयको अन्नबाली नष्ट गरिदिएको छ ।  

सीताबस्तीका प्रेम विष्टको १० कट्ठाको उखु, पदम परियार राजेन्द्र सुनार डल्ले सुनार, धनु सुनार, नारायण वड र कलक विकको १०–१० कट्ठा, पदम विकको १ बिघा, डिल्ली कोली र सूर्य विकलगायत किसानको गहुँ बाली नष्ट गरिदिएको स्थानीयले बताएका छन । पछिल्ला वर्षहरूमा हात्तीले कञ्चनपुरमा मानवीयसहित भौतिक, अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । 

जंगली हात्तीबाट हुने क्षतिको न्यूनीकरणका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल नहुँदा हात्तीले निरन्तर आक्रमण गर्दै आएको छ । पुनर्वासका हात्तीपीडित पदम सुनारले पछिल्ला वर्षहरूमा जंगली हात्तीको आक्रमण नरोकिएपछि आफूहरू सबैभन्दा बढी मारमा पर्दै आएको बताए । 

‘हामी हात्ती आउने मूल बाटोमा छौँ,’ उनले भने, ‘हात्तीबाट हुने क्षति रोक्न कुनै पनि निकायबाट पहल हुँदैन, खालि भाषण र ठुल्ठूला कुरा मात्र गर्छन् ।’ देशमा तीन तीन तहको सरकार भए पनि हात्तीपीडितका लागि कुनै पनि सरकारले चासो र चिन्ता नगरेको पीडितको गुनासो छ । दुधुवा नेसनल पार्क वन्यजन्तुपीडित खाद्य अधिकार प्रवर्द्धक श्याम परियारले हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि कुनै पनि निकायबाट प्रभावकारी पहल नहुँदा हात्तीले कञ्चनपुरमा शृंखलाबद्ध ढंगबाट आक्रमण गरिरहेको बताए ।

पुनर्वास नगरका प्रमुख तोयाप्रसाद शर्माले हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि नगरपालिकाले पहल गरिरहेको बताए । ‘हामीले चालू आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा इलेक्ट्रिोनिक तारबार लगाउन २० लाख बजेट विनियोजन गरेका छौँ,’ मेयर शर्माले भने, ‘पीडितलाई राहत दिने काम पनि अघि बढाउँछौँ ।’