१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आहा रारा गोल्ड कप : उद्घाटन खेलमै आयोजकलाई हराउँदै धरान क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:o८:oo

२२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता २०७९ को उद्घाटन खेलमा विजयी हुँदै धरान फुटबल क्लव प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा तय गर्दा आयोजक भने पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ।

पोखरा रंगशालास्थित फुटबल स्टेडियममा बिहीबार सम्पन्न खेलमा धरानको जितमा एक मात्र गोल निर्णयक बन्यो। खेलको चौथो मिनेटमा खेलका म्यान अफ दी म्याचसमेत रहेका प्रकाश बुढाथोकीले गरेको एक मात्र गोल टोलीको जितका लागि पर्याप्त बन्यो। 

सहाराका भागवत चौधरीले डिबक्स क्षेत्र नजिकै धरानका प्रकाश बुढाथोकी लडाएपछि खेलका मुख्य रेफ्री नवीन्द्र महर्जनले धरानलाई फ्रिकिकको अवसर दिएका थिए।

सोही फ्रिकिकलाई उपयोग गर्दै बुढाथोकी बललाई सीधै जाली चुमाउन सफल भएका हुन्। अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको घरानले सेमिफाइनल प्रवेशका लागि १६ गते हुने खेलमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबसँग भिड्नेछ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा सुरु प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।
प्रतियोगितामा २२औँ संस्करणमा आइपुग्दा दुई टोलीबीचको यो तेस्रो भेट हो। यसअघि २०६७ मा खेलेका दुवै खेल सहाराले जितेको थियो। 

१२ वर्षपछि तेस्रोपटक पुनः उद्घाटन खेलमा भेट हुँदा धरानले यसअघिका दुई खेलमा भएको हारको बदला लिनसमेत सफल भएको छ। खेलको पहिलो हापमा धरान र दोस्रो हापमा सहारा केही हाबी भएका थिए। धरानको तुलनामा सहाराको फिनिसिङमा केही कमजोरी देखिएको थियो। खेलको सुरुमै गोलको सामना गर्नुपरेपछि आयोजक सहारा दबाबमा परेको थियो। पहिलोभन्दा दोस्रो हापमा केही सुधारिएको खेल प्रस्तुत गरे पनि गोल गर्न नसक्दा सहारा पहिलो खेलबाट बाहिरिन बाध्य भयो। 

यसअघि खेलको २४औँ मिनेटमा सहाराका अमिन रावलले गरेको हेड खेर गएको थियो। पहिलो हापको इन्जुरी समय ४५+१ मा सहाराका भागवत चौधरीले हानेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो भने दोस्रो हापको इन्जुरी समय ९०+२ मा अनिल गुरुङको प्रहार विपक्षी किपर सौरभ बरालले पन्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए।

जितपछि धरानका प्रशिक्षक सागर घिमिरेले खेलको सुरुवातमै अग्रता लिनु जितका लागि प्रमुख आधार बनेको बनाए। टोलीका खेलाडीले समेत योजनाअनुसार मैदानमा खेलेकाले जितका लागि थप सहज भएको भनाइ उनको थियो।

अब हुने दोस्रो खेलमा टोलीमा केही सदस्यहरू थप हुने हुँदा आजको भन्दा राम्रो खेल प्रस्तुत गर्ने बताए। हारपछि सहाराका प्रशिक्षक प्रलाद हिराचनले सुरुमै गोल खाँदा खेलाडी केही दबाबमा परेर खेल्नुपरेको बताए। 

एक विदेशीसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिता २३ पुससम्म चल्नेछ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख, उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटरसँगै उत्कृष्ट पाँच विधाका खेलाडीहरूले नगदसँगै ट्रफी पुरस्कार पाउनेछन्। 

प्रतियोगिता उदघाटन समारोहमा वर्ष उत्कृृष्ट फुटबलरबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई नगद ५० हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो। शुक्रबारको खेल नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच हुनेछ।
 
 

ad
ad