१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१७ पुसदेखि पोखराको नयाँ विमानस्थलबाट आन्तरिक उडान हुने

पोखरामा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सेफ्टी सेवा शुल्कमा पूरै छुट दिइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२३:oo

१७ पुसदेखि पोखरामा हुने सबै आन्तरिक उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)बाट हुने भएको छ । देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष (१७ पुस)मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्दै छन् । तर, उद्घाटनको दिन पोखराबाट अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनपछि पोखरा उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीहरूले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक तयारीसमेत गरिसकेका छन् । 

बुद्ध एयरले पोखराबाट बनारस उडान गर्ने तयारी गरे पनि भारतले अनुमति नदिँदा उद्घाटनको दिन अन्तर्राष्ट्रिय उडान नहुने भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान गर्न तयारी पूरा गरिसकेको जानकारी गराउँदै बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै भारतको बनारस उडान सुरु गर्ने जनाएको छ । भारतबाट अनुमति पाउनेबित्तिकै बुद्धले भिएफआर उडान गर्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पोखरा विमानस्थलमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) फ्लाइट गरेको एरो थाईले अझै पूर्ण प्रतिवेदन बुझाइसकेको छैन । एरो थाईको प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान गर्न तयार भएको जानकारी गराउन एरोनटिकल इन्फर्मेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) जारी गर्नेछ । एयरर्‍याकमा नयाँ विमानस्थलको हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसन, विमानस्थलमा उपलब्ध सेवासुविधालगायत विस्तृत जानकारी समेटिने क्यानले जनाएको छ ।

एयरर्‍याक जारी भएको ५६ दिनपछि अन्तर्राष्ट्रिय विमानस्थलले वैधता पाउने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । त्यसपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले पोखरा उडानका लागि चासो देखाउने र आवश्यक अध्ययन गरी पोखरामा उडान थाल्ने क्यानको विश्वास छ । एयरर्‍याक जारी भएर विमानस्थलले वैधता पाएपछि बल्ल आइएफआर उडान हुने बताइएको छ । 

अन्तर्राष्ट्रिय उडानलाई छुटैछुट
क्यानले पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न एक वर्षसम्म छुटैछुट दिने निर्णय गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सेफ्टीमा शतप्रतिशत छुट दिने क्यानका प्रवक्ता निरौलाले बताए । त्यस्तै, ग्राउन्ड ह्यान्डलिङमा विशेष छुट दिनका लागि निगमसँग समन्वय गरिने पनि उनले बताए । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले एक वर्षसम्म ५० प्रतिशत शुल्क छुट गरेको छ । यस्तै, क्यानले पनि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सेफ्टी सेवा शुल्क पूरै छुट दिएको छ ।

 आन्तरिक वायुसेवा तयारी अवस्थामा 
१७ पुसदेखि नै पोखरामा हुने सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट गर्न क्यानले सूचना प्रकाशित गरिसकेको छ । क्यानको निर्देशनपछि सबै वायुसेवाले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न तयारी गरिसकेको बताएका छन् । पोखरामा दैनिक सातवटा उडान गर्दै आइरहेको यती एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक तयारी गरिसकेको बताएको छ ।

र्‍याम्प बस राख्ने, कर्मचारीलाई तालिम दिने, काउन्टर बनाउने, अफिस रेन्टमा लिने, नयाँ सेड्युल बनाउने सबै काम भइसकेको यतीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आन्तरिक यात्रुलाई जहाज र टर्मिनल भवनमा आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ ।

बुध्द एयर पनि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्न पूरा तयारी गरेको जनाएको छ । विमानस्थलमा बुध्द एयरका लागि चेक–इन काउन्टर नम्बर ३, ४ र ५ तोकिएको छ । नयाँ विमानस्थलमा अभ्यस्त हुन केमी समय लाग्ने र लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा यात्रु दुई घन्टाअगाडि नै विमानस्थल पुगी चेक–इन गर्न बुद्धले यात्रुलाई आग्रहसमेत गरेको छ ।

 नयाँ विमानस्थल भौतिक पूर्वाधार सम्पन्न रहेको छ । आइएफआर प्रविधिका कारण पोखरामा पनि रात्रिकालीन उडान गर्न सकिनेछ । क्यानले राति उडान गर्न दिनेबित्तिकै उडान थपेर १० पुर्‍याउने यतीका प्रवक्ता बर्तौलाले बताए । बुद्धले पनि २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान गर्ने जनाएको छ ।

ad
ad