Skip This
राजनीतिमा युवा विशेषत: महिला पूर्वाग्रहको सिकार बन्दै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
एम्मा क्रिवी
२o८१ बैशाख २६ बुधबार १o:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीतिमा युवा विशेषत: महिला पूर्वाग्रहको सिकार बन्दै 

Read Time : > 2 मिनेट
एम्मा क्रिवी
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:o४:oo

देश/विदेश

विशेषतः युवा, जातीय अल्पसंख्यक र श्रमिक महिलालाई हजारौँ वर्षदेखि श्वेत पुरुषको प्रभुत्व रहेको राजनीतिमा घुसपैठियाका रूपमा लिइन्छ

एम्मा क्रिवी 

अन्तर्राष्ट्रिय राजनीतिमा दुई प्रधानमन्त्रीले आ–आफ्ना राष्ट्रबीचको सम्बन्धबारे छलफल गर्न भेट्नु सामान्य हो । तर, न्युजिल्यान्ड र फिनल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डन र सान्ना मरिनले हालैको शिखर सम्मेलनमा प्रतिरक्षामै उत्रिनुपरेको थियो, जब एक पत्रकारले दुवैलाई युवा र महिला नेता भएकाले भेट्नुभएको हो भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्रीका रूपमा, आर्डन र मरिनले वास्तवमा राजनीतिमा अवरोध तोडेका छन् । तर, पत्रकारको प्रश्नले तेस्र्याएको पूर्वाग्रहको लामो इतिहास छ । युवा महिलाले सधैँ आफ्नो अनुभव र शासन गर्ने क्षमतामा बारम्बार शंकाको सामना गरेका छन् । दिवंगत महारानी एलिजाबेथ द्वितीयले पनि यो पूर्वाग्रहको अनुभव गरेकी थिइन् । इतिहासकार केट विलियम्सका अनुसार महारानीको राज्याभिषेक हुँदा तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलले ‘यी त बालिका’ हुन् र पदका लागि अनुभवी छैनन् भन्दै टिप्पणी गरेका थिए । यो अवस्थामा यदि २५ वर्षीय राजा हुन्थे भने उनले के टिप्पणी गर्थे होला ? भन्न गाह्रो छ ।   

उमेरसँग बेलायती समाजको जटिल सम्बन्ध छ । वृद्ध मानिसलाई बुद्धिमान र अनुभवीका रूपमा हेरिए पनि तिनलाई मानसिक एवं शारीरिक रूपमा कमजोर भनेर पनि हेरिन्छ । युवालाई रचनात्मकका रूपमा हेरिन्छ, तर टुंगो नभएको वा लापरवाहका रूपमा पनि हेरिन्छ ।  

निःसन्देह यी केवल आम बुझाइ हुन् । यद्यपि, यी बुझाइले राजनीतिक र कार्यस्थलको वातावरणमा प्रभाव पारिनैराखेको छ जसले ज्येष्ठ नागरिकलाई आफूलाई विद्वान् अगुवाका रूपमा उभ्याउन सजिलो बनाइदिएको छ । सम्भवतः यही कारणले बेलायती संसद्मा वृद्ध सांसदको प्रभुत्व छ । हाउस अफ कमन्स तल्लो सदनका तुलनामा हाउस अफ लर्ड्स माथिल्लो सदनमा यो प्रवृत्ति बढी देखिन्छ । कमन्समा विगत ५० वर्षमा हामीले ६०–६९ वर्ष उमेर समूहका सांसदको संख्या १०५ सम्म बढेको पाएका छौँ । यसबीच १८–२९ वर्ष उमेर समूहका सांसदको संख्या पनि बढेको छ । यद्यपि, ती सांसदको संख्या २१ मात्र छ ।

हाउस अफ कमन्सका केही युवा सांसद विशेष गरी महिलालाई कमजोर ठानेर संरक्षण गर्ने काम गरिन्छ अथवा हियाइन्छ । यो हियाइ संसद्मा हुने पूर्वाग्रह, अविश्वसनीय बेवास्ता र सक्रिय द्वेषका रूपमा प्रकट हुने गर्छ । केही गैरश्वेत विशेषतः महिला सांसदले मलाई बारम्बार अन्तर्वार्तामा सुरक्षा अधिकारी र कहिलेकाहीँ नेताले समेत आफूलाई कर्मचारी वा आगन्तुकका रूपमा हेर्ने गरेको बताएका थिए । धेरै नेताझैँ यदि तपाईंं पहिले नै हीनताबोधसँग जुझिरहनुभएको छ र तपाईं उल्लेख गरिएझैँ बाहिरिया बन्नुहुन्छ भने कति असहज परिस्थिति निम्तिन्छ होला ? यसबाहेक राजनीतिमा आएका महिला प्रायः डरलाग्दो अनलाइन उत्पीडनको सिकार बन्ने गर्छन् । २० वर्षको उमेरमा निर्वाचित सबैभन्दा कान्छी सांसद म्हाइरी ब्ल्याकले सन् २०१८ मा लिंगभेदलाई द्वेषयुक्त अपराध (हेट क्राइम) घोषणा गर्न सदनलाई आग्रह गर्दै बहसमा ‘यौनजन्य र स्त्रीद्वेषी दुर्व्यवहार वास्तवमा नरम हुँदैन... मलाई धेरैपटक चिन्तित नहुन भनेर आश्वस्त गरिएको छ किनभने (तिनका अनुसार) म यति कुरूप छु कि कसैले मलाई बलात्कार गर्न चाहँदैन । यी सबै अपमान मैले व्यहोर्नुको कारण म एक महिला हुनु हो,’ भनेकी थिइन् ।

दुर्व्यवहार हिंसात्मक मात्रै हुनुपर्दैन हियाउने गरी गरिएको संरक्षणवादी दुर्व्यवहार पनि गम्भीर ठहरिन सक्छ । आर्डनसँग भेट हुनुभन्दा केही महिनाअगाडि फिनल्यान्डकी नेता मरिन (३७ वर्षीया मरिन विश्वको सबैभन्दा कान्छी राष्ट्र प्रमुखमध्ये एक हुन्) एक नाइट क्लबमा नाचेको र गीत गाएको भिडियो बाहिरिएपछि आलोचनाको चपेटामा परेकी थिइन् । अन्तर्राष्ट्रियस्तरको आलोचना र राजनीतिक दबाबका कारण मरिन लागुऔषध सेवन गरे–नगरेको परीक्षण गराउन पनि बाध्य भइन् । नतिजा नेगेटिभ (प्रयोग नगरेको) देखिए पनि उनको व्यवहारलाई उद्दण्ड भनेर आलोचना गरियो, जब कि उनी असल नर्तकी थिइन् । 

सबै नेता विपक्षीबाट आफूबारेको हानिकारक सामग्री चुहावट हुने डरले असुरक्षित हुन्छन्, तर मरिनको आलोचना विशिष्टता उनी एक युवती हुनुरहेको छ । यो आलोचनाको पछाडि युवती जतिखेर पनि रमाइलो गर्न खोज्छन् र गम्भीर हुँदैनन् भन्ने पूर्वाग्रहबाट निसृत छ । राजनीति गम्भीर मानिन्छ, यद्यपि राजनीति संसारका अधिकांश मुलुकमा पुरुषको संरक्षणमा रहेको देखिन्छ । 

समाजशास्त्री निर्मल पुवारका अनुसार महिला विशेषतः युवा, जातीय अल्पसंख्यक र श्रमिक वर्गका महिलालाई हजारौँ वर्षदेखि श्वेत पुरुषको प्रभुत्व रहेको राजनीतिमा घुसपैठियाका रूपमा लिइन्छ । तीव्र शक्तिसंघर्ष हुने संसद्जस्ता स्थानमा उमेर र लैंगिकताका आधारमा हुने सामाजिक असमानता फैलिन पाउँछन् । उमेर र लैंगिकताका आधारमा हुने असमानतालाई नेता वा आसेपासेले हियाउन, आरोप लगाउन र बहिष्कार गर्न प्रयोग गर्छन् । तर, पूर्वाग्रहविपरीत अवस्थाको साझा अनुभवलाई एन्टिडोट अर्थात् औषधि बनाउन सकिन्छ । मरिनप्रति ऐक्यबद्धता जनाउँदै फिनल्यान्ड र डेनमार्कका महिलाले आफूले नाचेको भिडियो अपलोड गरेका थिए जुन स्त्रीद्वेष र उमेरका आधारमा हुने पूर्वाग्रहविरुद्ध लक्षित थियो ।  

अहिले जब वृद्ध डिजिटल संसारमा अद्यावधिक रहन संघर्ष गरिरहेका छन् र जलवायु परिवर्तन (जसको प्रभावले वृद्धलाई कम असर गर्नेछ)को अत्यावश्यकतामा अभाव देखिँदै छ तब मन परे वा नपरे पनि राजनीतिमा युवालाई ठाउँ दिनैपर्छ । हामीले युवा राजनीतिज्ञलाई हेर्ने सार्वजनिक दृष्टिकोणलाई सहिष्णु बनाउनेतर्फ लाग्नुपर्छ । 

(क्रिवी एसओएएस युनिभर्सिटी अफ लन्डनकी सामाजिक मानवशास्त्रकी प्राध्यापक हुन्) द कन्भर्सेसनबाट

ad
ad