१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२१ मंसिरमा सर्वोच्चमा उपस्थित चार्ल्स शोभराज
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o६:o२:oo
Read Time : > 9 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१९ वर्षपछि जेलमुक्त हुँदै चार्ल्स शोभराज 

Read Time : > 9 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:o२:oo

आज अध्यागमनलाई बुझाउने, १५ दिनभित्र स्वदेश पठाइने

शोभराजले २८ मंसिर ०३२ मा अमेरिकी नागरिक कोनी ब्रोन्चिजको काठमाडौंमा र सोही वर्षको १ पुसमा क्यानेडियन नागरिक लउरेन्ट क्यारिरेको भक्तपुरको चित्तपोलमा हत्या गरेका थिए । बहुमूल्य धातुको कारोबारको प्रलोभनमा उनीहरूको पासपोर्ट हात पार्न त्यसरी हत्या गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ । घटनाको २८ वर्षपछि नेपाल आउँदा उनी पक्राउ परेका थिए । 

१९ वर्षदेखि नेपाली जेलमा रहेका विश्वकै कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज बाँकी नौ महिना कैद छुट पाएर बिहीबार जेलमुक्त हुने भएका छन् । दुईजनाको हत्या र एकको हत्या प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर भएका उनलाई सर्वाेच्च अदालतले स्वास्थ्यावस्था र उमेरलाई ध्यानमा राख्दै तत्काल छाड्न बुधबार आदेश दिएसँगै उनी जेलमुक्त हुने भएका हुन् । 

बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वाेच्चले उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन अदालतको आदेश छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले दिएको संक्षिप्त आदेशमा भनिएको छ, ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ । सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनू ।’ 

सर्वाेच्चको आदेशका आधारमा जिल्ला अदालत भक्तपुरबाट अन्य मुद्दामा थुनामा राख्नु नपर्नेसम्बन्धी पत्र नआएकाले बुधबार छाड्न नसकिएको केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए । ‘सर्वाेच्चको आदेशको बोधार्थ आए पनि जिल्ला अदालतबाट पत्र आएन,’ उनले भने, ‘बिहीबार पत्र आएपछि उनलाई अध्यागमन विभागमा बुझाउँछौँ ।’ कैद बसेर छुटेको विदेशी नागरिकलाई अध्यागमनमार्फत निष्कासन गर्ने कानुनी व्यवस्था छ । 

कारागारले अध्यागमनमा बुझाएपछि निष्कासनका लागि केही दिनको प्रक्रिया लाग्नेछ । उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ । जरिवाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ । एक साताभित्र यस्तो प्रक्रिया पूरा हुने विभागका एक अधिकारी बताउँछन् । 

७८ वर्षीय शोभराजलाई दुईवटा कर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) र ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद सजाय भएको थियो । सो सजाय एकीकृत गरी उनलाई समग्रमा २० वर्ष जेल बस्नुपर्ने गरी अदालतले कैदी पुर्जी दिएको थियो । सो आधारमा शोभराजको कैद अवधि अझै नौ महिना थियो । पूरा सजाय भुक्तान गरेको अवस्थामा उनी १ असोज ०८० मा मात्रै रिहा हुने थिए । तर, सर्वाेच्चको आदेशले उनको उक्त कैद छुट भएको छ । 

शोभराजले आफू कैदमुक्त हुनुपर्ने दाबीसहित ९ मंसिरमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनले ६५ वर्षमाथिका कैदीले पाउने सुविधा माग गरी रिट दायर गरेका थिए । बन्दीप्रत्यक्षीकरणको उक्त रिटमाथि सर्वोच्चबाट आदेश जारी भएको हो । 

०६० मा पक्राउ परेका शोभराजले १९ वर्ष नेपालमा कैद भुक्तान गरिसकेका छन् । शोभराजका कानुन व्यवसायीले उनलाई कारागार नियमावली, २०२० को नियम २९ (२)(क) बमोजिमको सुविधा दिनुपर्ने जिकिर गर्दै छाड्न माग गरेका थिए । जसमा ६५ वर्षमाथिका कैदीलाई ७५ प्रतिशसम्म कैद सजाय छोट्याउन सकिने प्रावधान छ । इजलासले सोही नियम टेक्दै रिहा गर्न आदेश दिएको हो । उक्त नियममा असल चालचलन भएका कैदीको कैदको सजाय छोट्याउने व्यवस्था छ । २९ (१)(क) मा छ, ‘...असल चालचलन भएका ६५ वर्ष उमेर पुगेका कैदीहरूको हकमा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन वा दुवै आँखाले नदेख्ने वा दुवै खुट्टा नचल्ने वा अंगभंग भई ओछ्यान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा बाँकी कैदको सजाय छोट्याउन सकिनेछ ।’ यही नियम टेक्दै उनलाई तत्काल रिहा गर्न सर्वाेच्चले आदेश दिएको हो । 

शोभराजका तर्फबाट वरिष्ठ अधिवक्ताहरू लोकभक्त राणा तथा रामबन्धु शर्माले बहस गरेका थिए । शकुन्तला थापा र निहिता विश्वासले पनि शोभराजको पक्षमा बहस गरेका थिए भने सहन्यायाधिवक्ता लोकराज पराजुलीले उनलाई छाड्न नहुने भन्दै सरकारका तर्फबाट बहस गरेका थिए । निहिता शोभराजकी ‘श्रीमती’ हुन् । उनीहरूले जेलभित्रै १४ वर्षअघि बिहे गरेका थिए । 

यसअघि ११ मंसिरमा उनको रिटमा कारण देखाऊ तथा बन्दीसहित उपस्थित हुने आदेश भएको थियो । त्यसपछिका ४ पेसीमा हेर्न नमिल्ने इजलासमा उक्त रिट परेको थियो । बुधबार भने न्यायाधीशद्वय मल्ल र श्रेष्ठको इजलासले छाड्न आदेश दिएको हो । असल चालचलन भएको र उनी वृद्ध भएको आधारमा उनलाई कैद सजाय छोट्याउन सर्वाेच्चले आदेशमा भनेको छ । 

शोभराजका विषयमा पाटन उच्च अदालत र स्वयं सर्वोच्च अदालतले पनि विभिन्न समयमा आदेश दिएको थियो । शोभराजले पटकपटक आफू रिहा हुनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै आएका थिए । पाटन उच्च अदालतले समेत २७ वैशाख ०७३ मा उनलाई गोलघरभित्र नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्न आदेश दिएको थियो । बन्दीमाथि गरिने व्यवहारसम्बन्धी न्यूनतम मापदण्ड मण्डेला नियम, २०१५ विपरीत व्यवहार गरिएको अदालतको ठहर थियो । तर, अदालतको यो आदेश पनि सरकारले पालना गरेको थिएन । 

सरकारले निर्णय नदिएपछि सर्वोच्चको आदेश
यसअघि सर्वोच्चले रिट जारी नगरे पनि सरकारलाई यस विषयमा उचित निर्णय गर्न परमादेशसमेतका आदेश दिँदै आएको थियो । तर, सरकारले कुनै कदम नचालेपछि सर्वोच्च आफैँले यसपटक रिट जारी गर्दै समयसमेत तोकेर रिहाइ तथा सम्बन्धित देश पठाउन आदेश गरेको हो । 

सर्वोच्च अदालतले नियम २९ (२)(क) बमोजिमको सुविधा शोभराजले पाउने वा नपाउने विषयमा तथ्ययुक्त र कानुनसंगत कारण खुलाई तीन महिनाभित्र निर्णय दिन १२ फागुन ०७५ मा आदेश दिएको थियो । त्यसपछि पनि गत ११ वैशाखमा १ महिनाभित्र निर्णय गर्न आदेश दिएको थियो । तर, सरकारले कुनै निर्णय गरेन । बुधबारको आदेशले शोभराज विदेशी नागरिक भए पनि नियम २९ (२)(ख) को सुविधा पाउने फैसला गरेको छ । 

यद्यपि, यस नियमअनुसार सजाय घटाउन कारागार प्रशासन वा जेलरको सिफारिस आवश्यक हुन्छ । ७ असारमा कारागार प्रशासनले शोभराजको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी सर्वोच्चलाई गराएको थियो । तर, उनले पाँच किसिमका औषधि सेवन गरिरहेको साथै ‘निजको चालचलन तथा व्यवहारमा खासै परिवर्तन हुन नसकेको भए पनि नकारात्मक कार्य गरेको भन्न सकिने अवस्था देखिन नआएको’ जवाफ पठाएको थियो । 

सर्वोच्चले असल चालचलनका आधारमा शोभराजलाई छाड्ने आदेश गर्दा कारागारले पाटन उच्च अदालतलाई दिएको जवाफलाई समेत आधार मान्दै कैदीको पक्षमा निर्णय गर्नुपर्ने उल्लेख गरेको छ । ‘...निजको चालचलन हाल कैदमा रहँदा असल नभएको, नरहेको भन्न सकिने अवस्था देखिएन । कैद छुटको निमित्त असल चालचलन भए–नभएको सिफारिस गर्ने–नगर्ने, कैद छुटको निर्णय गर्ने–नगर्ने स्वविवेकीय अधिकार प्राप्त अधिकारीले स्वविवेकीय अधिकारको प्रयोग गर्दा उत्तरदायित्वबोध, तथ्यगत सन्दर्भ, हासिल गर्न खोजेको उद्देश्य र कैदीको अधिकारलगायत समग्र पक्षमा हेरी निर्णय गर्नुपर्ने देखिन्छ ।’

शोभराजले आफूलाई मुटुको समस्या रहेको भन्दै स्वास्थ्य अवस्था र उमेरका कारण रिहा हुनुपर्ने भन्दै रिट दायर गरेका थिए । उनको माग स्विकार्दै अदालतले उनको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावासविरुद्धको हकमा असर गरेको निष्कर्ष निकाल्दै छाड्न आदेश दिएको हो । 

संविधानका साथै यसअघि प्रतिपादित विभिन्न नजिर टेक्दै आदेशमा भनिएको छ, ‘...यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीतको अवस्था देखिएको हुँदा निजलाई निरन्तर कैदमा राखिराख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानुनप्रदत्त अधिकारअनुकूल देखिएन । बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ ।’ आदेशको पूर्णपाठ आउन समय लाग्ने हुनाले तत्काल संक्षिप्त आदेश जारी भएको हो । 

शोभराजलाई कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । २८ मंसिर ०३२ मा उनले अमेरिकी नागरिक कोनी ब्रोन्चिजको काठमाडौंमा तथा १ पुसमा क्यानेडियन नागरिक लउरेन्ट क्यारिरेको भक्तपुरको चित्तपोलमा हत्या गरेका थिए । बहुमूल्य धातुको कारोबारको प्रलोभनमा उनीहरूको पासपोर्ट हात पार्न त्यसरी हत्या गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ । घटनाको २८ वर्षपछि नेपाल आउँदा उनी पक्राउ परेका थिए । 

यो मुद्दा तहगत रूपमा १४ साउन ०६७ मा सर्वोच्च अदालत पुगेपछि त्यहाँबाट फैसला भएको थियो । सर्वोच्चका न्यायाधीशद्वय रामकुमारप्रसाद साह र गौरी ढकालले पुनरावेदनकै फैसला सदर गर्दै ‘मृतकको हत्या कुनै व्यक्तिको कर्तव्यबाट भएकाले कसुरजन्य कार्य गर्ने अपराधीलाई प्रचलित कानुनबमोजिम सजाय गर्नुपर्ने र अप्रत्यक्ष प्रमाणको आधारमा पनि कसुरदार देखिएको व्यक्तिलाई सजाय गर्नु अदालतको कर्तव्य हुने’ फैसला सुनाएको थियो । 

कोरोना महामारीका समयमा ज्येष्ठ नागरिक रहेको भन्दै शोभराजसहित १३ जनालाई कैदमुक्त गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयले ७ चैत ०७६ मा निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्ले उनको नाम स्वीकृत गरेन । अर्काे रिट दायर गरी शोभराज जेल सजाय घटाउन सफल भएका हुन् । 

०३२ मा हत्या, ०६० मा पक्राउ, ०७९ मा छुट्दै 
कुख्यात अपराधीका रूपमा पहिचान बनाएका शोभराज ४७ वर्षअघि थाइल्यान्डमा विदेशीको हत्या गरी उनीहरूकै पासपोर्ट लिएर भारत हुँदै नेपाल आएका थिए । नेपालमा पनि उनले नाटकीय शैलीमा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरे । आफू बहुमूल्य धातुको कारोबार गर्ने व्यापारी भएको भ्रममा पारेर नजिकिई एकान्तमा लगेर हत्या गरेका थिए । पैसा र पासपोर्टका लागि उनले ती हत्या गरेका थिए । 

हत्याकै वेला प्रहरीले उनीमाथि पटक–पटक सोधपुछका लागि बोलाएको थियो । तर, नाटकीय शैलीमा उनी उम्किएका थिए । उनकै सहमतिमा लेखिएको ‘लाइफ एन्ड क्राइम अफ चाल्र्स शोभराज’ किताबका अनुसार सोल्टी होटेलमा बसेको झ्यालबाट आफ्ना सामान झारेर मध्यराति उनी भारत भागेका थिए । 

उक्त घटनाको २८ वर्षपछि फेरि नेपाल आउँदा ०६० मा काठमाडौंको एक क्यासिनोबाट उनी पक्राउ परेका थिए । सुरुमा प्रहरीले काठमाडौंमा भएको हत्या मुद्दामा अभियोजन गरेकोमा दोषी ठहर भए । त्यस्तै, दोस्रो मुद्दा ०७० मा भक्तपुर जिल्ला अदालतमा चलेकोमा त्यसमा पनि दोषी ठहर भए । दुवै मुद्दामा उनलाई जन्मकैद अर्थात् २० वर्षको जेल सजाय भएको थियो । 

जेलभित्र पनि प्रहरीले प्रतिबन्धित गरेको सामान उनीबाट बरामद गरेको थियो । कहिले मोबाइल त कहिले अन्य इलेक्ट्रोनिक सामान बरामद गरेको थियो । सोही कारण उनलाई कारागार प्रशासनले जेलभित्रको जेल मानिने ‘गोलघर’भित्र राख्दै आएको थियो । नेपालको जेलमा मुख्यगरी दुई घटनाले उनी चर्चामा रहे । पहिलो ४५ वर्ष कम उमेरकी निहिता विश्वाससँग उनले जेलभित्रै ०६५ मा बिहे गरे । दोस्रो, जेलभित्रैबाट उनी आपराधिक योजनामा संलग्न भए । २७ फागुन ०६७ मा केन्द्रीय कारागारभित्र युनुस अन्सारीमाथि गोली प्रहार भएको थियो । गोली हान्ने भारतीय नागरिक मनमित सिंह शोभराजलाई भेट्न भनेर जेलभित्र छिरेका थिए । सो घटनामा शोभराजको समेत मिलेमतोको आरोपमा प्रहरीले मुद्दा दायर गरेकोमा उनीविरुद्ध पाँच वर्ष कैद सजाय भएको छ । 

अरू विदेशी पनि छुट्ने 
सर्वाेच्चको बुधबारको आदेशअनुसार नेपालको जेलमा रहेका अन्य विदेशी कैदीले पनि कैद छुट पाउने भएका छन् । यसअघि उमेरका आधारमा पाउने कैद छुट विदेशी कैदीका लागि कार्यान्वयन गरिएको थिएन । 

कारागार नियमावलीमा विदेशीको हकमा के हुने भन्ने प्रस्ट व्यवस्था थिएन । तर, सर्वाेच्चले कारागार नियमावली, २०२० को दफा २९ (२) (क) को सुविधा विदेशीले पनि पाउने प्रस्ट व्याख्या गरेको छ । 

सो दफामा भनिएको छ, ‘उपनियम १ र १ (क)मा जुनसुकै कुरा लेखिएको भएता पनि असल चालचलन भएका ६५ वर्ष उमेर पुगेका कैदीहरूको हकमा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सकिने वा दुवै आँखा नदेख्ने वा दुवै खुट्टा नचल्ने वा अंगभंग भई ओछ्यान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा बाँकी कैद सजाय छोट्याउन सकिनेछ ।’ यो सुविधा नेपालीले मात्र पाउने भनेर उल्लेख नभए पनि विदेशीले पाएका थिएनन् । कानुनी अस्पष्टताका कारण विदेशीको हकमा यस्तो सुविधा नदिए पनि सर्वाेच्चको आदेशपछि अन्य विदेशीले पनि यो सुविधा पाउन सक्ने केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डे बताउँछन् । 

विश्व चकित बनाउने शोभराजको अपराध यात्रा 
बिकिनी किलरका रूपमा कुख्याती कमाएका शोभराजको जीवन निकै अनौठो र रहस्यमय छ । अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन् । बाल्यकाल फ्रान्समै बिताएका उनले पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधिमा संलग्न भए । 

उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए । पेरिसको एक घरमा गरेको चोरी उनको पहिलो अपराध थियो । उनकै सहमतिमा लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’ नामक पुस्तकमा सो कुरा उल्लेख छ । 

सोही अपराधमा जेलमा रहँदा अन्डरवर्ल्डसमूहका सदस्य फिलिक्स इसकोन्जीसँग भेटे । जेलबाट दुवैजना छुटेपछि त्यहाँको अन्डरवर्ल्डसमूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे सूचना बटुले । त्यसपछि एकपछि अर्काे गर्दै पेरिसका ठूला चोरीका घटनामा संलग्न भए । 

यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे । पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा भारतको मुम्बई आए । पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए । भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको पुस्तकमा उल्लेख छ । तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन् । मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले । जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे । तर, एक वर्षको बीचमा नै उनी होटेल अशोकामा रहेको सुन पसल चोरीमा समातिए । तैपनि उनी जेलबाट भाग्न सफल भएकोमा तत्कालै प्रहरीले समातेको थियो । आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए । 

त्यहाँबाट धरौटीमा रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे । काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए । चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए । त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए । त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो । चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए । जहाँ उनका भाइ एन्ड्री बस्थे । इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो । पछि ग्रिसमा पक्राउ परे । तर, शोभराजसँग प्रहरीबाट उम्कने अनेकौँ उपाय थियो । त्यहाँबाट पनि उनी भाग्न सफल भए । उनीसँगै प्रक्राउ परेका उनका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो । 

पछि शोभराज थाइल्यान्ड पुगे । थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन् । त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे । त्यहाँ उनी लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए । उनीबाट लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामा नै मच्चियो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए । त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो । त्यसपछि उनीहरू मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे । तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन् । यो सन् १९७५ को कुरा हो । सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा उनीहरूले दुई विदेशी नागरिकको हत्या गरे । 

नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो । अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड भएको बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ गर्‍यो । उक्त घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो । तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठहर्‍याएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो । 

भारतको एक ठूलो मानिने तिहाड जेललाई उनले आफ्नो दरबारजस्तो बनाए । त्यहाँ उनलाई सम्पूर्ण सुविधा थियो । जेलका सबै कर्मचारीलाई उनले रिझाएका मात्र थिएनन्, शोभराज भनेपछि जेलरले समेत आदर गर्ने गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ । यसै क्रममा जेलमा उनको जन्मदिन मनाउने कार्यक्रम भयो । कैदीदेखि जेलरसम्म सबैलाई उनले पार्टी दिए । अनौठो के भने जन्मदिनको फलफूलमा बेहोस हुने औषधि मिलाइएको थियो ।

त्यसरी सबैलाई बेहोस बनाएर उनी भारतको जेलबाट भाग्न सफल भएका थिए । लगत्तै उनी गोवामा पक्राउ परे र १० वर्ष जेलजीवन बिताए । त्यतिखेरसम्म उनी अन्तर्राष्ट्रियस्तरमै मोस्ट वान्टेड अपराधीका रूपमा कहलिसकेका थिए । त्यतिवेला शोभराजलाई सुपुर्दगी गर्न थाइल्यान्डलगायतका देशले भारतलाई पटक–पटक आग्रह गरेका थिए । नेपालमा पनि सुपुर्दगीका लागि आग्रह गर्ने छलफल भएको थियो । तर, नेपाल सरकारले भारतलाई पत्राचार भने गरेन । भारतको जेलबाट छुटेपछि उनी फ्रान्स गए र त्यहाँबाट भियतनाम पुगेर सामान्य नागरिकका रूपमा पाँच वर्ष बिताए । त्यसपछि भियतनामको आफ्नै पासपोर्ट लिएर उनी नेपाल आए । काठमाडौंको एक क्यासिनोमा देखेपछि प्रहरीले ०६० असोजमा पक्राउ गरेको हो । अब नेपालको जेलबाट मुक्त भएपछि एक कुख्यात अपराधीको जीवनको नयाँ अध्याय सुरु भएको छ । 

उनीविरुद्ध थाइल्यान्डलगायत कतिपय देशमा गम्भीर प्रकृतिका मुद्दा अझै बाँकी छन् । नेपालमा पक्राउ परेका वेला थाइल्यान्डले समेत उनलाई सुपुर्दगीका लागि चासो दिएको प्रहरी अधिकारी बताउँछन् । तर, सुपुर्दगी सन्धि नभएकाले फ्रान्समा नै निष्कासन गर्ने तयारी गरेको छ । 
 

ad
ad