१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गुरुकुलको परीक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३४:oo

गुरुकुलका केही छात्रको पढाइ सकियो । सबै परीक्षाको तयारीमा जुटे । परीक्षा नआउँदै गुरुले एक दिन उनीहरूलाई कक्षाकोठामा बोलाए । सम्पूर्ण छात्र आइसकेपछि गुरुले गम्भीर हुँदै भने– मेरा प्रिय शिष्यहरू, तिमीहरू सबै आफ्नो शिक्षाको अन्तिम खुड्किलामा छौ । अबका केही सातापछि तिमीहरूको अन्तिम परीक्षा हुनेछ र तिमीहरू आ–आफ्नो घर फर्केर एक फरक जिन्दगी सुरु गर्नेछौ । तिमीहरूलाई अग्रिम शुभकामना छ । गुरुकुलको अन्तिम परीक्षाभन्दा अगाडि आज म तिमीहरूसित गुरुदक्षिणाका लागि केही माग्दै छु । के त्यसका लागि तिमीहरू तयार छौ ? सबै शिष्यले एक स्वरमा आफूहरू त्यसका लागि तयार भएको बताए । 

गुरुले गम्भीर हुँदै भने– तिमीहरूले जाँदाजाँदै एउटा चोरी गर्नुपर्‍यो । तिमीहरू सहरबजारमा जाऊ र कसैले पनि नदेख्ने या थाहा नपाउने गरी हीरा, मोती, सुन, चाँदी आदि बहुमूल्य वस्तु चोरी गरी ल्याउनुपर्‍यो । तर, तिमीहरूले गरेको काम कसैले पनि देख्नुहुँदैन है ! गुरुको माग सुनेर सबै विद्यार्थी छक्क परे र एकैछिन मुखामुख गरे । तर, कसैले पनि केही प्रश्न गरेनन् । प्रत्यक्षतः भने– जो आज्ञा गुरुदेव ! एकैछिनमा विद्यार्थी भेष बदलेर गुरुकुलबाट निस्किए । उनीहरू सहरबजारमा छरिए । सबैले धनीमानी मानिसहरूको घरबाट बहुमूल्य सामग्री चोरी गरे र आश्रम फर्किए । 

सबैले आफूले चोरी गरेर ल्याएको धनमाल गुरुको चरणमा राखिदिए । केहीबेरमा एक विद्यार्थी अँध्यारो अनुहार लिएर रित्तो हात फर्किए । उनको अवस्था देख्दा बाँकी विद्यार्थी मुसुमुसु हाँस्न थाले । गुरुले उनलाई सोधे, बाबु ! तिमीले त केही पनि ल्याएनौ कि के हो ? उनले स्वीकृतिमा टाउको हल्लाए । गुरुले पुनः प्रश्न गरे, किन ? किन केही ल्याउन सकेनौ ? विद्यार्थीले जवाफ दिए– गुरु, हजुरले कसैले नदेख्ने गरी चोरी गर्नू भन्नुभएको थियो । तर, लाख कोसिस गर्दा पनि भगवान्ले देख्न नसक्ने ठाउँ कहीँकतै फेला परेन । फेरि, हजुरले पनि भगवान्ले सबैतिर देख्छन्, हामीले जे गरे पनि भगवान्बाट लुकाउन सकिन्न भन्नुभएको थियो । 

त्यसैले, मैले त केही पनि चोरी गर्नै सकिनँ । शिष्यको जवाफ सुनेर गुरुले उनलाई गम्लंग अँगालो हाले र भने– आजको परीक्षामा तिमी मात्र उत्तीर्ण भयौ । बाँकी सबै मेरा छात्रहरू अनुत्तीर्ण भए । बाँकी छात्रतिर फर्केर उनले भने– अब तिमीहरूले जजसले जहाँजहाँबाट जेजे ल्याएका छौ, त्यो त्यहीँ लगेर सम्बन्धित व्यक्तिलाई बुझाएर आओ ।

ad
ad