१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दीको पिडिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:३४:oo

स्थानीयलाई १० प्रतिशत सेयर, जनवरीबाट निर्माण सुरु 

एक सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी अर्धजलाशय जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरकार र प्रवर्द्धक कम्पनी मनाङ–मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच पिडिएमा हस्ताक्षर भएको हो । २० मंसिरको मन्त्रिपरिषद्ले उक्त आयोजनाको पिपिए गर्न स्वीकृति दिएको थियो । त्यसपछि आवश्यक तयारी पूरा गरेर पिडिएमा हस्ताक्षरण गरिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए । निर्माण, स्वामित्व, सञ्चालन एवं हस्तान्तरण मोडेलमा बनाइने आयोजनामा सरकारको तर्फबाट ऊर्जासचिव दिनेश घिमिरे र कम्पनीका सञ्चालक उत्तरकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  

सम्झौतामा आयोजनाको अनुगमन, दुवै पक्षले गर्नुपर्ने कार्यहरू, पानी प्रयोगको अनुमति, रोयल्टी तथा करहरू, नेपाली स्रोत–साधनको प्रयोग, रोजगारी तथा सीप अभिवृद्धि, वातावरण तथा सामाजिक विकास, काबुबाहिरको परिस्थिति तथा जोखिम व्यवस्थापनलगायत विषय समेटिएको छ । साथै, आयोजना प्रभावित बासिन्दाहरूले १० प्रतिशत सेयर पाउने पिडिएमा उल्लेख गरिएको छ ।

उक्त आयोजना नेपालको बुटवल पावर र चीनका तीन कम्पनीको संयुक्त लगानीमा निर्माण हुनेछ । चीनको एससिआइजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड आबद्ध हुनेछन् । उनीहरूले संयुक्त स्वामित्वमा मनाङ–मर्स्याङ्दी हाइड्रोपावर कम्पनी स्थापना गरेर आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको थियो । आयोजनामा ३३ अर्ब ३७ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ । त्यसमा ८० प्रतिशत लगानी ऋणमार्फत जुटाइनेछ, जुन ऋण चिनियाँ कम्पनीले आफ्नै देशबाट ल्याउनेछन् । २० प्रतिशत रकम भने कम्पनीको स्वपुँजीमार्फत जुटाइनेछ । उक्त कम्पनीमा बुटवल पावरको १९ दशमलव ५ र चिनियाँ कम्पनीको ७९ दशमलव ५ प्रतिशत सेयर हिस्सा हुनेछ । 

कम्पनीले १ पुस ०७५ मा आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र पाएको थियो । अनुमतिपत्रको अवधि ३५ वर्ष रहेको छ । त्यसपछि आयोजनाको स्वामित्व निःशुल्क रूपमा नेपाल सरकारले पाउनेछ । 

आयोजनाको विद्युत् खरि–बिक्री सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच ९ चैत ०७७ मा पिपिीए सम्झौता भइसकेको छ । पोस्टेट रेट (हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षातमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा)मा विद्युत् खरिद–बिक्री गर्ने गरी सम्झौता गरिएको थियो । आयोजनाबाट उत्पादन हुने बिजुली मनाङको धारापानीमा रहेको प्राधिकरणको दुई सय २० केभी स्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक सरदर ७६६.६ गिगावाट आवर (७६ करोड ६६ लाख युनिट) विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । 

कम्पनीले अबको दुई महिनामै निर्माण कार्य सुरु गर्ने बताएको छ । आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिसकेको कम्पनीले ठेकदार छनोट प्रक्रियासमेत पूरा गरिसकेको छ । जनवरीभित्र कम्पनी छनोट गरेर निर्माण कार्य अगाडि बढाइने साझेदार कम्पनी बुटुवल पावरका उपाध्यक्ष प्रतीकमानसिंह प्रधानले बताए । 

आयोजनाको वित्तीय व्यवस्थापन भने अबको नौ महिनामा हुने बुटवल पावरका उपाध्यक्ष प्रधान बताउँछन् । ‘आयोजनामा चीनबाट एफडिआईमार्फत लगानी भिर्‍याउने हो । त्यसका लागि वित्तीय व्यवस्थापन सम्झौता आठ–नौ महिनाभित्र हुन्छ,’ उनले बताए । 

ad
ad