मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ पौष ४ सोमबार ०९:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समानुपातिक सांसदका एजेन्डा : सेवामा सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ पौष ४ सोमबार ०९:२८:००

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाका समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ । प्रतिनिधिसभाका एक सय १० र प्रदेश सभाका दुई सय २० सांसदले आइतबार बहादुर भवनस्थित आयोगको प्रांगणमा आयोजित समारोहमा समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीको हातबाट प्रमाणपत्र लिएका हुन् ।

निर्वाचित भएको प्रमाणपत्र पाएका समानुपातिक सांसदहरूले शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवा सुधार, समयानुकूल कानुन निर्माण, भ्रष्टाचार नियन्त्रण, समुचित विकासका एजेन्डा उठाउने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सांसद लक्ष्मी घिमिरेले ह्विलचेयरबाटै निर्वाचित भएको प्रमाणपत्र बुझेकी छन् । अपांगता भएका व्यक्तिको कोटामा प्रदेश सभामा उनी एक्ली सांसद हुन् । समानुपातिक समावेशी सिद्धान्तअनुसार दलहरूले क्लस्टरका साथै अपांगता भएका, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ । अरू दलले अल्पसंख्यक र पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राख्दा राप्रपाले लक्ष्मीलाई छनोट गरेर अपांगता भएका व्यक्तिको समुदायलाई प्रतिनिधित्व गरेको छ । लक्ष्मी भन्छिन्, ‘सांसद हुन्छु भन्ने लागेको थिएन । तर, पार्टीले अपांगता भएका व्यक्तिलाई संसद्मा पुर्‍याएर सम्मान दियो । अन्य दलले बन्दसूचीमा राखे पनि पठाएनन् ।’

राप्रपाकी ३२ वर्षीया विना जैसवाल चारमहिने शिशु बोकेर समानुपातिक सांसदको प्रमाणपत्र लिन निर्वाचन आयोग पुगेकी थिइन् । सात महिनाको गर्भ हुँदा राप्रपाबाट वीरगन्जको उपमेयर पदमा लडेकी विनालाई राप्रपाले प्रतिनिधिसभा सांसद बनाएको हो । मधेसी महिला कोटाबाट सांसद बनेकी विना आइतबार आयोग परिसरमा प्रमाणपत्र लिइसकेपछि चारमहिने छोरी बोकेर बसेकी थिइन् । अन्तर्राष्ट्रिय संसदीय अभ्यासमा महिला सांसदले बच्चालाई संसद्मै स्तनपान गराएको उदाहरण छ । नेपालमा आगामी पाँच वर्षमा यो दृश्य देखिनेछ । बच्चा सानै भएकाले संसद् बैठकमा जाँदा विनाले साथमै लानुपर्नेछ । उनी भन्छिन्, ‘बच्चा हुर्काउन गाह्रो छ, तर असम्भव होइन । झन् बच्चाको कारणले मलाई अगाडि बढ्न विश्वास र हिम्मत दिएको छ ।’ 

सचिवालयले थाल्यो शपथको तयारी
संसद् सचिवालयले सदस्यको शपथको तयारी थालिसकेको छ । तर, शपथका लागि कम्तीमा पाँच दिन लाग्ने भएको छ । सचिवालयका सहप्रवक्ता दशरथ धमालले केही दिनभित्रै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिए । ‘निर्वाचन आयोगसँग प्रतिनिधिसभा सदस्यको विवरण मागेका छौँ । केही सदस्यको निर्वाचन आयोगमा भएको र नागरिकतामा भएको उमेर फरक परेको देखियो । त्यो प्राविधि विषय हो । त्यसलाई सल्ट्याएर छिट्टै ज्येष्ठ सदस्यको शपथका लागि सिफारिस गर्दै छौँ । एक–दुई दिनमै शपथका लागि सिफारिस गर्छौैँ,’ उनले भने ।

ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने र ज्येष्ठ सदस्यले अन्य सदस्यको शपथ गराउने कानुनी व्यवस्था छ । शपथको भाषा छनोट गर्न सचिवालयले तीन दिनको म्याद राखेर सूचना निकाल्ने धमलाले जानकारी दिए । ‘सदस्यहरूलाई शपथ लिने भाषा छनोट गर्नका लागि तीन दिनको समय दिएर सूचना निकाल्दै छौँ,’ उनले भने ।

नागरिकताअनुसार महिन्द्र राय यादव ज्येष्ठ सदस्य हुन् । उनको उमेर ८५ वर्ष छ । तर, उनले त्रुटिका कारण आफ्नो उमेर नागरिकतामा बढी भएको र सच्याउन निवेदन दिएपछि नसच्चिएको भन्दै नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा शपथ नलिने बताएका छन् । यादवले ज्येष्ठ सदस्य अस्वीकार गरेपछि राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर राणा ज्येष्ठ सदस्य छन् । सदस्यको उमेर जाँचबुझ भइरहेको संसद् सचिवालयले जनाएको छ ।