१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ बैशाख १७ सोमबार १२:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:२४:oo

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका– ७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ। परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ। सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टिल, सिमेन्टलगायतका उद्योग तथा स्थानीय उपभोक्ताहरूले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका प्राधिकरणको दाबी छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टिललगायतका ठूला उद्योग र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताए। ‘सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै बुटवल सबस्टेसनको चाप घटेको छ। सुनवल तथा परासी क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ। उपभोक्ताहरूले मागेजति विद्युत् पाउनेछन् भने प्राविधिक चुहावटसमेत घट्नेछ,’ उनले भने।
 
सबस्टेसनमा १३२–३३, ६३ एमभिएका दुईवटा र १३२–११ केभी, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मरहरू छन्। सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका सातवटा फिडरहरूमध्ये तीनवटा सञ्चालनमा ल्याइएको छ। ३३ केभीका तीनवटा फिडरहरूमध्ये एउटाबाट सर्वोत्तम सिमेन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शीतलनगर सबस्टेसन र लक्ष्मी स्टिलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले जानकारी दिए।

अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ। परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडरहरू निर्माणाधीन छन्। औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।

ad
ad