मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १४ बुधबार २०:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १४ बुधबार २०:०२:००

सुदूरपश्चिममा प्रदेश सभाका ३२ क्षेत्रमध्ये ३० क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना पूरा हुँदा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत पुग्ने देखिएको छ। ३० मध्ये २१ क्षेत्रमा गठबन्धनले जित हासिल गरेको छ। 

बाजुरामा भने पुनः मतदान भएपछि मतगणना सुरु भएको छैन। समानुपातिकमा हालसम्म गणना भएको मत संख्या हेर्दा समानुपातिकतर्फको समेत जोडेर गठबन्धनको सजिलै बहुमत पुग्ने देखिन्छ। यद्यपि, अब केन्द्रमा कस्तो राजनीतिक समीकरण बन्छ, त्यही आधारमा प्रदेशमा पनि समीकरण बन्नेछ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ। अहिले प्रत्यक्षतर्फ कांग्रेसले ११, माओवादीले आठ र एकीकृत समाजवादीले दुईवटा क्षेत्रमा जित हासिल गरेका छन्। 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पाँच र एमालेले तीन र एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रदेश सभामा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिकबाट चयन हुनेछन्।

माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका प्रवल दाबेदार हुन्। डडेल्धुराबाट निर्वाचित भट्टलाई मुख्यमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्। डडेल्धुरामा भएका गठबन्धनका चुनावी सभामै देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने प्रतिबद्धता जनाउँदै उनलाई विजयी गराएर पठाउन आग्रह गरेका थिए।


भट्ट ०६४, ०७० र ०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा डडेल्धुरामा प्रधानमन्त्री देउवासँगै पराजित भएका थिए। सत्तागठबन्धनमा भट्टलाई मुख्यमन्त्री बनाउने सहमति भएरै उनलाई प्रदेशमा चुनाव लडाइएको बताइएको छ। केन्द्रमा गठबन्धन बनेर मुख्यमन्त्री माओवादीले पाउने सहमति भए भट्ट निर्विकल्पजस्तै छन्। 

यसअघि कुनै पनि सार्वजनिक लाभको पदमा नरहेका भट्ट माओवादी केन्द्रको स्थायी समिति सदस्य हुन्। प्रत्यक्षमा आठ सिट जितेको माओवादीले समानुपातिकमा तीनदेखि चार सिट जित्ने सम्भावना छ।

कांग्रेसबाट बहादुरसिंह थापा, दिवानसिंह बिष्ट, प्रकाश देउवालगायत मुख्यमन्त्रीका आकांक्षी छन्। संविधानसभा सदस्य रहिसकेका थापा र बिष्ट कांग्रेसका पुराना नेता हुन्। ०३२ सालमा नेविसंघबाट राजनीतिमा होमिएका थापा ०७० मा भएको संविधानसभा दोस्रो निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए। त्यसअघि ०६४ मा संविधानसभा सदस्यमा पराजित थापाले ०७४ मा पनि प्रदेश सभा सदस्यमा पराजय भोग्नुपर्यो। 

दोस्रोपटकको प्रयासमा प्रदेश सभा सदस्यमा विजयी बनेका उनी कांग्रेसबाट मुख्यमन्त्रीका बलिया दाबेदार हुन्। कञ्चनपुरमा यसअघि लगातार तीन कार्यकाल पार्टीको जिल्ला सभापति रहेका उनी गत वर्ष भएको अधिवेशनमा भने जिल्ला सभापतिमा पराजित भएका थिए। उनी यसपटक क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएका छन्।

संविधानसभा सदस्य रहिसकेका बिष्ट पनि मुख्यमन्त्रीका प्रवल दाबेदार हुन्। साढे चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय बिष्टले ०७० सालमा कञ्चनपुर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएर पहिलोपटक संसदीय यात्रा तय गरेका थिए। 

०७४ मा भने यही क्षेत्रबाट उनी पराजित बने। बिष्ट हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन्। गत वर्ष भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बिष्ट केन्द्रीय सदस्यमा पराजित भएका थिए। 

०६३ सालमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुनर्स्थापनका लागि आरक्षपीडित आयोगको अध्यक्ष भएर उनले काम गरेका छन् । यसपालि उनी क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। 
कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा २ बाट निर्वाचित कांग्रेसका युवा नेता देउवा पनि मुख्यमन्त्रीका आकांक्षी छन्। उनीनिकट कांग्रेस कार्यकर्ताले उनलाई भावी मुख्यमन्त्रीका रूपमा प्रचार थालेका छन्। प्रधानमन्त्री देउवाका भतिजा प्रकाश पार्टीको महाधिवेशन प्रतिनिधि हुन्। कांग्रेसले समानुपातिकमा छदेखि आठ सिट पाउने सम्भावना छ। 

समानुपातिकतर्फ सात–आठ सिट पाउने देखिएको एमालेमा प्रत्यक्षतर्फ तीनजना मात्रै निर्वाचित भएका छन्। एमालेबाट मुख्यमन्त्रीका दाबेदार पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल तथा लालबहादुर थापा र पठानसिंह बोहरा भने पराजित भएका छन्।