१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कतारविरुद्धको खेलमा नेदरल्यान्डस्का डिपे बल प्रहार गर्दै
२o८१ बैशाख १७ सोमबार o६:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:४२:oo

नेदरल्यान्ड्स र सेनेगल कतार फिफा विश्वकप २०२२ को प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । समूह ‘ए’को अन्तिम खेलसँगै युरोपेली राष्ट्र नेदरल्यान्ड्स समूह विजेता बन्यो । नेदरल्यान्ड्सले तीन खेलमा अपराजित यात्रा कायम राख्दै सात अंक जोडेको छ । दुई खेल जितेको नेदरल्यान्ड्स एक खेलमा अंक बाँड्न पुगेको थियो । सेनेगल दुई जित र एक हारसहित ६ अंक जोड्दै उपविजेता बन्यो । समान तीन खेलबाट चार अंक जोडेको इक्वेडर र अंकविहीन आयोजक कतार समूह चरणमै सीमित भयो । 

 कतार अन्तिम खेलमा पनि पराजित
अल बायत मैदानमा नेदरल्यान्ड्सले घरेलु टोली कतारलाई सुरुवातबाटै दबाबमा राखेको थियो । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हरायो । नेदरल्यान्ड्सले दुवै हाफमा एक–एक गोल गरेको थियो । खेलको २६औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाए । डाभी क्लासेनको पासमा कोडीले कतार विश्वकपमा व्यक्तिगत तेस्रो गोल गरे । कोडीले सेनेगल, इक्वेडर र कतारविरद्ध एक गोल गरेका थिए । 

पहिलो हाफमा एक गोल गरेको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल गर्दै अपराजित यात्रा कायम राख्यो । खेलको ४९औँ मिनेटमा डी जोङले गोल गरे । बक्सभित्र कतारका खेलाडीले क्लियर गर्न नसकेको बललाई बार्सिलोनाको मिडफिल्डर जोङले सहजै गोल गरे । विश्वकपमा उनको पहिलो गोल हो । खेलको ८२औँ मिनेटमा स्टेभनले गोल गरे पनि त्यसले मान्यता पाएन । नेदरल्यान्ड्ससँग पराजित भएसँगै कतारले विनाअंक विश्वकप सकाएको छ । ६ गोल व्यहोरेको कतारले एक गोल मात्रै विपक्षीको पोस्टमा गरेको थियो । विश्वकपमा पहिलो खेलमा पराजित हुने र विनाअंक प्रतियोगिताबाट बाहिरिने कतार पहिलो टोलीसमेत बन्यो । 

 सेनेगललाई फाप्यो एसियाली भूमि 
समूह ‘ए’मा दोस्रो स्थान हासिल गर्दै सेनेगलले विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको छ । सेनेगलले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको यो दोस्रोपटक हो । सेनेगलले २० वर्षअघिको विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । संयोगवश, सो विश्वकप पनि एसिया (जापान तथा कोरिया)मै आयोजना भएको थियो । 

दोस्रो चरणमा पुग्नका लागि मंगलबार सेनेगललाई समूह चरणको अन्तिम खेल जित्नैपर्ने बाध्यता थियो । त्यसैले सुरुदेखि नै आक्रामक खेल देखायो । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा ४४औँ मिनेटमा पेनाल्टीमार्फत सार कुलीले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । पहिलो हाफमा १–०  ले पछि परेको इक्वेडरले ६७औँ मिनेटमा मोसेस सोइसेडोको गोलसँगै कमब्याक गर्‍यो । तर, तीन मिनेटपछि कोलीबेलीले गोल गर्दा सेनेगलले फेरि अग्रता बनायो । त्यसपछि इक्वेडरले लगातार आक्रमण गरे पनि गोल भने गर्न सकेन । 

जारी विश्वकपमा दोस्रो चरणमा पुग्ने सेनेगल पहिलो अफ्रिकी टोली हो । यस टोलीले २० वर्षअघि क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा अप्रत्याशित नतिजा निकालेको थियो । जापान तथा कोरियामा संयुक्त रूपमा आयोजना भएको उक्त विश्वकप सेनेगलको पहिलो विश्वकप थियो । सेनेगलले उद्घाटन खेलमै साबिक विजेता फ्रान्सलाई १–० ले हरायो । समूह चरणमा डेनमार्क र उरुग्वेसँग बराबरी खेलेको सेनेगलले प्रिक्वार्टरफाइनलमा स्विडेनलाई हराएर अर्को सप्र्राइज दिएको थियो । क्वार्टरफाइनलमा टर्कीसँग पराजित भएपछि सेनेगलको ऐतिहासिक यात्रा रोकिएको थियो । सन् २०१८ को विश्वकपमा भने सेनेगलको यात्रा समूह चरणमै टुंगिएको थियो । 

वाज्सिचेक
स्चेजेन्सी (पोल्यान्ड)

साउदी अरेबियाविरुद्ध २–० जितमा ३२ वर्षीय गोलरक्षक स्चेजेन्सीले पाँच सेभ गरेका थिए । उनले उत्कृष्ट प्रदर्शनसँगै लगातार दुई खेलमा ‘क्लिन सिट’ राख्न सफल भएका छन् । पहिलो खेलमा मेक्सिकोसँग बराबरीमा रोक्न स्चेजेन्सीले उत्कृष्ट प्रहारहरू सेभ गरेका थिए । साउदी अरेबियाविरुद्ध खेलमा उनले सलिम अलको पेनाल्टी नै रोके । तेस्रो खेलमा अर्जेन्टिनाविरुद्ध खेल्दा उनको वास्तविक परीक्षा हुनेछ । विश्वकपमा दुई गोल गरिसकेका मेसीसहित लौटारो मार्टिनेज, एन्जलो डी मारिया, रोड्रिगो डी पउल र एन्जो फर्नान्डेजजस्ता खेलाडीका आक्रमण रोक्ने दायित्व गोलरक्षक स्चेजेन्सीकै हातमा छ । उनले राष्ट्रिय टोलीमा सन् २००९ यता ६८ खेल खेलेका छन् । 

इमिलियानो
मार्टिनेज (अर्जेन्टिना)

अर्जेन्टिना सन् २०२१ को कोपा अमेरिका च्याम्पियन हुँदा इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । उपाधिसँगै ‘गोल्डेन ग्लोब’ जितेको इमिलियानो टोलीको नियमित र अनुभवी गोलरक्षक भइसकेका छन् । अर्जेन्टिनाको युवा टोली हुँदै मार्टिनेजले सन् २०२१ मा सिनियर टोलीबाट डेब्यु गरेका थिए । हालसम्म मार्टिनेजले २१ खेल खेलेका छन् । पछिल्लो समय उत्कृष्ट प्रदर्शनसँगै २०२० देखि प्रिमियर क्लब एस्टन भिल्लासँग अनुबन्धित छन् । विश्वकपमा उनले एक खेलमा ‘क्लिन सिट’ राखेका छन् । 

मिचल डुक (अष्ट्रेलिया)
ट्युनिसियाविरुद्ध जित निकाल्दा अस्ट्रेलियाका मिचल डुकले एक मात्रै गोल गरेका थिए । बक्सभित्र बल पाएका डुकले उत्कृष्ट हेडिङ गोल गरे । जापानी दोस्रो श्रेणीको लिग खेलिरहेका डुक यस गोलसँगै चर्चामा आएका छन् । प्रशिक्षक ग्राहम अर्नाेल्डले युरोपेली राष्ट्र डेनमार्कविरुद्ध अट्याकमा डुकलाई जिम्मेवारी दिनेछन् । साउथ वेल्समा जन्मिएका डुकले राष्ट्रिय टोलीबाट २३ खेलमा नौ गोल गरेका छन् । पहिलो खेलमा फ्रान्सविरुद्ध ५६ मिनेट मैदानमा बिताएका डुकले गोल गर्न सकेनन् । 

ओलिभर जिरुड (फ्रान्स)
३६ वर्षीय अनुभवी स्ट्रइकर ओलिभर जिरुडले आफ्नो लय कायम रहेको जनाउँदै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अन्तिम समय विश्वकपमा स्थान बनाएका जिरुडलाई केलियन एम्बाप्पे, एन्टोनियो ग्रिजम्यान, किङ्स्ले कोमनजस्ता खेलाडीका साथ उत्कृष्ट प्रदर्शन गर्नु चुनौतीसमेत छ । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध ८९ मिनेट मैदानमा बिताएका जिरुडले दुई गोल गरेका थिए । दोस्रो खेलमा ६२ मिनेट मैदानमा बिताए पनि उनी गोलविहीन रहे ।

 

 

 

ad
ad