मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ मङ्सिर १० शनिबार ०६:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा समानुपातिकको मत गन्दा प्रत्यक्ष मतको बाक्सै भेटियो

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १० शनिबार ०६:२९:००

प्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ ।मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको बाक्सा नै गणना गर्न छुटेको हो । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मत गणना गर्ने क्रममा प्रत्यक्ष तर्फको बाक्सा भेटिएपछि केहिबेर हंगामा नै मच्चियो ।

खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि मतदान स्थलको ख केन्द्रको मतपेटिका गणनामा छुटेको मुख्य निर्वाचन अधिकृत स्विकृती पराजुलीले बताए । ‘यो मतदान स्थलमा क र ख गरी २ वटा केन्द्र थिए । ख केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुट्यो । रातको समयमा सबैतिरको मतपत्रहरु एकै पटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्ष तर्फको मतपेटिका समानुपातिकतर्फ परेको र मतगणना सम्पन्न गर्दा मतपेटिका नगन्नु त्रुटी भएको सत्य हो’, पराजुली स्वीकार गरे ।

मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परेपनि सदर गर्ने मतगणना पूर्वनै सर्वपक्षीय सहमति भएको छ । सोहि अनुसार छुटेको मतपेटिका पुनः गणना गरी प्रत्यक्षतर्फका उम्मेदवारको मत थप गरिएको पनि पराजुली बताए । जसका कारण बिहीबार साँझ भएको मत परिणाम भन्दा शुक्रबार विहान आएको मत परिणामको अन्तर पनि फरक परेको छ ।

धादिङ प्रतिनिधिसभामा कूल एकसय ५५ मतदान केन्द्र रहेकोमा एक सय ५४ वटा केन्द्रको मात्रै गणना भयो तर एउटा बाँकि रहेको कसैले ख्याल गरेनन् । प्रत्यक्षको मत परिणाम सुनाउनुपूर्व कति बाक्साको मत गणना भयो समेत गनिएन । कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुले पनि वास्ता गरेनन् ।

मतगणना सम्पन्न पश्चात बढि मत ल्याउने उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारीले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खेम प्रसाद लोहनीको भन्दा १० हजार पाँच सय ३३ मत बढि देखिएपछि विजय उत्सव मनाए । पछि फेला परेको मतसंख्या भन्दा पहिले नै मतान्तर बढि भएपछि यस विषयले खासै चर्चा पाएन । राजनीतिक दल र उम्मेदवारहरुले मतगणना गर्ने र मतसंख्या सच्याउनेमा सहमती जनाए ।

पछि फेला परेको मत गणना गर्दा नेपाली कांग्रेसका रामनाथ अधिकारीलाई भन्दा नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १८ मत बढी आएको छ । अब दुइ उम्मेदवारबीचको मतान्तर १० हजार पाँचसय १५ भएको छ ।