१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ३ शनिबार ०५:५३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्पताल नै खाली हुने गरी चुनावमा खटाइए स्वास्थ्यकर्मी

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर ३ शनिबार ०५:५३:००

- फुटबल खेल्दा हात भाँचिएर हुम्ला जिल्ला अस्पताल पुगेका भीम बुढा उपचारविनै फर्किए

- जिल्ला स्वास्थ्य कार्यालय भन्छ– समन्वयविना खटाइयो, सेवाग्राहीमा परेको असरको जिम्मेवारी लिँदैनौँं

हुम्लाको एक्सरे विभागमा ताला

हुम्लाको खार्पुनाथ गाउँपालिका– ३ घर भई सिमकोट मावि कक्षा १० मा अध्ययनरत भीम बुढाको हात फुटबल खेल्दै गर्दा भाँचियो । हतारहतार अस्पताल पुगेका उनी स्वास्थ्यकर्मी नहुँदा त्यसै फर्किएका छन् । ‘अस्पताल त गएँ, तर एक्सरेसमेत भएन, जिल्लामा अन्यत्र कतै एक्सरे गर्ने ठाउँ छैन,’ बुढाले भने, ‘एक्सरे सेवाका कर्मचारी चुनावमा खटिनुभएको रहेछ, अब चुनावपछि एक्सरे गर्नुपर्ला ।’ एक्सरे सेवामा दुईजना कर्मचारी रहेकामा दुवैजना चुनावमा खटिएका छन् । सातजना नर्सिङ स्टाफ रहेकामा दुईजना मात्र आकस्मिक सेवामा काम गरिरहेका छन्, बाँकी सबैलाई निर्वाचनमा खटाइएको छ । ल्याबका ६ जना निर्वाचनमा खटिँदा एकजनाले मात्र धानिरहेका छन् । अस्पतालका ६ चिकित्सकमध्ये डा. रोशन रावत मात्र निर्वाचन अधिकृत भएर खटिएका छन् ।

...                                              ...

जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी चुनावमा खटिँदा स्वास्थ्य सेवा नै प्रभावित बनेको छ । अस्पताल नै खाली हुने गरी जिल्ला स्वास्थ्यसँगको समन्वयविनै कर्मचारी खटाइँदा एक्सरे सेवा ३० कात्तिकदेखि बन्द छ भने आकस्मिक सेवा, ल्याब, फार्मेसी, परिवार नियोजन सेवा पनि प्रभावित बनेका छन् ।

फुटबल खेल्दा हात भाँचिएर उपचारका लागि अस्पताल पुगेका भीम बुढा स्वास्थ्यकर्मी नहुँदा त्यसै फर्किएका छन् । खार्पुनाथ गाउँपालिका– ३ घर भई सिमकोट मावि कक्षा १० मा अध्ययनरत बुढाको हात फुटबल खेल्दै गर्दा भाँचिएको थियो । ‘अस्पताल त गएँ, तर एक्सरेसमेत भएन, जिल्लामा अन्यत्र कतै एक्सरे गर्ने ठाउँ छैन,’ बुढाले भने, ‘एक्सरे सेवाका कर्मचारी चुनावमा खटिनुभएको रहेछ, अब चुनावपछि एक्सरे गर्नुपर्ला ।’ 

एक्सरे सेवामा दुईजना कर्मचारी रहेकामा दुवैजना चुनावमा खटिएका छन् । नयाँ पत्रिकाकर्मी जिल्ला अस्पताल पुग्दा सिमकोट गाउँपालिका– ५ का बिजु रोकाया उपचारका लागि पुगेका थिए । पिसाब रोकिएपछि अस्पताल आए पनि उपचार नभएको भन्दै उनी भौँतारिरहेका थिए । पारा मेडिक्सका सातैजना निर्वाचनमा खटिएकाले उनको उपचार हुन नसकेको हो ।

सातजना नर्सिङ स्टाफ रहेकामा दुईजना मात्र आकस्मिक सेवामा काम गरिरहेका छन्, बाँकी सबैलाई निर्वाचनमा खटाइएको छ । ल्याबका ६ जना निर्वाचनमा खटिँदा एकजनाले मात्र धानिरहेका छन् । अस्पतालमा ६ जना चिकित्सक रहे पनि डा. रोशन रावत निर्वाचन अधिकृत भएर खटिएका छन् । 

अस्पतालमा भेटिएका डा. कृशान्त भण्डारीले पनि स्वास्थ्यकर्मी चुनावमा खटिँदा अस्पतालको सेवा प्रभावित भएको स्वीकार गरे । ‘औषधिको पनि कमी थियो, त्यसैमा कर्मचारी पनि चुनावमा गएका छन्,’ उनले भने ।

जिल्ला स्वास्थ्य भन्छ– समन्वयविना खटाइयो, सेवाग्राहीमा परेको असरको जिम्मेवारी लिँदैनौँ
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले समन्वयविना नै स्वास्थ्यका कर्मचारी चुनावमा खटाइएकाले अस्पतालको सेवा प्रभावित भएको बताएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले स्वास्थ्य कार्यालयलाई जानकारी नदिई आफूखुसी कर्मचारी निर्वाचनमा खटाएकाले सेवाग्राहीमा पर्न गएको असरको जिम्मेवारी नलिइने बताए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेर उनले भनेका छन्, ‘निर्वाचनमा खटिने कर्मचारीको विवरण स्वास्थ्य कार्यालयबाट पठाइएको पत्रविपरीत आफूखुसी कार्यालय प्रमुखको जानकारीविना अस्पतालजस्तो संवेदनशील क्षेत्रको आकस्मिक सेवा, ल्याब, एक्सरे, फार्मेसी सेवा ठप्प हुने गरी अन्धाधुन्ध तरिकाले जिल्ला अस्पतालका कर्मचारी निर्वाचनमा खटाइएका करण सेवा बन्द हुने देखिएकाले सोबाट सेवाग्राहीमा पर्न जाने असरको जिम्मा यस कार्यालयलाई नरहने व्यहोरा जानकारी गराइन्छ ।’

जिल्ला स्वास्थ्यका निमित्त कार्यालय प्रमुख मनकृष्ण जैसीले अस्पतालमा कम्तीमा ६० प्रतिशत कर्मचारी कायम राखेर चुनावमा खटनपटन हुनुपर्नेमा आफूखुसी गरिएको बताए ।

नर्सिङका स्वास्थ्यकर्मीसमेत चुनावमा, प्रसूति सेवा ठप्प
जुम्ला । २४सै घन्टा खुला रहनुपर्ने प्रसूति सेवाका नर्सिङ स्वास्थ्यकर्मीलाई पनि निर्वाचनमा खटाइएको छ । जुम्लाका आठ पालिकाका स्वास्थ्य संयोजक, उपसंयोजक, स्वास्थ्य चौकीका अहेव, अनमि र प्रसूतिगृहका नर्सिङ स्टाफ चुनावमा खटिएका हुन् । गुठीचौर गाउँपालिकाको देपालगाउँ, मनिसाँघु र झारज्वाला (धवलमुडी)मा रहेका स्वास्थ्य चौकीका प्रसूति सेवाका नर्सिङ स्टाफ चुनावमा खटिएका छन् । गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा संयोजक बालराम नेपाली स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका स्वास्थ्यकर्मी नै चुनावमा खटाइँदा सेवा ठप्प बनेको बताए ।

हिमा गाउँपालिकाका स्वास्थ्य संस्थानमा ३३ स्वास्थ्यकर्मी छन् । तीमध्ये २८ जना चुनावमा खटिएका छन् । केही करार स्वास्थ्यकर्मी र सहयोगीको भरमा स्वास्थ्य संस्था चलिरहेका छन् । यहाँ प्राथमिक स्वास्थ्य चौकीसँगै बड्की र महावैपाथर खोलामा प्रसूति सेवा छ । स्वास्थ्य संयोजक रतन रावत भने सेवामा समस्या नहुने गरी स्वास्थ्यकर्मी निर्वाचनमा खटाइएको दाबी गर्छन् । तातोपानी गाउँपालिकाका धेरैजसो स्वास्थ्यकर्मी निर्वाचनमा खटिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले बताए । पातारासी, सिँजा र कनुकासुन्दरी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका धेरैजसो स्वास्थ्यकर्मी चुनावमा खटिएका छन् । जुम्लाका सिडिओ मुकेशकुमार केशरी भने स्वास्थ्य संस्था बन्दै हुने गरी स्वास्थ्यकर्मी परिचालन नगरिएको तर्क गर्छन् । ‘अस्पताल, टेलिकम, विद्युत् प्राधिकरणजस्ता कार्यालयबाट कर्मचारी निर्वाचनमा खटिएका छैनन्,’ उनले भने ।