१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाही १ : स्वतन्त्र उम्मेदवार सुरेशराजले प्रभाव बढाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५२:oo

सर्लाहीबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार बनेका सुरेशराज शर्मा अधिकारीले आफ्नो  प्रभाव बढाउँदै गएका छन् । उनी राष्ट्र र नागरिकमुखी व्यवस्थाका पक्षमा आफ्नो उम्मेदवारी भएको भन्दै स्थानीयलाई रिझाउन व्यस्त छन् ।

पुराना राजनीतिक पार्टीहरूबाट निराश बनेका मतदाता अहिले अधिकारीलाई सघाउने पक्षमा देखिएका छन् । ‘मेरो उम्मेदवारी शीर्ष नेतृत्वको अधिनायकवादी कार्यशैलीप्रतिको विमति, अपारदर्शी सन्धि–सम्झौताको विपक्षमा, मुलुकको अर्थव्यवस्था बलियो बनाउने प्रणाली बनाउन र खोला बेच्ने, तर हाइड्रो नबनाउनेजस्ता प्रवृत्तिका विरुद्धमा हो,’ अधिकारीले भने । उनले आफ्नो उम्मेदवारी समाजमा र देशमा असल शासन चाहनेहरूका लागि अप्सन भएको दाबी गरे ।

उनले अहिलेका राजनीतिक दलका नेताहरूका कारण देश ट्रयापमा पर्ने अवस्था सिर्जना भएको बताउँदै अहिलेको अन्योलबाट पार लगाउन समाजका सचेत नागरिकले नेतृत्व लिनुपर्ने अवस्था आएको उल्लेख गरे । ‘हामीले आमनागरिकलाई अहिले भइरहेका सबै घटनाक्रम बुझाउन जरुरी छ,’ उनले थपे, ‘हामीले आवाज नउठाए कसले उठाउने ? हामी अगाडि नबढे को बढ्ने ?’

सर्लाही क्षेत्र नम्बर १ मा विभिन्न निर्वाचन कार्यक्रममा सक्रिय रहेका रहेका उनले माछा चुनाव चिह्न पाएका छन् । क्षेत्रगत विकास निर्माण, केन्द्रीय नीति निर्माणमा खबरदारी आफ्नो प्राथमिकतामा पर्ने एजेन्डा उनले जनतामाझ पुर्‍याइरहेका छन् । ‘अहिले त एक करोडको योजनामा १२–१५ लाख मात्रै विकासका काममा खर्च गर्ने परिपाटी छ, यो परिपाटी नबदलेसम्म विकास सम्भव छैन्,’ उनले थपे ।

उनले राष्ट्रियताका सवालमा पनि अहिलेका प्रमुख दलहरूको नीति ढुलमुले र राष्ट्रहितविपरीत रहेको बताए । ‘कहिले चीनमुखी राष्ट्रिय नीति लिने, कहिले भारतमुखी । यो राष्ट्रिय नीति नेपालअनुकूल छैन । हामीले नेपालअनुकूल विदेश नीति बनाउन आवश्यक छ,’ उनले भने, ‘मेरो उम्मेदवारी ऐन–नियममा रहेको अपारदर्शिताविरुद्ध हो ।’ उनले २८ जनाले नागरिकता विधेयक पास गर्ने लोकतन्त्रको दुरावस्थालाई बदल्नका लागि आफूहरूजस्तै देशलाई माया गर्ने उम्मेदवारको जित आवश्यक रहेको दाबी गरे ।

मधेसमा रहेको मधेसी–पहाडी भावनालाई हटाएर मात्रै क्षेत्रको विकास हुने ठहर उनको छ । उनले अहिलेको बेरोजगारी पनि मुलुकका लागि प्रमुख समस्या भएको बताए । ‘हरेक बेरोजगार युवाहरूलाई उचित रोजगारी दिनुपर्छ, नभए भत्ता दिएर उनीहरूलाई राख्नुपर्छ,’ उनले भने, ‘राज्यले यो नीति लिनैपर्छ ।’ अहिले दलीय व्यवस्थामा जथाभावी राजस्व उठाएर व्यवसायलाई दुत्साहन गर्न खोजिएको, स्थानीयस्तरमा कृषि, पशुपालनजस्ता कुरामा पनि ध्यान नदिइएको उनले गुनासो गरे ।

‘हाम्रो यो निर्वाचन क्षेत्रमा स्थानीयस्तरका योजना, कृषि, पशुपालनजस्ता क्षेत्रमा विभिन्न काम गर्न सकिन्छ,’ उनले भने, ‘माछा किसान १० वर्षअघिकै दरमा माछा बेच्न विवश छन् । अहिले बजारमा कति महँगी बढिसकेको छ ।’ उनले किसानलाई मारमा पार्ने, ठेक्का लगाउने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिने दाबी गरे । उनले शीतभण्डार निर्माण, आलु उत्पादन हुने क्षेत्रमा वैज्ञानिक आलु खेतीमा पहल, कृषिमा बिचौलिया न्यूनीकरण, किसान सहकारी स्थापनाजस्ता योजना आफूसँग रहेको जानकारी दिए । अधिकारीले सीपसहितको गुणस्तरीय शिक्षा १२ कक्षासम्म निःशुल्क, गुणस्तरहीन विकासको शृंखलाको अन्त्य, निर्वाचन क्षेत्रमा भएका स्वास्थ्यचौकी १० शय्या र ठूलो क्षेत्र भएका ५० र १०० शय्याको अस्पताल विकास गरेर क्षेत्रमै विशेषज्ञ स्वास्थ्य सेवा दिने एजेन्डा पनि अघि सारेका छन् । ‘राजनीतिलाई शुद्ध सेवा र धर्मका हिसाबले अगाडि बढाउनेछु,’ उनले भने ।

सर्लाही ईश्वरपुर नगरपालिका भक्तिपुरका स्थानीवासी अधिकारी लामो समय व्यवसाय र समाजसेवामा सक्रिय रहँदै आएका थिए । बाैद्धिक छवि बनाएका ४८ वर्षीय उनले लामो समय शिक्षण पेसामा बिताएका थिए । सर्लाही १ मा अन्य दलको प्रतिस्पर्धीभन्दा उनी नवीन सोच र एजेन्डाका साथ चुनावी मैदानमा उत्रिएका हुन् ।

ad
ad