१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतदाता शिक्षा : राजनीतिक वितृष्णाको आवेग स्वयंसेविकामाथि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४१:oo

इस्मा गाउँपालिका– ४ की विष्णु थापा । उनी महिला स्वास्थ्य स्वयंसेविका हुन् । गत १८ कात्तिकदेखि उनी मतदाता शिक्षा कार्यकर्ता भएकी छिन् । उनी बिहान ६ बजेदेखि बेलुका ८ बसेसम्म प्रत्येक मतदाताको घरघरमा पुगेर मतदान गर्ने तरिका सिकाउँदै हिँड्छिन् । वडा नम्बर ४ इस्मा गाउँपालिकाको ठूलो वडामध्येको एक हो । एकजना मतदाता शिक्षा कार्यकर्ता । त्यो महिला स्वयंसेविका । यो अभियानमा निकै सास्ती महिला स्वयंसेविकाले भोगेका छन् । तिहारपछि गाउँका सबै नागरिक खेतबारीमा काममा व्यस्त छन् । ‘घरमै गए पनि कोही राम्रोसँग बोल्दैनन्,’ उनको गुनासो छ । 

स्वयंसेविका थापाले अभियानका क्रममा मतदाताले गाली र दुर्व्यवहार गर्ने गरेको गुनासो गरिन् ।  केही व्यक्तिले त सरकारको पैसा खाएर पार्टीको झोला बोकेर आएको भनेर घृणा गर्ने गरेको उनले बताइन् । ‘काममा व्यस्त मान्छे चौपारीमा आउने कुरै भएन । घरमा पुग्दा पनि नेता र आफूहरूप्रति गाली गर्ने कैयौँ भए,’ उनले भनिन, ‘निकै चुनौतीको सामना गरिरहेकी छु ।’ विष्णु थापालाई अरू वेला दोहली स्वास्थ्यचौकीमा आउँदा पनि घरबाट तीन घन्टा लाग्छ । पैदल गाउँ–गाउँमा पुग्दा घर फर्किन नसकेर पाहुना बस्नुपर्ने स्थितिसमेत आएको थापाले सुनाइन् । 

उनले विनास्रोत र साधन महिला स्वयंसेविकालाई आयोगले कामभन्दा पनि पीडा दिएको गुनासो गरिन् । ‘पहिले झोला, टोपी र ज्याकेट लगाएर तीन–चारजनाको टोली मतदाता शिक्षाका लागि घर–घरमा पुग्थ्यौँ । अहिले आयोगले काममा मात्रै जबर्जजस्ती पेल्यो,’ उनले गुनासो गर्दै भनिन्, ‘सुविधा के–कति भन्ने टुंगाे नै छैन ।’ 

रेसुंगा नगरपालिका– २ की महिला स्वयंसेविका पुष्पा विष्टलाई पनि मतदाता शिक्षाका लागि मतदाताको घरमा पुग्दा धेरैले कुन पार्टीबाट आएको भनेर सोध्ने गरेका छन् । मतदातामा आएको राजनीतिक वितृष्णाको आवेग पनि मतदाता शिक्षा दिँदै हिँडेका स्वयंसेविकाले घर–घरमा सुन्नुपरेको छ । ‘मतदाता मतदान प्रक्रियाबारे जानकार छैनन् । तर, सीधै कुन पार्टीबाट आएको भनेर प्रश्न गर्छन्,’ विष्टले भनिन्, ‘ठूलो भूगोलमा एक्लै हिँड्न निकै गाह्रो रहेछ ।’ 

कैदीबन्दीलाई मतदाता शिक्षा

गुल्मी कारागारमा रहेका कैदीबन्दीहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ । मतदाता शिक्षाका लागि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र जिल्ला निर्वाचन अधिकृत माया कुँवरसहितको टोली गुल्मी कारागारमा पुगेको थियो । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिकतर्फको मतदानमा बदर मत कम गर्नका लागि कारागारमा रहेका कैदीबन्दीलाई मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन् । 

गुल्मी कारागारमा रहेका ८० जना कैदीबन्दीमध्ये ३२ पुरुष र चार महिला गरेर ३६ जनाको मतदाता नामावलीमा नाम रहेको कुँवरले बताइन् । अहिले कारागारमा एक अस्थायी मतदान केन्द्र थप गरिएको छ । कैदीबन्दीलाई रेसुंगा नगरपालिका– २ की स्वयंसेविका पुष्पा विष्टले मतदान गर्ने प्रक्रियाबारे जानकारी गराइन् । 

९३ वडामा ९८ मतदाता कार्यकर्ता

जिल्ला १२ स्थानीय तहका ९३ वडामा मतदाता शिक्षाका लागि ९८ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन भएका छन् । उनीहरूले प्रत्येक घरमा पुगेर मतदाता विवरण संकलन गर्ने र मतदान प्रक्रियाबारे जानकारी गराउँछन् । आयोगले कुनै सुविधा नदिएपछि स्थानीय पालिकाले मतदाता शिक्षाको सबै काम गरिरहेको छ । 

गुल्मीका दुई निर्वाचन क्षेत्रमा दुई सय ७८ मतदान केन्द्र र एक सय ४२ मतदानस्थल रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाका १२ वटै पालिकामा नमुना मतदान भएका छन् । नमुना मतदानमा खसेको नाै सय मतको तीन प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेयले जानकारी दिए । 

जिल्लाका १२ पालिकामध्ये इस्मा गाउँपालिकामा सबैभन्दा बढी मत बदर भएका थिए । निर्वाचन कार्यालयका अनुसार समानुपातिकभन्दा प्रत्यक्षतर्फबाट मत बढी बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रमका संयोजक प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ठूलो भूगोल, जनशक्ति र सेवा सुविधा कम भएका कारण अभियान प्रभावकारी बनाउने विषय चुनौतीपूर्ण भएको बताए । यद्यपि, स्थानीय तहसंग समन्वय गरेर स्वयंसेविकाले वडो मिहिनेतका साथ लगभग अभियान सकेको पौडेलले जानकारी दिए । 
 

ad
ad