१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Friday, 04 July, 2025
२o७९ कार्तिक २९ मंगलबार १९:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस मकवानपुरका १६ नेता–कार्यकर्ता कारबाहीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १९:१८:oo

कांग्रेस मकवानपुरले मंगलबार जिल्लाका १६ नेता–कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसको नीतिविपरीत गतिविधि गरेको भन्दै कांग्रेस जिल्ला पार्टीले उनीहरूलाई कारबाही गरेको हो । 

हेटौंडा उपमहानगरपालिका २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी सभापति बुद्ध लामाले कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाहरूलाई कारबाही गरिएको जानकारी दिए । कारबाहीमा पर्नेमा महासमितिका पूर्वसदस्यद्वय भरत पराजुली र रीता खनाल छन् । 

पराजुली स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् भने खनाल बिपी कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवार छिन् । यसैगरी, कांग्रेसले पूर्वजिल्ला सदस्य गोपी अधिकारी, पूर्वक्षेत्रीय सभापति सुजन गोपाली, क्षेत्रीय सचिव नवराज पौडेल, भीमफेदी गाउँपालिका उपसभापति रुद्र लामा, पूर्वइकाई सभापति भीमप्रसाद घिमिरे, क्षेत्रीय प्रतिनिधि कर्णबहादुर थिङलाई कारबाही गरेको छ ।

कारबाहीमा पर्ने अन्य नेताहरूमा नेपाल तरुण दल जिल्ला उपाध्यक्ष निराजन बर्तौला, तरुण दल जिल्ला सदस्य किशोर राना र सिरित राई, तरुण दल इकाई अध्यक्ष बुद्ध लामा, नगर कार्यसमिति सदस्य सूर्य थोकर, क्रियाशील सदस्य रमेश ढकाल, धीरजविक्रम न्यौपाने र क्षेत्रीय प्रतिनिधि मीरा सापकोटा छन् । उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए ।

‘कारबाही परेकामध्ये प्रायः उम्मेदवार, प्रस्तावक र समर्थक रहेका छन् । उनीहरूलाई पार्टीमा फर्किन र सच्चिन पटक–पटक अनुरोध पनि गरेका हौँ । २४ घण्टे अल्टिमेटम पनि दिएका थियौँ, सार्वजनिक सूचनासमेत जारी गरेका थियौँ,’ लामाले भने, ‘उहाँहरूले अटेर गरेपछि कारबाही गर्न बाध्य भयौँ ।’

अन्तिम प्रयास पनि असफल भएपछि बाध्य भएर कारबाहीको निर्णयमा पुगेको अनुशासन समितिका संयोजक एवं जिल्ला सदस्य प्रभातकुमार दाहालले बताए । ‘पार्टीको नीति, नियमविपरीत जानेविरुद्ध कारबाहीको शिलशिला जारी नै रहनेछ,’ दाहालले भने । कारबाही नगर्दा गठबन्धन र कांग्रेसका उम्मेदवारलाई क्षति हुने स्थिति भएपछि कारबाही गरेको उनले बताए ।