मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १५:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोको विपत्तिबाट सरकारले शिक्षा लिएर अघि बढोस् : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १५:o८:oo

नेकपाका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आफ्नो पुस्तामै ठुलो प्राकृतिक विपत्तिको सामना गर्नुपरेको बताएका छन्। बुधबार संसदमा बोल्दै उनले बाढीपहिरोका कारण ठुलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए।

प्रचण्डले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। उनले प्रभावित नागरिकको तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। ‘नेपालको इतिहासमै यति भयानक प्रलय हाम्रो पुस्ताले व्यहोर्नुपर्‍यो,’ उनले भने, ‘हजारौँको जीवन र खर्बौँको भौतिक सम्पत्ति नष्ट भएको पीडा हामीले भोगिरहेका छौँ।’

उनले पछिल्ला दिनमा सरकार, नेपाली सेना तथा सबै तहका सरकारले उद्धारमा भूमिका खेले पनि सरकारको काममा सुरुवाती र पछिल्ला दिनमा फरक देखिएको बताए। सेनाले खेलेको भूमिका राम्रो देखिए पनि सेना परिचालनसँगै व्यापक जनपरिचालन हुन नसकेको उनको भनाइ थियो। ‘सेना परिचालन भयो, तर जनपरिचालन भएन। सेना परिचालनसँगै जनपरिचालन नगर्ने हो भने समस्याको समाधान कठिन हुन्छ,’ प्रचण्डले भने।

सरकारले उद्धारमा अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट गुनासो आएको पनि उनले बताए। उनका अनुसार सुरुका दुई दिन ‘आफैँ गर्छौँ’ भन्ने मानसिकता देखिएको भन्दै त्यसले सरकारप्रतिको असन्तुष्टि बढाएको छ। ‘सरकार उद्धार कार्यमा सफल भएन, असफल भयो भन्ने गुनासो आएको छ। दुई दिनसम्म आफैँ गर्छौँ भन्ने अहंकार देखियो भन्ने जनगुनासो छ,’ उनले भने।

प्रचण्डले विगतको असफलताबाट शिक्षा लिएर सरकार अघि बढ्नुपर्नेमा जोड दिए। उनले उद्धार तथा राहतमा सबै राजनीतिक दल, संघीय, प्रदेश र स्थानीय सरकार तथा आमनागरिकबिच सहकार्य र समन्वय आवश्यक रहेको बताए।

उनले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। ‘राहत, तत्कालको पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकार गम्भीर बनोस्,’ उनले भने।

प्रचण्डले वर्तमान सरकारलाई राष्ट्रिय एकता, समन्वय र सहकार्यका माध्यमबाट विपत्तिको सामना गर्दै आफ्नो औचित्य पुष्टि गर्ने अवसर अझै रहेको बताए। उनले उक्त अवसर नगुमाउन सरकारलाई आग्रह गरे।