प्रणालीमा उच्च सुरक्षा जोखिम रहेको देखाउँदै विद्युतीय खरिद प्रणाली (इ–बिडिङ) अनिश्चितकालका लागि बन्द भएको छ । ११ भदौदेखि प्रणाली बन्द भएपछि व्यवसायीहरू हार्डकपीमार्फत नै बोलपत्रको प्रक्रियामा सहभागी हुन बाध्य भएका छन् ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले बिहीबार सूचना जारी गरी प्रणालीको मर्मतसम्भार र सुधार कार्य सम्पन्न भइनसक्दासम्म हार्डकपीमार्फत बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको प्रक्रिया अगाडि बढाउन भनेको छ । कार्यालयको सूचनामा भनिएको छ, ‘यस विद्युतीय खरिद प्रणालीमा मिति २०८३/०५/११ गतेसम्म प्रकाशन भई प्रस्ताव पेस गर्ने म्याद समाप्त हुन बाँकी रहेका र नयाँ प्रकाशन हुने क्रममा रहेका बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको सम्बन्धमा सार्वजनिक निकायहरूले हार्डकपीमार्फत बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको प्रक्रिया अगाडि बढाउन सकिनेछ ।’
कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले मर्मत कहिले सकिने ठ्याक्कै भन्न नसकिने बताउँछन् । ‘अहिलेकै अवस्थामा ई–बिडिङ प्रणालीमा काम गर्दा प्रश्न उठ्न सक्ने अवस्था देखियो,’ उनी भन्छन्,‘त्यसकारण यसका समस्या पूर्णरुपमा समाधान गर्न मात्र हामीले सञ्चालन गर्न लागेका छौं, यसका लागि ठ्याक्कै कति समय लाग्न भन्न सक्ने अवस्था छैन ।’ मर्मत गर्दै जाँदा नयाँ समस्या देखिनसक्ने भएकाले समय आकलन गर्न नसकिएको उनको भनाई छ ।
यसरी लामो समयसम्म प्रणाली
अवरुद्ध हुँदा हजारौँ व्यवसायी मर्कामा परेका छन् । ‘सरकारले अनलाइन प्रणालीलाई प्राथमिकता दिएको भनेको छ, तर अनिश्चितकालका लागि इ–बिडिङ प्रणाली बन्द छ,’ एक निर्माण व्यवसायी भन्छन्, ‘एकातर्फ राजमार्गहरूसमेत अवरुद्ध छन्, हामीलाई दुःखमाथि दुःख बढेको छ ।’ साथै, कतिपय प्राविधिक विषयमा कार्यालयका कर्मचारीले सहजीकरणसमेत नगरेको व्यवसायीको गुनासो छ । गत वर्ष अनलाइन प्रणाली नै ह्याकिङ गरेर ठेक्का हत्याइएको विवरण सार्वजनिक भएको थियो । जसमा ठुला ठेकेदार र ह्याकरलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । त्यसपछि पनि इ–बिडिङ प्रणाली सुरक्षित हुन सकेको छैन ।