प्रतिनिधिसभाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाले पारित गरेको हो।
भदौ १० गते बुधबार आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूलीबजार, ढुंगे र देवीघाटसहित धादिङ, चितवन र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ।
प्रतिनिधिसभाले बाढीबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना, दिवंगतहरूको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
सांसदहरूले बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा एक मिनेट उठेर मौनधारणसमेत गरेका छन्।